फोहोर उपहारको चर्चाः महानगर भन्छ– सामान्य, सरोकारवाला भन्छन्– लाजमर्दो

यो साता काठमाडौं महानगरपालिकाको फोहोर नयाँ तरिकाले चर्चामा आयो । 

काठमाडौं महानगर लगायत उपत्यकाको फोहोर नउठेर दुर्गन्ध फैलिएको भन्दै केही युवाहरुको जमातले महानगरका मेयरलाई फोहोर उपहार दिन बागदरबार लगे । 
सार्वजनिक बिदा भएका कारण कार्यालयमा मेयर विद्या सुन्दर शाक्य उपस्थित नभएपछि मूल गेट बाहिर र भित्र फोहोर फ्याँकेर युवाहरु फर्किएका थिए । 

यो घटना हो २०७८ भदौ १४ गतेको । 

फोहोरसँगै ‘मेयरलाई फोहोर उपहार’ लेखिएको ब्यानर बोकेका युवाहरुको आवाज थियो, ‘महानगरले कर चाहिँ बाजा बजाएर उठाउन आउने । तर घर अगाडि थुप्रिएको फोहोर चाहिँ नदेख्ने?’ 

मध्य बर्खामा नुवाकोटको सिसडोलमा फोहोर लैजाने बाटो अवरुद्ध र सिसडोलवासीको विरोधका कारण काठमाडौंमा अहिले फोहोर थुप्रिएको छ । 

फोहोर नउठ्दा दुर्गन्धमा बस्न बाध्य काठमाडौंबासीले विविध तरिकाले सम्बन्धित निकाय समक्ष विरोध जनाइरहेका छन् । सबैभन्दा बढी फोहोर उत्पादन हुने काठमाडौं महानगरको नेतृत्वको विरोध झनै हुने गरेको छ । दुई वर्षअघि मात्रै पनि फोहोर माथि राखिएको महानगरका मेयर शाक्यको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । 



फोहोर उपहार पाएको महानगरको नेतृत्व भने सर्वसाधारणले ‘विरोधको लागि विरोध’ गरेको तर्क गर्छन् । काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरिबहादुर श्रेष्ठ भन्छन्, ‘विरोध गर्ने त गरि नै रहन्छन् । हामीले आफ्नो काम गरिरहेका छौं ।’ 

काठमाडौं महानगरले उपत्यकाको फोहोर व्यवस्थापनको नेतृत्व गरेको दशकौँ भइसकेको छ । महानगरले फोहर व्यवस्थापनकै लागि भन्दै वातावरण विभाग पनि छुट्टै खडा गरेको छ । तर, हरेक वर्ष नुवाकोटबासीको सानो आन्दोलनमै काठमाडौं दुर्गन्धित बन्न बाध्य छ । 



फोहोरको उचित व्यवस्थापन नगरी आफूमाथि अन्याय गरेको भन्दै सिसडोलबासीले बेला बेला आन्दोलन गर्छन् । योसँगै सिसडोल जाने बाटोका बासिन्दा पनि दुर्गन्ध फैलिएको भन्दै विभिन्न माग राखी आन्दोलन गर्ने गर्छन् । उनीहरुको समस्याप्रति काठमाडौं महानगर गम्भीर हुन नसकेको सरोकारवालाहरु बताउँछन् । 

सरोकारवालाहरु राजधानी उपत्यकाको फोहर व्यवस्थापन गर्न महानगरले मात्रै नसक्ने बताउँदै आएका छन् । एकीकृत रुपमा फोहोर व्यवस्थापन गर्न  एउटा स्वायत्त निकाय खडा गर्नुपर्नेमा उनीहरुको जोड छ । पूर्व मेयर केशव स्थापित पनि महानगरले मात्रै फोहोरको समस्या समाधान गर्न नसक्ने बताउँछन् । 

फरकधारसँगको कुराकानीमा स्थापितले भने, ‘काठमाडौंमा फोहोर व्यवस्थापनको समस्या नयाँ होइन, मेरै पालामा पनि उस्तै उस्तै थियो । यसलाई संघीय सरकारले व्यवस्थापन गर्नुपर्छ ।’ 

काठमाडौंको फोहोर व्यवस्थापन समस्या निकै चुनौतीपूर्ण रहेको स्थापितले बताए ।  तर, वातावरणलाई दुर्गन्धित बनाएर फोहोर उपहार दिनु निकै लाजमर्दो विषय भएको उनले जनाए । उनी भन्छन्, ‘यो निकै लाजमर्दो विषय हो । यो विद्यासुन्दर शाक्यका लागि मात्रै होइन उपत्यकाका सबै स्थानीय तह र केन्द्र सरकारको लागि पनि हो ।’ 


 

  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १७:४०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया