[अन्तर्वार्ता] मुख्यमन्त्री हुने मन थिएन, अब छवि ‘प्लस’ हुन्छ कि माइनस हेरौं : भीम आचार्य

आफ्नै पार्टीको सरकार हटाएर प्रदेश- १ मा भीम आचार्यको नेतृत्वमा नयाँ सरकार बनेको छ । करिब डेढ वर्ष समय बाँकी छँदै शेरधन राईको स्थानमा मुख्यमन्त्री बनेका हुन् उनी । नेकपा एमालेका सचिव आचार्य मुख्यमन्त्री बन्दा कतिपयले उनलाई सत्तालोलुप करार गरिदिएका छन् त कतिपयले पार्टी एकताको पक्षधर ।

पार्टी विभाजनसँगै शेरधन राई नेतृत्वको सरकार अल्पमतमा परेको बेला मुख्यमन्त्री बनेका आचार्य उक्त प्रदेशमा एमाले नेतृत्वको सरकार जोगाउन सफल हुने हुन् होइनन्, यो चाँडै देखिने छ । पार्टी विभाजन भइसकेको छ र सरकार टिकाउन कम्तीमा ४७ जना प्रदेशसभा सदस्य चाहिन्छ । 

एमालेविरुद्ध केन्द्रदेखि नै गठबन्धन बनिरहेको छ । एमालेकै १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा लागेको चर्चा चलिरहेको छ । यो अवस्थामा आचार्यले सरकार कसरी जोगाउलान् ? यिनै विषयको सेरोफेरोमा रहेर प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यसँग फरकधार प्रदेश- १ का ब्युरोचिफ सुमन पुरीले गरेको कुराकानीको सारः 

तपाईं पहिलादेखि नै मुख्यमन्त्री बन्ने योजनामा हुनुहुन्थ्यो, तर पाँच वर्षे कार्यकालको अन्त्यतिर मात्रै बन्नुभयो नि ?

अहिले मुख्यमन्त्री बन्ने मेरो कुनै इच्छा थिएन । पाँच वर्षअगाडि भने इच्छा गरेको थिएँ र त्यसबखत मेरा निश्चित मिसन पनि थिए । म पाँच वर्ष स्थिर ढंगले सरकार चलाउने सोचमा थिएँ । त्यसका लागि बहुमत ल्याउने गरी योजनाबद्ध रूपमा म चुनावमा होमिएको थिएँ । प्रदेश- १ को विकास र समृद्धिका लागि डेढ वर्ष लगाएर मैले मेहनतसहित मास्टर प्लान बनाएको थिएँ । ४० वटा कानुनको त ड्राफ्ट नै बनाउन लगाएको थिएँ । राजस्व वृद्धि सम्बन्धी थुप्रै अध्ययन गरेको थिएँ । विकासको मोडेल तयार पार्दैै नमुना प्रस्तुत गर्ने सोचमा थिएँ । भारतका मोदीले गुजरातमा गरेको विकासको मोडलबाट म प्रभावित छु ।

अब त सरकारले काम गर्न करिब एक वर्षमात्रै बाँकी छ । विगतमा धेरै कुरा बिग्रिएको छ । दलहरूका बीच र दलभित्रै पनि विवाद तथा द्वन्द्व छ । प्रदेश १ को त नामसमेत जुराउन सकिएको छैन । यस्तो अवस्थामा म सरकारमा आएको छु । म जति पनि काम गर्ने योजनामा थिएँ, त्यो अहिले पूरा हुने अवस्था छैन । विगतमा बिग्रिएका कामहरूको अपजस बोक्ने मेरो इच्छा होइन, तर पार्टी विभाजनको अवस्था आएका कारण म अघि बढेको हुँ । विभाजनले पार्टीलाई धेरै ड्यामेज नगरोस् भन्ने मनसाय राखेर म मुख्यमन्त्री बनेको हुँ । तर, म मुख्यमन्त्री बन्दा मेरो छवि ‘प्लस’ हुन्छ कि ‘माइनस’ त्यो मलाई थाहा छैन  । 



विभाजनले पार्टीमा हुन सक्ने क्षति रोक्न मुख्यमन्त्री बनेको भन्नु भो, तपाईं बन्दा क्षति रोकिने अरु बन्दा नरोकिने कसरी हुन्छ ?

म मुख्यमन्त्रीमा आउँदा नयाँ मानसिकताका साथ आएको छु । एउटै व्यक्ति पदमा रहिरहँदा र फेरिँदा केही न केही त फरक परिहाल्छ । सहयात्री साथीहरूका भावना समेटेर पार्टीलाई ड्यामेज हुनबाट जोगाउनु मेरो पहिलो प्राथमिकता हो । निर्वाचन नजिकै आइसकेको छ । निर्वाचनमा नेकपा एमालेले पराजय बेहोर्नु नपरोस् भन्ने मूल उद्देश्यसहित म आएको हुँ । सकेसम्म पार्टी र यो प्रदेशका निम्ति राम्रो काम गर्ने उद्देश्य छ मेरो ।



केके राम्रो काम गर्ने योजना छन् ?

एमालेमा विवाद माथिबाटै सुरु भएको छ । हाम्रो प्रदेशमा त्यो विवादलाई सकेसम्म किनारा लगाउँछु । यो प्रदेशको विकासका लागि पनि त्यो आवश्यक छ । कोरोना महामारीको अवस्था छ । विगतमा महामारी नियन्त्रणमा आवश्यक तयारीमै समस्या थियो । त्यसमा सहजीकरण गर्छु । सानो बजेट भए पनि सुरु भइसकेका विकास योजनाहरू पूरा गर्ने छु । सुशासनका कुरा पनि छन् । त्यसका लागि त मैले पहिलो वैठकमै केही निर्णय गरिसकेको छु । इटहरीमा यातायात कार्यालय छ, त्यहाँको भद्रगोल नियन्त्रण आवश्यक छ । मालपोत कार्यालयको अवस्था पनि त्यस्तै छ । सरकारी कार्यालयको कमजोरीका कारण बिचौलियाले फाइदा उठाइरहेका छन् । जनता मारमा परेका छन् । यसलाई चिर्नका लागि हामीले निर्णय गरेका छौं । यातायात र मालपोतलाई अनलाइन सिस्टममा लैजाने योजना छ । अबको एक महिनाभित्र सेवाग्राहीले घरै बसेर राजस्व तिर्न सक्ने छन् । हामी जनतालाई सुशासनको प्रत्याभूति दिन्छौं । यो हाम्रो पहिलो क्याबिनेटको निर्णय हो । 

योजनाअनुसार काम गर्नका लागि विश्वासको मत लिनुपर्छ । एमालेमा अब कति सांसद बाँकी रहन्छन् र विश्वासको मत लिन सक्नु होला ? 

पहिलो कुरा त म दललाई ‘इन्ट्याक्ट’ राख्ने प्रयासमा छु । सकेसम्म पार्टीको माथिको समस्या प्रदेशमा हुन दिन्नँ । पार्टी विभाजनको प्रभाव कम भन्दा कम परोस् भन्ने प्रयासमा छु । पार्टी विभाजनको अवस्थामा नेता-कार्यकर्ताहरू अस्थिर हुनु र यताउता गर्नु सामान्य कुरा हो । त्यसलाई पनि म्यानेज गर्ने कोसिसमा लागेको छु । हाम्रो प्रदेशमा विकासप्रेमी अन्य दल पनि छन्, सांसद पनि छन् । अरु किन विकल्प खोज्नु ? उज्यालो बाटो छाडेर किन अँध्यारो बाटो हिड्नु ? त्यसैले यो सरकार टिक्छ । 

पार्टीभित्रका ५१ जना सांसदलाई एमालेमै राख्न के गरिरहनु भएको छ ?

सांसद टिकाउने मुख्य तीन-चार वटा आधार छन् । पार्टीभित्र व्यक्तिबीच विवादहरु हुन सक्छ । तर, हाम्रो पार्टीमा मूल रुपमा राजनीतिक र सैद्धान्तिक विवाद छैन । हामी सबै नवौं राष्ट्रिय महाधिवेशनले पारित गरेको पार्टीका राजनीतिक-सैद्धान्तिक पक्षहरूमा एक छौं, कसैको फरक मत छैन । दोस्रो कुरा, सांगठनिक आधार हो । सांगठनिक आधारबारेको विवाद १० बुँदे सम्झौताले हल गरिसकेको छ । एक पक्षीय ढंगले कमिटी बन्नाले समस्या उत्पन्न भएको थियो, त्यो अब बाँकी छैन । अब एमाले जेठ २ गते अगाडि गइसक्यो ।

५१ सांसदमध्ये कतिजना एमालेमा रहलान् ?

सकेसम्म त ५१ जनालाई नै राख्ने हो । सबैलाई राख्ने कोसिस छ । अहिले म यतिउति घट्लान् भनेर भन्न चाहन्नँ । अर्कोमा गइसकेका साथीहरू नफर्केलान् पनि भन्दिनँ । म ५१ जनालाई एमालेमा राख्ने प्रयत्न गर्छु । कोही घटेछन् भने त्यतिबेला सोचुँला । 

तर, १० जना सांसदले त बैठकै बसेर एकीकृत समाजवादीमा जाने भनेर हस्ताक्षर गरिसकेका छन् नि ? 

सञ्चारमा माध्यममा आएका सबै कुरा सही हुँदैनन् । हामी सबै साथीहरूको सम्पर्कमा छौं । असन्तुष्टि, अलमल र समस्याहरू छन् । केही साथीहरूमा एमालेमा बसेर न्याय हुँदैन, हामीमाथि प्रतिशोध साधिन्छ, भन्ने आशंका छ । हीनताबोध पनि छ र भय पनि छ । मेरो प्रयत्न, उनीहरूलाई विश्वास दिलाउनुमा रहने छ । पार्टीको मुभमेन्टमा कुनै बेला भएको कामका विषयमा पार्टीले बदला लिन्छ भन्ने मलाई लाग्दैन । त्यसकारण साथीहरूलाई म विश्वास दिलाउन चाहन्छु- तपाईंहरू भय नमान्नुस् । हामी सबैलाई समेट्ने र बदला भाव नराख्ने ग्यारेन्टी गर्छौं । त्यसो हुँदा एमाले सग्लो नै हुन्छ । विभाजनको असर प्रदेशमा हुँदैन । 
 


  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार ११:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया