भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल

नेपालले बिहीबार (आज)भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल साँझ साढे पाँच बजे दशरथ रंगशालामा हुनेछ ।

बलियो टोली भारतविरुद्ध नेपाल जितको लक्ष्यका साथ मैदान उत्रिनेछ । फिफा वरीयतामा आफूभन्दा माथि रहेको टोलीमाथि जित निकाल्न त्यति सहज भने हुने छैन ।

फिफा वरीयतामा भारत १०५ औँ स्थानमा रहँदा नेपाल १६८ औँ स्थानमा छ । विगतलाई हेर्ने हो भने पनि यी दुई टोलीबीच निकै अन्तर रहेको छ ।

हालसम्म यी दुई टोलीले १९ खेलमा एक अर्काको सामना गर्दा भारत १३ र नेपाल २ खेलमा मात्र विजयी हुँदा ४ खेल बराबरीमा सकिएको छ । 

नेपाल र भारतले पहिलोपटक सन् १९८५ को साफ च्याम्पियनसिपमा एक अर्काको सामना गरेका थियो । यो खेलमा दुबै टोलीले गोल गर्न सकेनन् ।

मैत्रीपूर्ण खेल अन्तर्गत सन् २०१७ मा भएको पछिल्लो भेटमा भारत २-० ले विजयी भएको थियो । त्यसयता यी दुई टोली पहिलोपटक एक अर्काको सामना गर्दै छन् । 



नेपालले पछिल्लोपटक सन् २०१३ को साफ च्याम्पियनमा २-१ को जित हात पारेको थियो । उसले त्यसयता भएका ५ खेलमा ४ खेल गुमाउँदा १ खेल बराबरीमा सकिएको थियो ।

नेपाललाई घरेलु मैदानमा विगतलाई बिर्सँदै भारतमाथि जित हात पार्ने सुनौलो अवसर मिलेको त्यसलाई उसले सदुपयोग गर्ला वा नगर्ला त्यो त आजको खेलले नै बताउनेछ ।



नेपालले कोरोना महामारीका बीच पनि घरेलु दर्शकको साथ पाउने भएको छ । आज हुने मैत्रीपूर्ण खेलमा ५ हजार १०० दर्शकले प्रवेश अनुमति पाएका छन् । उनीहरूले रंगशालामा प्रवेश गर्दा कोरानाको दुवै डोज खोप लगाएको वा परीक्षणमा नेगेटिभ आएको प्रमाण पेश गर्नु पर्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट मूल्य साधारण प्याराफिटर्फ १ र भिआइपीतर्फ २ हजार रुपैयाँ तोकेको छ । दर्शकले प्रभु पे एप्समार्फत टिकट खरिद गर्न पाउनेछन् ।

दुवै मैत्रीपूर्ण खेल हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार ७:३०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया