मन्त्रिपरिषद् विस्तारै नगरी गुजारे देउवाले ५० दिन, आजको बैठकमा पनि ठोस निश्कर्ष निस्किएन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको आज ५० दिन पुगेको छ । अर्थात एउटा सरकारको गुण र अवगुण खुट्याउन दिइने सय दिनको अवधि (हनिमुन पिरियड)को आधा समय मन्त्रिपरिषद् विस्तार नै गर्न नसकी देउवाले गुजारेका छन् । 

मन्त्रिपरिषद विस्तार गर्ने मूल उदेश्यका साथ आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक बिना निस्कर्ष सकिएको छ । 

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएपनि कुन दलबाट को को मन्त्री बन्ने भन्ने टुङ्गो लगाउन सकेन । 

सरकार गठनका सन्दर्भमा यसअघि हिजो पनि प्रधानमन्त्री देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए । तर, सहमति हुन सकेको थिएन । आजको बैठकमा ठोस निश्कर्ष ननिस्किएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवाले फरकधारलाई जानकारी दिए । उनका अनुसार समसामयिक राजनीति र मन्त्रिपरिषद विस्तारबारे छलफल भएको थियो । 

केही दिनयता लगातार गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन् । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । आजको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थियो । अन्य पार्टीका अध्यक्ष र कांग्रेस सभापति मात्र उपस्थित हुने भनिएपनि कानुनमन्त्री ज्ञानेन्दबहादुर कार्की र कांग्रेस नेता पुर्णबहादुर खड्काको उपस्थिति बैठकमा रहेको बालुवाटार स्रोतले बतायो । 

लामो समयदेखि मन्त्रिपरिषद विस्तार हुन नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना हुँदै आइरहेको छ ।





  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १२:४७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया