कोरोनाका कारण विदेशमा ५ लाख ३७ हजारभन्दा बढी नेपालीले रोजगारी गुमाए, सबैभन्दा बढी युएई र कतारमा

वैदेशिक रोजगारीको सिलसिलामा बिभिन्न देश पुगेका नेपालीमध्ये ५ लाख ३७ हजार ३२१ जनाले कोरोना महामारीका कारण रोजगारी गुमाएका छन् । यसरी रोजगारी गुमाउनेमध्ये अधिकांश खाडी राष्ट्र तथा मलेसियामा कार्यरत नेपाली छन् । 

२०७७ वैशाख देखि २०७८ भदौ ११ गतेसम्मको अवधिमा उनीहरुले रोजगारी गुमाएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले जानकारी दिएको छ । 

कोरोनाका कारण असहज परिस्थितिमा बिदेशमा अलपत्र परेका उनीहरुलाई सरकारले उद्धार गरी स्वदेश फर्काइसकेको छ । पछिल्लो १६ महिनाको अवधिमा सरकारले रोजगार गुमाई विश्वका ६० देशमा अलपत्र परेका उक्त संख्यामा नेपालीलाई स्वदेश फर्काएको हो । 

भारतमा रोजगार गुमाई सडक मार्ग हुँदै फर्कने संख्या यसमा जोडिएको छैन । भारतमा रोजगार गुमाई जहाज मार्फत फर्कनेको संख्या भने यसमा जोडिएको सीसीएमसीले जनाएको छ । 

सीसीएमसीको तथ्याङ्क अनुसार कोरोनाका कारण रोजगारी गुमाउन नेपालीको सबैभन्दा ठूलो संख्या खाडी राष्ट्रमा रहेको छ । खाडी राष्ट्रमा पनि युनाइटेड अरब इमिरेट्स (युएई)मा सबैभन्दा ठूलो संख्यामा नेपालीले रोजगारी गुमाई स्वदेश फर्कनु परेको छ । 
युएईबाट हालसम्म १ लाख ५२ हजार ८३० जना नेपालीले रोजगार गुमाई स्वदेश फर्कन बाध्य भएका छन् ।

युएईपछि कतारमा ठूलो संख्यामा नेपाली बेरोजगार भएका छन् । सिसिएमसीका अनुसार कतारबाट हालसम्म १ लाख ३५ हजार २२१ जना नेपाली बेरोजगार बनेका छन् । 
कोरोनाले बेरोजगार बनाएको नेपालीको तेस्रो ठूलो संख्या मलेसियामा रहेको छ । मलेसियाबाट हालसम्म ५८ हजार ५५९ जना नेपालीले रोजगारी गुमाई स्वदेश फर्केका छन् । 



सिसिएमसीका अनुसार रोजगारी गुमाई हालसम्म साउदी अरबबाट ४९ हजार ९२७ जना, भारतबाट ४३ हजार ५३६ जना, कुवेतबाट २८ हजार ३१० जना, टर्कीबाट १९ हजार ५९३ जना, जापानबाट १३ हजार ९२६ जना, ओमानबाट ७ हजार ११३ जना, बहराइनबाट १ हजार ७०७ जना नेपालीलाई उद्धार गरी स्वदेश ल्याइएको छ । 

यस्तै, अष्ट्रेलियाबाट १ हजार २४४ जना, सिंगापुरबाट ६ हजार ५८५ जना, बंगलादेशबाट २ हजार ६६७ जना, माल्दिभ्सबाट १ हजार १८ जना, चीनबाट ३ हजार ७०२ जना, हङकङ तथा मकाउबाट ३ हजार २८९ जना र दक्षिण कोरियाबाट ३ हजार ८४० जना नेपालीलाई उद्धार गरी ल्याइएको सिसिएमसीले बताएको छ । 



थाइल्याण्डबाट ५३० जना, अफगानिस्तानबाट ३०५ जना, अमेरिकाबाट ६१८ जना, बेलायतबाट २५८ जना, जोर्डनबाट ७३९ जना र दक्षिण सुडानबाट २५८ जना नेपाली पनि यो अवधिमा स्वदेश फर्केका छन् । बाँकीलाई अन्य देशबाट उद्धार गरी ल्याइएको सिसिएमसीले जानकारी दिएको छ । 

सन् २०१९ डिसेम्बर अन्तिम साता विश्वमा पहिलो पटक चीनको वुहानमा कोरोना भाइरस देखिएको थियो । हाल यो विश्वको २ सय २० देश तथा क्षेत्रमा फैलिसकेको छ । कोरोना महामारीसँगै विश्वका देशले यसलाई नियन्त्रण गर्न कडा लकडाउन सुरु गरेका थिए । जसका कारण उद्योग, कलकारखाना लगायतका कार्यहरु ठप्प भएका थिए । यसले गर्दा रोजगार खोज्दै विश्वका बिभिन्न देश पुगेका नेपालीहरु वेरोजगार भएका हुन्। 

  • प्रकाशित मिति : भदौ १२, २०७८ शनिबार १२:५१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया