एमाले विभाजन : कुन प्रदेशमा कस्तो असर ?

कानुनी रुपमै एमाले विभाजन भएपछि त्यसको प्रत्यक्ष असर अब एमालेले नेतृत्व गरेको प्रदेशहरुमा धमाधम देखिन थालेको छ । 

तत्कालीन नेकपा खारेज हुँदा ७ मध्ये चार प्रदेशमा एमालेको केपी ओली पक्षका मुख्यमन्त्री थिए । कर्णाली र सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) र प्रदेश–२ मा जनता समाजवादीले नेतृत्व गरिरहेका थिए । 

एमालेबाट विभाजित भएर माधवकुमार नेपाल समूहले छुट्टै दल निर्वाचन आयोगमा दर्ता गरेपछि प्रदेशहरुमा पनि त्यसको परकम्पन सुरु भएको छ । नेकपा हुँदै एमाले विभाजन भएपछि आफ्ना पकड क्षेत्रहरुमा एमालेले धमाधम सत्ता गुमाउँदै गएको हो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार निर्वाचन आयोगले २२ भदौसम्म स्थानीय र प्रदेशका जनप्रतिनिधिहरुलाई दल रोज्न समयसीमा दिएको छ । सोही अनुसार अहिले प्रदेशस्तरका नेताहरु धमाधम नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरिरहेका छन् ।
 
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को जारी समीकरणकले सातवटै प्रदेशमा सरकार बनाउने अवस्थामा पुगेको छ । विभाजित बनेको एमाले भने केन्द्रदेखि सबै प्रदेशबाट बाहिरिने निश्चित भएको छ । 

नेकपाको विभाजनपछि अल्पमतमा परेको एमालेले गण्डकी र लुम्बिनी प्रदेशमा सरकार गुमाइसकेको छ । बागमतीमा एमाले नेपाल समूह छाडेकी नेतृ अष्टलक्ष्मी शाक्यले नेतृत्व गरिरहेकी छन् । तर, विभाजनपछि १२ जना सांसदले नेपाललाई साथ दिएपछि शाक्य अलपमतमा परिसकेकी छन् । 

त्यस्तै, प्रदेश १ मा नेपाल समूह छाडेर मुख्यमन्त्री बनेका भीम आचार्य पनि अलपमतमा परिसकेका छन् । 



कुन प्रदेशमा कस्तो असर ?

प्रदेश १ : 



प्रदेश १ मा गत निर्वाचनबाट ५१ जना सांसद निर्वाचित थिए । एकल बहुमतको सरकार बनाएको एमाले अहिले अल्पमतमा परिसकेको छ । १० जना सांसद नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका छन् ।

एमाले छोड्ने प्रदेश १ का प्रदेशसभा सदस्यमा राजेन्द्र राई, राजन राई, गणेशबहादुर काङबाङ्, साबित्रा कुमारी रेग्मी, सुनिता कुमारी चौधरी, सरिता थापा, खिनु लङ्बा, पदमकुमारी गुरुङ, उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले सनाखत गराएका छन् । 

पछिल्लो समयमा १९ जना सांसद माधवकुमार नेपाल समूहमा थिए । भीम आचार्य संसदीय दलको नेताको निर्वाचनमा प्रतिस्पर्धा गर्दा २४ जना थिए । नेकपा (एकीकृत समाजवादी) गठन प्रक्रियाबाट अलग्गिएका आचार्य गत साता प्रदेशको मुख्यमन्त्री बनेका थिए । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५२ सांसद छन् ।

प्रदेश २ :

प्रदेश २ मा एमालेभन्दा नेकपा (एकीकृत समाजवादी) बलियो देखिने भएको छ । अहिले समाजवादीतिर १३ सांसद र एमालेतिर आठ सांसद देखिएका छन् । सनाखतका क्रममा एक–दुई सांसद यताउता हुन सक्ने देखिएको छ । यद्यपि अहिले खुलेकामध्ये २ नम्बर प्रदेशमा नेकपा (एकीकृत समाजवादी) तिर खुल्नेको संख्या धेरै देखिएको छ । 

एकीकृत समाजवादीले निर्वाचन आयोगले तोकेको २२ भदौपछि अलग्गै दलका रूपमा वर्तमान सरकारमा सहभागी हुने तयारी गरेको छ । प्रदेश २ मा अहिले जनता समाजवादीको नेतृत्वमा माओवादी र कांग्रेस सम्मिलित सरकार छ । ्

केन्द्रमै रहेको गठबन्धनलाई निरन्तरता दिँदै प्रदेश २ मा पनि सरकारमा सहभागी हुने नेकपा (एकीकृत समाजवादी)का नेताहरुले बताउँदै आएका छन् । 

बागमती प्रदेश :

बागमती प्रदेशसभाका १२ जना प्रदेशसभा सदस्यहरु एकीकृत समाजवादीमा लागेपछि सरकार अल्पमतमा परेको छ । तर शाक्यको अल्पमतको गणना भदौ २३ गतेदेखि हुनेछ । संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भए ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । 
 
विश्वासको मत लिनु नपर्नेगरी संविधानको धारा १६८(१) अनुसार बहुमतको आधारमा मुख्यमन्त्री बनेको भए पनि शाक्यलाई समर्थन गरेको दल विभाजन भएपछि उनले विश्वासको मत लिनुपर्ने भएको हो । बागमती प्रदेशमा कांग्रेस, माओवादी र नेकपा (एस)को गठबन्धनको सरकार निर्माण गर्ने तयारी छ । नेकपा (एस) का नेता राजेद्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

गण्डकी प्रदेश :

गण्डकी प्रदेशमा एकीकृत समाजवादी शून्य हुने देखिएको छ । ५९ सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद छन् । उनीहरुमध्ये माधवकुमार नेपाल पक्षका इन्द्रलाल सापकोटा मात्र थिए । उनी नेपाल समूहले बाग्लुङमा बनाएको समानान्तर कमिटीको अध्यक्ष थिए । तर उनले एमालेमै बस्ने निर्णय लिएका छन् । यद्यपि दल रोज्न निर्वाचन आयोगले भदौ २२ गतेसम्मको समय दिएको छ ।

गण्डकीमा एमालेले सरकार गुमाइसकेको छ । एमाले बाहेकका दलहरुले गठबन्धन सरकार बनाएका छन् । प्रदेशसभामा कांग्रेसका १५, माओवादीका १२ तथा जनमोर्चा र जसपाका दुई सांसद छन् । एक जना (दीपक मनाङे) स्वतन्त्र सांसद छन् । राष्ट्रिय जनमोर्चाका एक सांसद भने पदमुक्त भएका छन् । 

लुम्बिनी प्रदेश :

लुम्बिनी प्रदेशमा नेकपा (एस) कमजोर देखिएको छ । एमालेकी एक मात्रै सांसद रमा घर्ती मगरले दाङस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर सनाखत गराएकी छन् ।

सामनुपातिक निर्वाचन प्रणालीबाट पाल्पाकी घर्ती सांसद बनेकी थिइन् । घर्तीले नयाँ पार्टी रोजपछि प्रदेशसभाका ८० सदस्यमध्ये एमालेको संख्या ३६ भएको छ । लुम्बिनीमा अहिले माओवादी केन्द्रको नेतृत्वको सरकार बनेको छ। 

कर्णाली प्रदेश :

एमाले विभाजनको केन्द्रमा रहेको कर्णाली प्रदेशमा पनि नेकपा (एकीकृत समाजवादी) कमजोर देखिएको छ । आन्तरिक विवादको कारण बहुमत हुँदाहुँदै पनि सरकार बनाउन नपाएको एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) को पक्षमा एक मात्रै सांसद देखिएकी छन् । 

सांसद देवी वली मात्रै नेकपा एसको पक्षमा खुलेकी छन् । एमालेको २० सदस्यीय संसदीय दलमा विवाद सुरु हुँदा नेपाल पक्षका ९ सांसद थिए ।

सुदूरपश्चिम प्रदेश :

सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेका छन् । उनीहरूले मंगलबार धनगढीस्थित निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर समाजवादीको पक्षमा सनाखत गरेका हुन् । 

भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी, संसदीय दलका पूर्वप्रमुख सचेतक तारा लामा तामाङ र राज्यमन्त्री अर्चना गहतराजसमेत १३ जनाले नयाँ पार्टीको पक्षमा सनाखत गर्ने तयारी थियो । तर, अन्तिममा उनीहरु निर्वाचन कार्यालय पुगेनन् । 

सोडारी, तामाङ र गहतराज र अर्का एक सांसद गरी चारजनाले बुधबार सनाखत गर्ने जोशीले दाबी गरिन् ।

एमाले कैलालीका अध्यक्षसमेत रहेका मन्त्री सोडारी सुरुबाटै समाजवादीमा लागेका छन्  । प्रदेशसभामा एमालेका कूल २४ जना सांसद (सभामुख बाहेक) मध्ये १० सांसदले मंगलबार एमाले छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् ।

एमालेको तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनीहरूले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगको कार्यालय धनगढीमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेर सनाखत गरेका हुन् ।
 

  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार ११:११:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया