अफगानिस्तानमा उत्पादित अफिमका ९५ प्रतिशत प्रयोगकर्ता युरोपमा

तालिबानले अफगानिस्तानमा आफ्नो अघिल्लो शासनका समयमा अफिम खेतीमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको र यसबाट गैरकानुनी लागुऔषधको कारोबार रोकिएको बताउँछ । 

सन् २००१ मा अफगानिस्तानमा अफिमको उत्पादनमा कमी देखिएको थियो । तर त्यसपछिका वर्षमा तालिबान नियन्त्रित इलाकामा अफिमको खेती बढेको पाइन्छ । अफिमलाई परिष्कृत बनाएर अत्यधिक नशा दिने हेरोइनजस्तो लागू औषध तयार पारिन्छ । 

राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडीसी)का अनुसार अफिमको सबैभन्दा ठूलो उत्पादक अफगानिस्तान हो । संसारमा अफिमको कुल उत्पादनको ८० प्रतिशत अफगानिस्तानमा हुने गर्छ। सन् २०१८ मा युएनओडीसीको अनुमानअनुसार अफगानिस्तानको कुल अर्थव्यवस्थाको ११ प्रतिशत हिस्सा अफिम उत्पादनको थियो । 

तालिबान के भन्छ ?

अफगानिस्तानमाथि नियन्त्रण गरेपछि तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने, ‘जब हामी सरकारमा थियौं तब लागुऔषधको उत्पादन बन्द भएको थियो । हामी फेरि अफिम खेती शून्यमा पुर्‍याउँछौं । कुनै तस्करी हुनेछैन।’

अमेरिकी विदेशमन्त्रालयका अनुसार तालिबान शासनका समयमा अफिम खेती बढेको हो । सन् १९९८ मा ४१ हजार हेक्टरमा रहेको अफिम खेती २००० मा ६४ हजार हेक्टरसम्म बढेको थियो। 



विश्वको कुल अफिम उत्पादनको ३९ प्रतिशत हिस्सा हेलमन्ड प्रान्तमा हुन्छ र यो प्रान्तको ठूलो हिस्सा लामो समयदेखि नै तालिबानको नियन्त्रणमा थियो । तर सन् २००० मा तालिबानले आफ्नो नियन्त्रण रहेको क्षेत्रमा अफिम खेतीमा प्रतिबन्ध लगाएको थियो । मे, २००१ को रिपोर्टअनुसार तालिबान नियन्त्रित इलाकामा अफिमको उत्पादनका पूर्ण रुपमा प्रतिबन्ध लगाइएको थियो ।



तालिबानको प्रतिबन्धका क्रममा सन् २००१ र २००२ मा अन्तर्राष्ट्रिय स्तरमा अफिम र हेरोइन पक्राउ पर्ने क्रम कम भएको पाइएको थियो । तर त्यसपछि भने अवस्थामा परिवर्तन भएको पाइन्छ । अफगानिस्तान सरकारका तर्फबाट नियन्त्रित खेती गर्नुका बाबजुद अधिकांश अफिम उत्पादन तालिबान नियन्त्रित इलाकामा भएको थियो । उदाहरणका लागि हेल्मन्ड तालिबान नियन्त्रित क्षेत्र हो र यहाँ सन् २०२० सम्म पनि अफिम उत्पादन ठूलो मात्रामा भइरहेको छ । 

अफिमको आम्दानी

अफगानिस्तानमा अफिमको खेती रोजगारीको एउटा प्रमुख क्षेत्र हो । यूएनओडीसीको अफगानिस्तानको अफिम सर्वेक्षणअनुसार करिब १ लाख २० हजार मानिस यसमा निर्भर छन् । 

अमेरिकी विदेश विभागका अनुसार तालिबानलाई अफिममा कर लगाएबापत आम्दानी हुन्छ । यसका साथै गैरकानुनी रुपमा अफिम राख्ने र तस्करी गर्नेबाट पनि अप्रत्यक्ष रुपमा आम्दानी हुन्छ । अफिम उत्पादन गर्ने किसानमाथि १० प्रतिशत कर लगाइन्छ । 

अफिमबाट हेरोइन बनाउने प्रोसेसिङ ल्याबबाट पनि कर असुल गरिन्छ र यसका कारोबारीले पनि कर तिर्छन् । गैरकानुनी ढंगले लागूऔषधको कारोबारबाट तालिबानले १ सय देखि ४ सय मिलियन डलरसम्म बर्सेनि आम्दानी गर्छ । एक अमेरिकी रिपार्ट अनुसार तालिबानको वार्षिक आम्दानीको ६० प्रतिशत लागुऔषधको कारोबारबाट आउने गर्छ। 

लागुऔषधको प्रयोग कहाँ हुन्छ ?

अफगानिस्तानमा हुने अफिमबाट जुन हेरोइन बनाइन्छ त्यसको ९५ प्रतिशत हिस्साको प्रयोग युरोपमा हुन्छ। अमेरिकी ड्रग इन्फोर्समेन्ट एजेन्सीका अनुसार अमेरिकामा हुने हेरोइन आपूर्तिको एक प्रतिशत अफगानिस्तानबाट जान्छ । अमेरिकामा हुने लागुऔषधको अधिकांश हिस्सा मेक्सिकोबाट जान्छ । 

सन् २०१७ देखि २०२० को बीचमा ९० प्रतिशत भन्दा बढी नशालु पदार्थको तस्करी सडकमार्गबाट भएको थियो । पछिल्लो समयमा भने हिन्द महासागर र युरोपको बीचको समुद्री मार्गबाट धेरै लागुऔषध तस्करी हुने गरेको छ । 

अफिम खेती, उत्पादन र नियन्त्रण गर्ने घटनालाई हेर्ने हो भने पछिल्लो दशमा अफगानिस्तानमा यसको उत्पादन लगातार बढिरहेको छ । अमेरिकी वाचडग स्पेशन इन्पेक्टर जनरल फर अफगान रिकन्स्ट्रक्सनका अनुसार २००८ मा अहिलेसम्म जुन अफिम नियन्त्रण भएको छ, त्यो सन् २०१९ मा एक वर्षमा भएको एक वर्षको उत्पादनको ८ प्रतिशत हिस्सा मात्रै हो । बिबिसी

  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार ११:३३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया