नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका प्रमुख डिफेन्डर रोहित चन्दले भारतविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।
शीर्ष लिग खेल्न गत साता नै बन्द प्रशिक्षण इन्डोनेसिया पुगेका रोहित मैत्रीपूर्ण खेलका लागि नेपाल नफर्किने भएका हुन् ।
उनी पर्सिजा जकार्ताबाट इन्डोनेसियाको शीर्ष डिभिजन लिग वान खेल्दै आएका छन् । क्लबले लामो समयका लागि छुट्टी नदिने भएकाले रोहितले साफ च्याम्पियनसिपलाई ध्यानमा राखेर मैत्रीपूर्ण खेल नखेल्ने भएका हुन् ।
इन्डोनेसियाको लिग शुक्रबारबाट सुरु भएको छ । रोहित सामाजिक सञ्जालमार्फ आफूले ८ दिनको क्वारेन्टाइन अवधी पूरा गरेको जानकारी गराएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले रोहित मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र संघसँगको छलफलपछि नै इन्डोनेसिया गएको बताए ।
‘रोहित हामीसँग स्वीकृति लिएर नै इन्डोनेसिया गएका हुन्’, महासचिव तुलाधरले भने, ‘क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले उनी गत साता नै बन्द प्रशिक्षण छाडेर इन्डोनेसिया गएका थिए ।’
‘विश्वकप एसिया छनोट अन्तर्गत अस्ट्रेलियासँगको खेलमा रातो कार्ड बेहारेका कारण रोहितले भारत विरुद्धको पहिलो खेल गुमाउने सम्भावना छ । त्यसैले पनि इन्डोनेसिया जाने अनुमति दिएका हौँ । तर यसको निर्णय भइसकेको छैन । यो विषयमा फिफासँग जानकारी लिइरहेका छौँ’, महासचिव तुलाधरले थपे ।
अक्टोब १ देखि १६ सम्म माल्दिभ्समा हुने १३ औँ संस्करणको साफ च्याम्पियनसिपको तयारी स्वरूप नेपालले घरेलु मैदान दशरथ रंगशालमा सेप्टेम्बर २ र ५मा भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।