निर्वाचनअघि नै मुख्यमन्त्री बन्ने ‘सेटिङ’मा थिए भीम आचार्य

भीम आचार्य प्रदेश–१ को मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि संसदीय दलको नेतामा चयन भएका आचार्यले आजै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

मुख्यमन्त्री आचार्यको यो प्रयास र कसरत भने आज सुरु भएको होइन, उनले २०७४ मा भएको निर्वाचनअघि नै प्रदेशको मुख्यमन्त्री बन्ने प्रयास गरेका थिए ।
त्यसका लागि उनले प्रदेशमा आफू अनुकूल नेताहरुलाई उम्मेदवार बनाउने प्रयास गरे । 

पटकपटकको प्रयासपछि अन्ततः आचार्य मुख्यमन्त्री सफल भएका छन् । नेकपा एमालेका सचिब समेत रहेका आचार्य प्रदेशको मुख्यमन्त्री बन्ने योजनासहित सुनसरी–१ (ख) बाट प्रदेशसभामा निर्वाचन लडेका थिए ।

निर्वाचनमा अत्यधिक बहुमतसहित विजयी भएपनि उनलाई मुख्यमन्त्री बन्न सहज भएन । त्यसबेला प्रदेश संयोजक समेत रहेका आचार्यले मुख्यमन्त्री बन्न आफू निकटका नेताहरुलाई उम्मेद्वार बनाएको आरोप लागेको थियो । 

यस्तै उनले समानुपातिक तर्फका धेरैजसो प्रदेश सदस्य पनि आफू निकटका नेताहरुलाई बनाएको आरोप लागेको थियो । एमालेमा माधव नेपाल समूहसँग नजिक भएका आचार्यले मुख्यमन्त्री बन्न प्रदेशसभामा आफू निकटका नेताहरुलाई लागेपनि अवरोधका रुपमा खडा भए शेरधन राई । 

ओली समूहका नेताका रुपमा चिनिएका शेरधन भीम आचार्यको मुख्यमन्त्री बन्ने बाटोमा अवरोध भएपछि संसदीय दलको निर्वाचन भयो । मुख्यमन्त्री बन्ने चाहानाका साथ प्रदेशसभामा सिनियर नेताका रुपमा गएका आचार्यलाई आफू निकटका सांसदहरुले नै धोक दिएपछि २ मतले संसदीय दलको नेतामा शेरधनसँग पराजित भए । 
उनले एमाले संसदीय दलको नेताका लागि भएको मतदानमा २४ मत प्राप्त गरे भने शेरधनले २६ मत प्राप्त गरे । एक मत भने बदर भएको थियो । 



संसदीय दलको निर्वाचनमा पराजित भएपनि भीम आचार्य रोकिएनन्।  माओवादीसँगको एकतापछि बनेको नेकपामा पनि भिम आचार्यले प्रदेशसभामा दुई लाइन चलाउन छाडेनन् । 

प्रदेशसभामा कमै मात्रामा उपस्थित हुने आचार्यले पुस ५ गतेको प्रतिनिधिसभा विघटनपछि पुनः मुख्यमन्त्री बन्ने आकांक्षा देखाए । 



मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गराउँदा अगाडि माओवादी केन्द्रका नेता तथा तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो देखिएपनि पछाडि भने भीम आचार्यकै हात थियो । 

प्रदेशसभाको अधिवेशन नरहेको अवस्थामा दर्ता गरिएको अविश्वासको प्रस्तावका विषयमा छलफल नै हुन नपाई सर्वोच्चले एमाले र माओवादी केन्द्र अलग-अलग हुने फैसला गरेपछि उनको मुख्यमन्त्री बन्ने योजना पुनः तुहियो । 

माओवादी र एमाले अलग-अलग पार्टी भएपछि शेरधन राईविरुद्ध लगिएको अविश्वासको प्रस्ताव फिर्ता लिनुपर्‍यो। 

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक आचार्यको मुख्यमन्त्री बन्ने बाटो पटकपटक छेकिएपछि पनि उनले हार खाएनन् । उनले गुट नै परिवर्तन गरे । माधव नेपाल समूहका नेता झलनाथ खनालसँगको पारिवारिक नाता समेत तोड्दै उनले पार्टी एकताको कुरा गर्न थाले । 

पार्टी एकता कायम राख्ने भन्दै यसको नेतृत्व गरे । यसरी पार्टी एकताको कुरा गर्नु भन्दा केहि दिनअघि उनले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको र ओलीले मुख्यमन्त्री बनाउने बचन दिएको समाचार बाहिर आएको थियो । 

भिम आचार्यले मुख्यमन्त्री बन्ने आश्वासनका कारण पार्टी एकताको कुरा गरेको भनेर समाचार बाहिर आएपछि फेसबुकमा स्टाटस लेखे । 

सचिवालयको नाममा अगष्ट २३ अर्थात भदौ ७ गते लेखिएको स्टाटसमा आफू पार्टी एकताको क्रममा विभिन्न नेताहरुसँग भेटवार्ता निरन्तर जारी रहेको सर्वविदितै छ उल्लेख गरेका छन् । 

स्टाटसमा भनिएको छ, ‘त्यस्ता कुनै भेटको क्रममा कोही नेतासँग कुनै सरकार निर्माण र मुख्यमन्त्री सम्बन्धी विषयमा कुराकानी नभएको जानकारी गराउँदछु । साथै यस सम्बन्धमा गरिएका अनर्गल प्रचारका पछि नलाग्न सबैलाई आग्रह गर्दछु।”

पछिल्ला घटनाक्रम र उनी मुख्यमन्त्री बन्न लागेको चर्चाबीच भने तालमेल देखिएको छ। उनी एमाले एकताका लागि भन्दै माधवकुमार नेपाल समूह छाडेर एमालेमै बसेका नेताहरुसँग सामेल हुँदै अन्ततः मुख्यमन्त्री बन्न सफल भएका छन्। 

पछिल्लो समयमा एमाले आएको विभाजनसँगै आचार्य मुख्यमन्त्री बनेपनि उनलाई प्रदेशसभामा बहुमत जोगाउने सकस छ । माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) जाने सांसद संख्याले उनको मुख्यमन्त्री पद कहिलेसम्म कायम रहन्छ भन्ने निर्धारण गर्नेछ।

  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १२:५७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया