अफगान सेना हार्नुका तीन कारण
फरकधार / १४ भदौ, २०७८

अफगानिस्तान सेनाका लेफ्टिनेन्ट जनरल सामी सादातले एक अमेरिकी अखबारमा लेख्दै ‘अमेरिकाका सहयोगीहरूले सबैथोक छाड्ने भाव’ व्यक्त गरेका कारण अफगान सेनाले पनि लड्ने इच्छा गुमाएका उल्लेख गरेका छन् । अगस्ट १५ मा तालिबानले काबुल कब्जामा लिएपछि यस्तो खुलासा भएको यो पहिलो पटक हो ।



अफगान सेनाको क्षमतामाथि निरन्तर प्रश्न उठिरहेको छ । कमान्डरका सादातका अनुसार, उनका सेना ‘क्रोनिज्म’ र ‘ब्युरोक्रेसी’सँग लडिरहेका थिए । उनले लेखेका छन्- जब अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सेना यो लडाइँ लड्न सक्दैनन् र अफगानिस्तानका लागि तिनले लड्नु आवश्यक छैन भनिदिए तब अफगान सेनाको इच्छाशक्ति गुम्न पुग्यो ।

उक्त लेख यस्तो समयमा आएको छ, जब तालिबानको जितलाई कुनै विरोधविना नै हासिल गरिएको सफलता मानिएको छ । सादात लेख्छन्, ‘म अफगान सेनामा थ्री स्टार जनरल हुँ । ११ महिनाका लागि २१५ मेवान्ड कर्प्सकाे कमान्डरका रूपमा मैले दक्षिण-पश्चिम अफगानिस्तानमा तालिबानविरुद्ध युद्ध अभियानमा १५०० सैनिकको नेतृत्व गरेँ ।’



हारको कारण अफगान र अमेरिकी नेतृत्व



‘मैले सयौं अधिकारी र सैनिक मरेको देखेँ, त्यसैले म निकै चिन्तित र निराश छु । म एक व्यावहारिक दृष्टिकोण प्रस्तुत गर्न चाहन्थेँ र अफगान सेनाको सम्मानको रक्षा गर्न चाहन्थेँ,’ कमान्डर सादात थप्छन्, ‘म अफगान सेनाको कमजोरी लुकाउन चाहन्नँ त्यसैले साँचो कुरा के हो भने, अफगान सेनाले बहादुरीका साथ लड्यो । हामीले हारेको त अमेरिकी र अफगान नेतृत्वका कारण मात्रै हो ।’

रातारात फेरियो ‘सहयोग’को नियम

अफगान सेनाको हारका प्रमुख तीन कारण मान्छन्, सादात । पहिलो, अमेरिको दोहा शान्ति सम्झौता, अर्को अफगान सेनासँग खानाआहारको व्यवस्थापन सम्बन्धी समर्थनको अभाव र तेस्रो कारण हो- असरफ गनी सरकारको भ्रष्टाचार । उनले अफगान सुरक्षा बलका लागि अमेरिकी हवाई समर्थनको नियम रातारात परिवर्तन गरिनाले तालिबानको हौसला बढेको समेत लेखेका छन् । उनले लेखेका छन्- तालिबानलाई आफ्नो जित घोषणा गर्नका लागि केवल अमेरिकी सेनाको फिर्तीको प्रतीक्षा थियो ।
 

  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार ७:२४:४५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया