सधैं जागृत छन् शिक्षकहरू

शिक्षण सजिलो जस्तो देखिए पनि प्राविधिक र जटिल कार्य हो । राज्य र कर्मचारीका नजरमा यो  दोस्रो र तेस्रो दर्जाको पेसाको रुपमा चित्रण गर्ने प्रयत्न हुँदै आएको देखिन्छ । शिक्षणलाई गहिरिएर बुझ्न नसक्ने र केही प्रोजेक्टहरूले भिराइदिएको बिल्लालाई सही सम्झिएर आफूलाई विज्ञ नै हुँ सम्झेर बोल्ने स्वघोषित शिक्षाविद्हरूले शिक्षा र शिक्षणको हुर्मत लिने कुराको कुनै अंश बाँकी राखेका छैनन् । जुन बाटोबाट आफू गन्तव्यमा पुग्यो त्यही बाटोलाई पटकपटक थुक्ने प्रयत्न भइरहेको छ । चुनौतीपूर्ण र जटिल क्षेत्रमा क्रियाशील रहेकाहरूलाई राज्यका तर्फबाट झनै धेरै उत्प्रेरणा हुनुपर्ने अवस्थामा भ्रमित पार्ने र हतोत्साही गराउने कार्य हुँदै आएको छ ।

शिक्षकले के मात्रै गरेनन् ?
शिक्षक समाजको उज्यालोका रुपमा हिजोदेखि आजसम्म चम्किरहेका छन् । समाजका पढेलेखेका मानिसका हैसियतमा तिनले शिक्षणका अतिरिक्त घरझगडा मिलाउने, औषधिका नाम बताइदिन सक्ने, सरसल्लाह दिन सक्ने, सही विचारको सञ्चार गर्नेलगायतका समाजिक परामर्शदाताको काम गरिरहेका छन् । भनिन्छ नै–डाक्टर खराब पर्दा केही मान्छेको ज्यान जान सक्छ, इन्जिनियर खराब हुँदा केही भौतिक संरचना कमजोर बन्न सक्छ, तर एउटा शिक्षक खराब परिदियो भने त्यसका कारण सिंगो समाज गलत दिशामा हिँड्छ । 

हरेक क्षेत्रको विकास हुनुमा शिक्षा आधारस्तम्भको रुपमा रहन्छ र शिक्षक त्यसको कर्ताका रुपमा रहन्छन् । त्यसैले आजको समाज विकासमा पनि शिक्षक महत्वपूर्ण भूमिकामा छन् । देशका ठूला राजनीतिक परिवर्तन, सांस्कृतिक परिवर्तन र समाजको अग्रगमनको यात्रामा शिक्षकहरू अविचलित र निरन्तर सक्रिय छन् । त्यसकारण प्रसिद्ध चित्रकार कोलेन विलकक्सले भनेका छन्– ‘शिक्षण आशावादको सबैभन्दा ठूलो कार्य हो ।’

शिक्षक लाञ्छनाको विषय होइनन् 
माध्यमिक तह प्रथम श्रेणीको शिक्षकलाई साधारण तहको कर्मचारीले तल्लो वर्गको सम्झेर त्यहीअनुसार व्यवहार गरेको देखिन्छ । सामाजिक हिसाबले हेर्ने हो भने पनि शिक्षणलाई तल्लो र कमजोर पेसाको रुपमा चित्रण गरिन्छ । कसैको परिचयमा शिक्षक जोडिएर आएमा दोस्रोले दिने प्रतिक्रिया हुन्छ ‘ए शिक्षक पो– मैले त कर्मचारी भन्ने सम्झेको ।’ विद्यार्थी अनुत्तीर्ण भएमा शिक्षक कमजोर मानिन्छ भने विद्यार्थीले राम्रो नम्बर प्राप्त गरे वा धेरै उत्तीर्ण भए भने विद्यार्थीले पढेको ठहरिन्छ । पछिल्लो समय तर्क गरेको सुनिन्छ– शिक्षकले राजनीति गरे । राजनीतिबाट अछुतो त सम्भवतः कुनै क्षेत्र छैन । आफ्नो काममा उत्तरदायी नभई राजनीतिक आडमा गलत काम गर्न लागेकाको विरोध गरिनु त स्वाभाविकै हो, तर सोलोडोलोमा शिक्षकले राजनीति गर्छन् र पढाउँदैनन् भनी लाञ्छित गर्नु कुनै तर्कको विषय नै होइन भन्ने लाग्छ । 
शिक्षकको प्रयत्नमा राम्रा बनेका विद्यार्थीको चर्चा हुँदा शिक्षकहरूलाई समेट्ने अभ्यास कम भएको देखिन्छ भने कहीँ शिक्षकका कमजोरी देखिएमा त्यसलाई तत्कालै प्रचार गर्न उद्दत् भइहाल्ने अवस्था छ ।

प्रणालीमा सुधार कि प्रयोगकर्तामा ?
कुनै पाइपलाइन छ र त्यहाँबाट पानी बगाउनु छ भने पाइपभित्रका फोहर र बाटो छेक्ने कुराहरू पहिले सफा गरिनुपर्छ, पाइपभरि लेदो र हिलो रहन दिने अनि पानी राम्रोसँग बग्नुपर्छ, सिँचाइ गर्नेले छिटै खेतबारीमा ढकाउन सक्नुपर्छ भन्ने विचार राख्नु सही हुन्न । हरेक पक्षलाई सबलीकृत गर्न सबैभन्दा पहिले प्रणाली सही विकास गर्ने प्रयत्न हुनुपर्छ अनि त्यसपछि प्रयोगकर्तामा ठोकिनु पर्छ । युग अति परिवर्तन भइरहेको सन्दर्भमा लामो समयसम्म शिक्षा नीति एकै किसिमको हुनु र यस क्षेत्रमा रहेका प्रशासकहरूको माइन्डसेट सधैं पुरातन रहनु आजको शिक्षाको सबैभन्दा चुनौतीको विषय हो । 

शिक्षकहरू निदाएकै हुन् त ?
कतिपय शिक्षाविद् भनिनेहरूले ‘शिक्षक निदाए, शिक्षक छैनन्, जागिरे मात्रै छन्, तिनले पढाउँदैनन्, तलब मात्र बुझ्छन्’ जस्ता तर्कहरू गरिरहेका पाइन्छन् । यस्ता तर्कले प्रतिक्रियात्मक समाजमा तिनको चर्चा त राम्रै चल्छ, तर ती व्यक्तिहरू आजको शिक्षालाई गम्भीरतापूर्वक हेरिरहेका छैनन् । यस्ता विद् भनिनेहरूले बाटो देखाउने र सही मार्ग निर्देशन गर्ने भन्दा अराजकताको खेती गरेर आफ्ना तर्कहरू सही हुन् भन्ने बनाउन लिँढेढिपी गर्नेे अवस्था मात्र बन्छ भन्ने बोध गर्न सकिन्छ । तिनलाई अबको शिक्षाको गति कस्तो र कता हुनु पर्ने ? जीवन परक शिक्षा विकासमा राज्यले कस्तो किसिमको ध्यान दिनुपर्ने भन्नेमा कुनै चासो देखिन्न बरु कुनै सेमिनारमा कतैबाट आयातीत पेपरलाई कसरी एडिट गरी प्रेजेन्ट गर्दा बढी रकम प्राप्त गर्न सकिन्छ भन्ने ध्यान रहन्छ ।  



राज्यले उति चासो र ध्यान नपुर्याए पनि र कम लगानी गरे पनि आज जे जति भइरहेको छ ,त्यो शिक्षककै कारण सम्भव भएको छ । यसर्थ शिक्षकहरू निदाएका छैनन् । 
पछिल्लो समयकै कुरा गरौं– राज्यले कोभिडको समयमा कसरी शिक्षा प्रदान गर्ने भन्ने कुनै स्पष्ट नीति तय गर्न नसकेको अवस्थामा समेत शिक्षकहरू आफैं लागेर विभिन्न तरिका अपनाएर शिक्षण गरिरहेका छन् । यसो गर्दा शिक्षकहरूले ज्यानको बाजी थापेका छन् । राज्यले कोभिडविरुद्धको भ्याक्सिन दिने कार्यमा शिक्षकहरूलाई प्राथमिकताको कुनै क्रममा राखेन बरू घर बसेर तलब खाएको आरोप लगाउने कार्य भयो । 

अनलाइन वा अफलाइन कसरी भन्दै अल्झिरहेको समय 
समयले यस्तो घटनालाई छाडेर जाँदैछ, जसले हाम्रो समग्र युगलाई प्रभाव पा¥यो । निकै सानो जीवाणुसँग सबैभन्दा विकसित मानिएको जीव– मानव समुदाय पूर्ण त्रस्त रह्यो । चीनको वुहान सहरबाट सुरु भएको कोरोना (कोभिड–१९ ) सँग विश्व नै प्रभावित रह्यो । विकसित र स्रोतसाधन सम्पन्न मुलुकका रुपमा परिचित देशहरूबाट निस्किएको संकटको ध्वनि विश्वभर फैलियो । अब साना र आर्थिक हिसाबले कमजोर मुलुकको कुरै नगरौं । उनीहरूका कथा त कारुणिक हुने नै भयो । 
यस किसिमको चुनौती त छँदै छ, तर पनि शिक्षण प्रक्रियालाई रोकेर बस्नु बुद्धिमतापूर्ण नहुने स्पष्ट छ । यसका लागि फेरि मैदानमा त शिक्षकहरू नै उत्रिनु पर्ने बाध्यता छ ।



बजार र नेटको सुविधा पुगेको क्षेत्रमा अनलाइन कक्षा पनि प्रभावकारी बनेको छ । तैपनि नेपालमा नेटको सुविधा सस्तो छैन र सबैको पहुँचमा पुग्ने अवस्था बनेको छैन । त्यसकारण निम्न वर्गको परिवार र गाउँमा अनलाइन शिक्षाको व्यवस्था गर्न कठिन छ । कतिपय सन्दर्भमा टिभी, रेडियोबाट नियमित प्रसारण हुन थालेका कक्षा र ‘एनसिइडी’ले युट्युबमा उपलब्ध गराएको भर्चुअल कक्षा, दूर शिक्षा केन्द्रलगायतले तयार गरेका सामग्रीहरू यतिखेर सफल भएका छन् । तर, नेट र मल्टिमिडियाको पहुँचभन्दा बाहिर रहेका बहुसंख्यक विद्यार्थीलाई सम्बोधन हुनु जरुरी छ । यो अनलाइन तथा अफलाइन दुवै पक्षलाई सम्बोधन हुने गरी अघि बढ्नु अहिलेको आवश्यकता बनेको छ । त्यस निम्ति विद्यालयहरूले सारांशकृत नोट तथा कार्यपत्र (वर्कसिट )हरू निर्माण गरी प्रयोगमा ल्याएको पाइएको छ, जसले सकारात्मक परिणाम दिइरहेको देखिन्छ ।

अबको यात्रा अनलाइन शिक्षा र यसमा रहेका खतरा
समय बदलिँदै गइरहेको छ । कोभिडअघिको समयसम्म हामीलाई ‘होइन’ भन्ने लागेका विषय अब ‘हो’ हुँदै गएका छन् । आफ्ना बाबुनानीलाई मोबाइल र  नेटबाट टाढा राख्न प्रयत्न गरिरहेका हामीहरूले अब उनीहरूकै निम्ति मोबाइल र नेटको सुविधा उपलब्ध गराउनु पर्ने भएको छ । जुम, गुगल मिट, गुगल क्लासरुम, मोडल क्लासरुमलगायतका कुरा अहिलेका प्रयोगकर्ताहरूमध्ये थोरैले मात्र नाम सुनेका थिए होलान्, तर अहिले सबैले प्रयोगमा ल्याइरहेका छन् । हिजो फरक ढंगले प्रयोग हुने शिक्षक तथा विद्यार्थीको फेसबुकमा अहिले कक्षागत ग्रुप र त्यसमा कक्षा सञ्चालनका निम्ति आउने लिंकको घण्टी बज्ने गर्छ । 

अहिले जसरी बिस्तारै प्रिन्ट मिडियालाई अनलाइन पत्रिकाहरूले ओभरल्याप गरिरहेका छन् अबको समयमा हामीले माने पनि नमाने पनि अनलाइन शिक्षा नै विकल्पको रुपमा अगाडि आउने छ र त्यसले फेस टु फेस चल्ने कक्षालाई विस्थापित गर्दै जाने परिस्थिति बन्ने छ । त्यसो हुँदै गर्दा यसको प्रयोगको असावधानीका कारण थुप्रै जोखिमहरू पनि सँगसँगै छन् । विद्यार्थीहरू गलत साइटको लतमा फस्ने, साइबर क्राइमका जोखिम बढ्ने, आर्टिफिसियल इन्टेलिजेन्समा अधिक भर पर्नेलगायत समस्या आउने देखिन्छ । यति हुँदाहुँदै पनि समयले तय गरिदिएको बाटोमा त हामी हिँड्नु नै छ र त्यसैअनुसार प्रयत्न गर्नु नै पर्छ ।

चिनियाँ भनाइ छ– ‘यदि तपाईं एक वर्षको लागि योजना बनाइरहनुभएको छ भने धान रोप्नुहोस्, यदि तपाईं एक दशकको लागि योजना बनाइरहनुभएको छ भने रूख रोप्नुहोस् र यदि तपाईं एक जीवनकालको लागि योजना बनाइरहनुभएको छ भने मानिसहरुलाई शिक्षित गर्नुहोस् ।’ राज्यले सबै नागरिकको जीवनकाल राम्रो पार्न शिक्षाप्रतिको लगाव बलियो र उत्तरदायी बनाउनु पर्छ । त्यस निम्ति हामी सबैको उत्तरदायी भूमिका हुनुपर्छ । 

(भौतिक शास्त्रमा स्नातकोत्तर गरेका खनाल मावि तहका विज्ञान शिक्षक हुन् ।)
 

  • प्रकाशित मिति : भदौ १२, २०७८ शनिबार ८:३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया