पछिल्लो हप्ता फ्रेन्च युवा स्टार केलियन एम्बाप्पे स्पेनिस महारथी रियल मड्रिड आउने हल्लाले पूरै ट्रान्सफर बजार ततायो ।
अब यो हल्ला केवल हल्लामै सीमित बनेको छ । मंगलबार राति यो सिजनको समर ट्रान्सफर बजार बन्द भएसँगै एमबाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहने निश्चित भएको हो ।
पिएसजीसँग सम्झौताको अन्तिम वर्षमा रहेका एमबाप्पेका लागि रियलले बारम्बार ठूलो रकमको प्रस्ताव गरे पनि क्लबले त्यसलाई स्वीकार गरेन । सुरुमा १६० मिलियन युरोको प्रस्ताव गरेको उसले यसलाई बढाएर १७० मिलियन पुर्याएकाे थियो । यी दुवै प्रस्तावलाई पिएसजीले अस्वीकार गर्याे ।
रियलले ट्रान्सफर विन्डोको अन्तिम दिनमा एमबाप्पेका लागि २०० मिलियन युरोको प्रस्ताव राखे पनि पिएसजीले यसमा पनि कुनै जवाफ फर्काएन ।
पिएसजीले एमबाप्पेसँग पटक पटक सम्झौता नवीकरणका लागि प्रस्ताव गरेको भए पनि उनी त्यसका लागि तयार छैनन् ।
एमबाप्पेले रियल मड्रिड जाने मनसाय बनाइ सकेको हुँदा उनी यो वर्ष नभए अर्को वर्ष फ्रि ट्रान्सफरमा पिएसजी छाड्ने योजनामा छन् ।
यो सिजन एमबाप्पे पिएसजीमै रहने भएपछि क्लबको आक्रमण निकै बलियो हुने भएको छ । उनले आक्रमणमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र ब्राजिलियन फरवार्ड नेइमारलाई साथ दिने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।