पूर्वकप्तानहरु भन्छन्– घरेलु मैदानमा नेपालले भारतलाई जित्न सक्छ

नेपाल र भारतले फुटबलमा हालसम्म १९ पटक एकअर्काको सामना गरिसकेका छन् । यी खेलमा नेपाल आफ्नो नाममा दुई पटक मात्र जित दर्ता गर्न सफल भयो । बिहीबार नेपालले भारतसँग २०औं प्रतिस्पर्धा गर्ने छ । दुई देशको खेलमा १३ पटकसम्म हावी भएको भारतलाई यसपटक नेपालले कस्तो टक्कर देला छ ? अबको केही घण्टामा नतिजा हाम्रोसामु आइपुग्ने छ । 

नेपालले १९९३ मा र २०१३ मा मात्र भारतलाई पराजित गर्न सकेको थियो । राजुकाजी शाक्यको कप्तानीमा नेपालले पहिलो पटक भारतलाई जितेको थियो । सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण जित्दा उनले कप्तानी सम्हालेका थिए । अतिरिक्त समयमा ४–३ गोलअन्तरले पराजित गर्दै नेपाललाई शाक्यको टिमले दक्षिण एसियाली खेलकुदमा स्वर्ण दिलाएको थियो ।     

यो खेलबारे पूर्वकप्तान समेत रहेका गणेश थापा भन्छन, ‘राजुजी राम्रो कप्तान त हुनुहुन्थ्यो नै राम्रो प्रशिक्षक पनि हुनुहुन्छ ।’ 

‘नेपालको स्थिति यस्तो थियो कि, नेपालले १९८१ भन्दा अगाडि भारतको राष्ट्रिय टोलीको कुरै छाडौँ सामान्य क्लबसँग पनि खेल्ने कल्पना गर्न सक्दैनथ्यो,’ थापा थप्छन् । 
जब नेपालले १९८१ मा भारतको क्लबलाई हराउन सक्यो, तबदेखि नेपालले भारतलाई जित्न सक्छ भन्ने आत्मविश्वास बढ्न थालेको उनको भनाइ छ । नेपालले भारतको यू २१ टोलीलाई ४–० ले हराएको थियो । यसपछि नेपालले भारतलाई सदैव दबाबमा राख्न थाल्यो । नेपालले साफ च्याम्पियनसिपदेखि दक्षिण एसियाली खेलकुदसम्मका खेलहरूमा टक्कर दिन थाल्यो ।  

१९८७ को खेलमा थापा स्वयम् कप्तान थिए । त्यसबेला पनि अन्तिम मिनेटमा गएर भारतसँगको खेलमा हार बेहोरेको उनी बताउँछन् । उनले भने, ‘भारत हामीभन्दा धेरै बलियो टोली हो, यो कुरा हामीले बिर्सन हुँदैन ।’ इतिहासदेखि नै नेपाली खेलाडी भारतको दबाबमा रहँदै आएको उनको भनाइ छ । तर, हरेक खेलमा नेपाली खेलाडीले आफ्नो शतप्रतिशत दिएको उनले बताए । 

‘भारत हिजो पनि माथि थियो । यसको अर्थ हामीले भारतलाई जित्नै नसक्ने भन्ने होइन । हामीमा क्षमता छ । आजको खेलमा नेपालले भारतलाई हराउन सक्छ,’ थापा भन्छन् । यसो भन्दै उनले नेपाली टोलीलाई शुभकामना पनि दिए । 



२०१३ को साफ च्याम्पियनसिपमा पनि नेपालले भारतलाई हराएको थियो । यसको कप्तानी गरेका सागर थापा भन्छन्, ‘हामी भारतलाई हराउन सक्छौं । भारत पहिलेदेखि नै बलियो टोली हो । तर, नेपालको नयाँ पुस्ताले भारतलाई हराउने क्षमता राख्छ ।’  

भारतसँगको खेल नेपालका लागि जहिले पनि ‘भारी’ नै हुन्छ । भारतको फिफा वरियतादेखि खेलाडीको व्यावसायिकता नेपालको भन्दा धेरै राम्रो छ । फिफामा भारत १०५ औं स्थानमा रहेको टोली हो भने नेपाल १६८ औं स्थानमा छ । 



पूर्व कप्तान थापा भन्छन्, ‘ २०१२ मा नेपालको टोलीले भारतलाई उनीहरुकै देशमा बराबरीमा रोकेका थियौं । त्यसै बेलादेखि नेपालको फुटबल टोली बलियो भएको भान भएको थियो । हामी आज पनि जित्न सक्छौं ।’ 

२०१३ मा भारतलाई पराजित गरेको क्षण सम्झँदै उनी भन्छन्, ‘त्यो बेला हामीले घरेलु मैदानमा उपाधि राख्छौं भन्ने विश्वास थियो । दुर्भाग्यवश हामी अफगानिस्तानसँग पराजित हुन पुग्यौं ।’ 

नेपालले जहिले पनि धेरै गोलको अन्तरले हारेको छैन । नेपालले भारतलाई टक्कर दिँदै आएको छ । उनी भन्छन्, ‘सुनील क्षेत्री हामीसँगै खेलेको खेलाडी हो । ऊ एकदमै राम्रो खेलाडी हो ।’ नेपाली टोलीमा आएको परिवर्तनप्रति विश्वस्त छन् उनी । उनले थपे, ‘नेपाली टोली पनि कम छैन । आजको खेल हाम्रो पक्षमा आउन सक्छ ।’ 

घरेलु मैदान नेपालका लागि फाइदाजनक 

घरेलु मैदान नेपाली टोलीका लागि धेरै भाग्यशाली रहेको छ । धेरै समयपछि नेपाली फुटबल टोलीले घरेलु समर्थकका माझ फुटबल खेल्ने मौका पाएको छ । पछिल्लो समय नेपालले घरेलु मैदानमा नै ‘थ्री नेसन्स कप’को उपाधि हात पारेको थियो । 

फुटबलका पूर्वकप्तानद्वयका अनुसार, घरेलु मैदानमा नेपालले खेल्दा जहिले पनि उत्कृष्ट नतिजा निकालेको छ । नेपाली खेलाडीका लागि नेपाली दर्शक तथा समर्थकले ऊर्जा थप्ने काम गर्ने उनीहरुको भनाइ छ । नेपाली टोलीले आज जित्न सक्ने विश्वास छ थापाको । 

 
उनले भने, ‘प्रशिक्षण कस्तो छ भन्ने चाहिँ थाहा छैन । तर, घरेलु समर्थक र नयाँ प्रशिक्षकको आगमनले आजको खेल जित्न सक्छ भन्ने कुरामा म विश्वस्त छु ।’
 

  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १६:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया