माधव नेपालसहित १४ सांसदमाथि कारबाही नहुने सभामुखकाे ठहर

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)ले कारबाहीका लागि सिफारिस गरेका १४ जना प्रतिनिधिसभाका सदस्यहरूलाई कारबाही गर्न नपर्ने निर्णय गरेका छन् । 

०७८ वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसद् बैठक बहिष्कार गरेर पार्टीको ह्विप उल्लंघन गरेको भन्दै एमालेले १४ सांसदलाई पार्टीबाट र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो । एमालेले भदौ १ गतेको सो निर्णय संघीय संसदलाई पठाएको थियो । 

एमालेले कारबाही गरेको जानकारी गराएको १२ दिनपछि सभामुख सापकोटाले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ सांसद मिलेर अर्को दल गठन भएको र नयाँ दल गठनको भएको जानकारी संसद्लाई समेत भइसकेको भन्दै कारबाही गरिरहन नपर्ने निर्णय लिएका हुन् । 

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांसदलाई कारबाही गरिएको पत्र पाएको १५ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्थाअनुसार सभामुख सापकोटाले निर्णय गरेको जानकारी दिए । नेकपा एमालेले कारबाही गरेपछि माधव नेपालको नेतृत्वमा केन्द्रीय सदस्य तथा सांसदहरूले नेकपा (एकीकृत समाजवादी) नामको राजनीतिक दल गठन गरिसकेका छन् । 

सभामुखको यो निर्णयसँगै सांसदहरु माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, नीरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीको सांसद पद जोगिएको छ ।





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार २०:३२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया