काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप लचिलो बनाइयो, यी कुरा अझै गर्न पाइनेछैन

काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप लचिलो बनाइएको छ । आज बसेको काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीको बैठकले गत बैशाख ११ गतेदेखि जारी निषेधाज्ञालाई थप लचिलो बनाउने निर्णय गरेका हुन् । कोरोना संक्रमण घट्दै गएको भन्दै उनीहरुले निषेधाज्ञा सहज बनाउने निर्णय गरेका हुन् । 

यसअघिका प्रतिबन्धहरू हटाएर भदौ मसान्तसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

भोलीबाट लागू हुनेगरी सार्वजनिक गरिएको निषेधाज्ञा अनुसार शैक्षिक संस्थाहरु (विद्यालय) ले भौतिक उपस्थितिमा पठन पाठन गर्न र गराउन नपाउने । गर्नैपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु संचालनको निर्णय गर्न सक्नेछन् । 

त्यस्तै अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि गर्न र गराउनमा रोक लगाइएको छ । यस अवधिमा पर्ने चाडपर्वहरू स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रुपमा मात्र मनाउन पाइनेछ । 

सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायहरूबाट आर्थिक, सामाजिक तथा व्यवसायिक गतिविधिहरु संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र गर्न पाइनेछ । 

बिहान ९ बजे देखि ११ बजेसम्म र अपरान्ह ४ बजे देखि ७ बजेसम्म स्थानीय ढुवानी गर्न समेत रोक लगाइएको छ । सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउनेछन् । 



कोभिड–१९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा परेका व्यक्तिहरुले नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन, भीडभाडबाट बच्न तथा बचाउन सतर्क रही स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गर्नुपर्नेछ

कोभिड–१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिनेछ। अनुगमनका क्रममा यस आदेशको अवज्ञा भएको पाइएमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । संक्रमण बढ्न गएमा यस आदेशमा भएका व्यवस्थाहरु कुनै पनि बेला पुनरावलोकन गर्न सकिनेछ ।



  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १५:३८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया