पाकिस्तान क्रिकेट टोलीका पूर्वकप्तान शाहिद अफ्रिदी बेला–बेलामा चर्चामा आइरहन्छन् । यतिबेला अफ्रिदीको एउटा भिडियोले सामाजिक सञ्जालमा निकै चर्चा कमाइरहेको छ ।
यो भिडियोमा उनले तालिबानको खुलेर प्रशंसा गरेका छन् जसका कारण उनले निकै गाली खानुपरेको छ । धेरै समर्थकले अफ्रिदीलाई गाली गर्दै यो भिडियो सेयर गरेका छन् ।
अफ्रिदीले भनेका छन्, ‘अफगानिस्तानमा तालिबान फर्किएको छ, तर पूरै नयाँ भएर । उसमा निकै परिवर्तन आएको छ, जुन हामीले पहिला देखेका थिएनौँ । महिलालाई काम गर्न र राजनीतिमा आउन अनुमति दिइएको छ ।’
‘तालिबानले क्रिकेटलाई समर्थन गरिरहेका छन्,’ अफ्रिदी थप्छन्, ‘श्रीलंकाको हालतका कारण यसपटक सिरिज हुन सकेन, तर म बुझ्छु कि क्रिकेटप्रति उनीहरुको विशेष लगाव छ, त्यसैले उनीहरुबाट यसमा कुनै खतरा छैन ।’
यो भिडियो सर्वप्रथम पाकिस्तानी पत्रकार नाइला इनायतले ट्विट गरेकी थिइन् । उनले लेखेकी छन्, ‘अफ्रिदी तालिबानको आगामी प्रधानमन्त्री हुनुपर्छ ।’
‘तालिबानले बुझिसकेका छन् कि महिला विनासमाज चल्न सक्दैन । उनीहरु शान्तिको कुरा गरिरहेका छन्,’ भिडियो भाइरल बनेपछि अफ्रिदीले आफ्नो बचाउ गर्दै बिबिसीसँगको कुराकानीमा भनेका छन्, ‘मलाई लाग्छ कि उनीहरु पहिलाको भन्दै निकै परिवर्तन भएका छन् । उनीहरु बदलाको भावना त्यागेर शान्तिपूर्ण वार्ता चाहन्छन् ।’
यसपटक उनीहरुले महिलालाई शिक्षा र रोजगारीको अवसर प्रदान गर्ने कुरा गरिरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘महिला शिक्षित भए समाज पनि शिक्षित हुन्छ भन्ने उनीहरुले बुझेका छन् । जुन पहिला कहिल्यै देखिएको थिएन ।’
यद्यपि, पुरानो छविका कारण तालिबानप्रतिको डर अझै पनि कायम रहेको भन्दै अफ्रिदीले थपे, ‘आशा छ, तालिबानको आगमनसँगै शान्ति आउनेछ र स्थिति सामान्य बन्नेछ ।’
❝Taliban have come with a very positive mind. They're allowing ladies to work. And I believe Taliban like cricket a lot❞ Shahid Afridi. He should be Taliban's next PM. pic.twitter.com/OTV8zDw1yu
— Naila Inayat (@nailainayat) August 30, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।