कहाँबाट आउँछ तालिबानलाई  पैसा ?

यसै महिना तालिबानले पूरै अफगानिस्तानमा आफ्नो कब्जा जमायो । अबको केही दिनमै अमेरिकी नेतृत्वको सेना अफगाानिस्तानमा फर्किने छ । यसरी पछिल्लो दुई दशकसम्म चलेको दुवै पक्षबीचको संघर्ष सायद थामिने छ ।

तालिबानसँग लड्न अमेरिकी गठबन्धनका सैनिकलाई सधै कठिन भयो । उनीहरुसँग संसारकै धनी देशका सेना थिए, न पैसाको अभाव थियो न त आधुनिक हतियारको कमी । गठबन्धन सेनाका अघिल्तिर तालिबान खासै केही पनि थिएनन् ।

एक अनुमान अनुसार, २०११ मा तालिबानसँग ३० हजार लडाकु थिए । २०२१ को मध्यतिर आइपुग्दा त्यो संख्या बढेर ७० हजारदेखि एक लाखसम्म पुगेको छ । यति धेरै सेना र चरमपन्थी अभियान सञ्चालनमा लागि ठूलै आर्थिक मद्दत आवश्यक पर्छ । यहीँनिर प्रश्न उठ्छ- तालिबानलाई संगठन चलाउन पैसा कहाँबाट आउँछ ? देशभित्रबाट कि बाहिरबाट ?

कति धनी छ तालिबान ?

तालिबानले अफगानिस्तानमा १९९६ देखि २००१ सम्म शासन गरे । तर, तिनको आम्दानीबारे कुनै विश्वस्त जानकारी मानिसहरुले पाएका छैनन् । यिनले पैसा कहाँबाट ल्याउँछन् भन्ने कुरो पत्ता लगाउन सहज पनि छैन । 

बिबिसीले अफगानिस्तानभित्रै र बाहिरका केही व्यक्तिहरुसँग कुराकानी गरेर यसबारे पर्याप्त सूचना जुटाएको छ । यसबाट पत्ता के लाग्छ भने, तालिबानको आर्थिक ढाँचा निकै जटिल छ । 



२०११ मा तालिबानको वार्षिक आय करिब २९०० करोड (भारु) थियो । २०१८ को अन्त्यसम्ममा यो आँकडा बढेर ११ हजार करोड पुगेको बिबिसीले पत्ता लगाएको छ । अबका केही दिनमा उसले अफगानिस्तानमा सरकार सञ्चालन गर्ने छ । यो अवस्थामा तालिबानले आफ्नो आयमा निकै वृद्धि गर्ने अनुमान गर्न थालिएको छ ।

तालिबानको आम्दानीको चार प्रमुख स्रोत



आमधारणा के छ भने, तालिबानको मुख्य कमाइ अफिम र त्यसबाट बन्ने नशालु पदार्थ हेरोइन हो । तर, जानकारहरु यसैलाई पूर्ण सत्य मान्दैनन् । उनीहरुका अनुसार, अफिमका साथै तालिबानले कब्जा जमाएका विभिन्न क्षेत्रमा लगाइने गरिएको करबाट पनि आम्दानी हुने गर्छ । साथै, विदेशबाट पठाइने चन्दा र खनिज पदार्थको कारोबारबाट समेत तालिबानले पैसा जम्मा गर्छ । उसको प्रमुख आय स्रोत चारवटा छन् :​​

१. विदेशबाट पठाइने चन्दा

पूर्व अफगान सरकार र अमेरिकी अधिकारीहरुले लामो समय के आरोप लगाइरहे भने, पाकिस्तान, इरान, रुस, साउद अरब, संयुक्त अरब इमिरेट्स, कतारलगायत खाडीका कयौं मुलुकले तालिबानलाई आर्थिक मद्दत गरिरहेका छन् । यी मुलुकहरुसँग तालिबानको सम्बन्ध लामो समयदेखि कायम छ । तर, यी देशहरु आफूले तालिबानलाई मद्दत नगरेको बताउँछन् ।

के पनि मानिन्छ भने, पाकिस्तानसहित साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतारजस्ता खाडी मुलुकका नागरिक निजी रुपमा समेत तालिबानलाई मद्दत गर्ने गर्छन् । तालिबानलाई विदेशबाट कति पैसा सहयोग हुन्छ भनेर यकिन तथ्यांक बताउन सकिँदैन । तर, जानकारहरु के भन्छन् भने- तालिबानलाई प्रत्येक वर्ष विदेशबाट ५० करोड डलर आर्थिक मद्दत भइरहेको छ ।

यसअघि अमेरिकी जासुसी रिपोर्टमा गरिएको अनुमान अनुसार, २००८ मा विशेषगरी खाडी मुलुकबाट तालिबानलाई १०.६ करोड डलर प्राप्त भएको थियो । 

२. नशालु पदार्थको कारोबार

तालिबानले लामो समयदेखि नशालु पदार्थ अफिम, हेरोइनजस्ता वस्तुको कारोबार गर्दै आइरहेको कतिपयको भनाइ छ । अफगानिस्तान संसारकै सबैभन्दा ठूलो अफिम र हेरोइन उत्पादक देश हो । हेरोइन अफिमबाट तयार पारिन्छ । एक अनुमान अनुसार, अफगानिस्तानले प्रत्येक वर्ष १.५ देखि तीन अर्ब डलर बराबरको अफिम अन्य देशमा बिक्री गर्छ । 

अफगान अधिकारीहरुका अनुसार, तालिबानले किसानहरुलाई अफिम खेती गर्न लगाउँछन् र त्यसबाट १० प्रतिशत कर असुल्छन् । साथै, हेरोइन बनाउने प्रयोगशालाबाट पनि कर असुल्छन् । यी कार्यबाट तालिबानले वार्षिक १० देखि ४० करोड डलर कमाउने अनुमान गरिन्छ । 
२०१८ मा अमेरिकी कमान्डर जनरल जोन निकोल्सनले एक रिपोर्टमा भनेका थिए- तालिबानले आफ्नो आयको ६० प्रतिशत रकम अवैध ड्रगबाट कमाउँछन् । तर, यो अनुमानलाई कतिपय जानकारहरुले मानेका छैनन् ।

३. इलाका कब्जा

तालिबानको आय केवल अफिमको बिक्री होइन । यसको प्रमाण २०१८ मा अफगान कारोबारीका नाममा लेखिएको एक खुल्लापत्र हो, जसमा उसले तेल, निर्माण सामग्रीसहित कतिपय उत्पादनमा कर तिर्न आदेश दिएको थियो । तालिबानको जहाँजहाँ प्रभाव क्षेत्र छ, त्यहाँ उसले विभिन्न प्रकारका कर असुल्ने गर्छ  । पछिल्ला दुई दशकमा पश्चिमी देशबाट तालिबानले नचाहँदा पनि उनीहरुको खल्तीमा पैसा गएको छ । 

पछिल्ला दुई दशकमा संसारका विभिन्न देशको मद्दतबाट अफगानिस्तानमा सडक, विद्यालय, अस्पताल आदि बन्यो । तर, तालिबान यस्ता सबै परियोजनामा प्रयोग हुने सवारीसाधनको आवतजावतमा कर लगायो । यो अवधिमा पश्चिमा देशहरुको सामान सप्लाई गर्ने कार्यमा प्रयोग हुने ट्रकबाट मात्रै तालिबानले वार्षिक करोडौं डलर कर उठाए । 

अफगानिस्तानको विद्युत् कम्पनीका अध्यक्षले २०१८ मा बिबिसीलाई बताएका थिए- बिजुली प्रयोग गर्ने व्यक्तिबाट समेत तालिबानले कर असुल्छन् । यसबाट मात्रै वार्षिक २० लाख डलर कमाएको उनले बताए । 

४. खनिज पदार्थ

खनिज तथा बहुमूल्य पत्थरमा अफगानिस्तान निकै धनी छ । त्यो देशमा दशकौंदेखि चलेको संघर्षका कारण ती खनिजको उपयुक्त दोहन हुन सकेको छैन । अहिले अफगानिस्तानको खनिज उद्योग एक अर्ब डलर बराबरको रहेको त्यहाँका अधिकारीहरु बताउँछन् ।

त्यहाँको अधिकांश उत्खनन् साना स्तरको छ र अवैध ढंगमा भइरहेको छ । तालिबानले यसमा आफ्नो नियन्त्रण राख्दै वैध–अवैध उत्खननबाट निकै रकम कमाएको छ । २०१४ मा प्रकाशित संयुक्त राष्ट्रको एक रिपोर्टमा तालिबानले हेमन्द प्रान्तमा २५ देखि ३० अवैध उत्खनन् परियोजनाबाट वार्षिक एक करोड रुपैयाँ कमाएको उल्लेख छ।

(बिबिसी)


 

  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १२:८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया