नेपाल टेलिकमले विदेशबाट आउने मिस्ड कलसँग सचेत रहन सूचना जारी गरेको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले विदेशबाट आउने मिस्डकलमा फोन गर्दा कल सफल भएपनि कोही नबोल्ने मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको व्यालेन्सबाट पैसा काटिने देखिएको भन्दै होसियार रहन आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ,‘केही दिन यता कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि पाइएको छ । टेलिकमले यस्तो घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने भएकाले मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन अनुरोध गरेको छ।’
कम्पनीले यस सम्बन्धमा आवश्यक विश्लेषणको कार्य भइरहेको पनि जानकारी दिएको छ ।
टेलिकमले यस्तो अवस्थाबाट बच्नका लागि कम्पनीले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्न अनुरोध गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।