बागमती प्रदेश सरकार अल्पमतमा, गठबन्धनको मुख्यमन्त्रीमा पाण्डेको दाबी

बागमती प्रदेश सरकार अल्पमतमा परेको छ । नेकपा एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)मा बागमती प्रदेश सभाका १२ जना प्रदेश सभा सदस्यहरु लागेपछि सरकार अल्पमतमा परेको हो । 

निर्वाचन आयोगको प्रदेश स्थित कार्यालयमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनाल शर्मा सहित १२ जना प्रदेश सभा सदस्यले मंगलबार सनाखत गरेका हुन् । 

मंगलबार  बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा सामाजिक विकास मन्त्री कृष्ण शर्मा खनाल सहित प्रदेश सभा सदस्यहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्कीले सनाखत गरेका हुन्  ।   

शाक्य अल्पमतमा 

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । तर शाक्यको अल्पमतको गणना भदौ २३ गते देखि हुने छ । 

दल विभाजनसम्बन्धी अध्यादेशले दल दर्ता भएको २१ दिनभित्र प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न पाउने अधिकार दिएको छ । सोही अधिकार अनुसार भदौ २३ गते समाजवादीमा गएका एमालेका प्रदेश सभा सदस्यहरुले औपचारिक रुपमा समाजवादी पार्टीको प्रमाण पत्र पाउनेछन्, त्यसपछि शाक्य कानुनी रुपमा अल्पमतमा पर्नेछिन् ।  



संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भए ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।  
विश्वासको मत लिनु नपर्नेगरी संविधानको धारा १६८(१) अनुसार बहुमतको आधारमा मुख्यमन्त्री बनेको भए पनि शाक्यलाई समर्थन गरेको दल विभाजन भएपछि उनले विश्वासको मत लिनुपर्ने भएको हो । नेकपा (एकीकृत समाजवादी)मा गएका सांसदहरुले शाक्यलाई साथ नदिने भएपछि प्रदेश सरकार अल्पमतमा पर्ने निश्चित भएको हो ।  

राजेन्द्र पाण्डे भन्छन–  ‘म मुख्यमन्त्री ’ 



बागमती प्रदेश सभा सदस्य तथा नेकपा एकीकृत​ समाजवादीका नेता राजेन्द्र पाण्डेले अब आफु बागमती प्रदेशको मुख्यमन्त्री हुने बताएका छन् । 

सनाखत गरेर प्रदेश निर्वाचन कार्यालय हेटौंडाबाट बाहिरिँदै गर्दा उनले आफुलाई पार्टीले मुख्यमन्त्री बनाउन पठाएको भन्दै आफैं मुख्यमन्त्री बन्ने बताएका हुन् । उनले भने ‘म गठबन्धनबाट मुख्यमन्त्री हुनेछु । मलाई गठबन्धनको सहयोग रहेको छ । बागमती प्रदेशमा गठबन्धनबाट मुख्यमन्त्री मै हो ।’   

बागमती प्रदेश सभा सदस्यहरुको सनाखतमा आएका सामाजिक विकास मन्त्री कृष्ण प्रसाद शर्मा खनाल भने पत्रकारहरुसँग तर्केर गए । उनले सामुहिक फोटो खिच्न समेत मानेनन् । 

समाजवादी चौथो  

बागमती प्रदेशमा सिंगो एमालेका ५६ प्रदेशसभा सदस्य छन् ।  ओली पक्षका ३५ थिए भने र नेपाल पक्षका २१ जना थिए । माधव नेपाल पक्षका २१ सांसदमध्ये समाजवादीमा कम्तीमा १५ जना प्रदेश सभा सदस्य जाने देखिएको छ । 

समाजवादीकी नेतृ तथा प्रदेश सभा सदस्य मुनु सिग्देलले अझै ४ जना प्रदेश सभा सदस्य सनाखतको लागि आउने दाबी गरिन् । बागमती प्रदेशमा कांग्रेस, माओवादी र समाजवादी मिल्दा मात्रै पनि  बहुमत प्रदेश सभा सदस्य गठबन्धनमा पुग्ने देखिन्छ । 

यद्यपी सरकार ढले तापनि प्रदेशको ठुलो दल नेकपा एमाले नै हुने देखिएको छ । बागमती प्रदेशमा समाजवादीले औपचारिक रुपमा विभाजन भएको प्रमाणपत्र पाएपछि, एमाले पहिलो दल, नेकपा माओवादी केन्द्र दोस्रो, नेपाली कांग्रेस तेस्रो र नेकपा एस चौथो हुने देखिन्छ । 

प्रदेशमा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशीलका ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।

  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १६:५७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया