भारतीय प्रशिक्षकले भनेजस्तै दशरथ रंगशालाको अवस्था खराब छ ?

बिहीबार नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल सकिएपछि भारतीय टिमका प्रशिक्षक इगोर स्टिमाचको प्रतिक्रिया थियो– खेल मैदान स्तरीय नहुँदा खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । 

दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको खेल १–१ को बराबरीमा सकिएपछि भारतीय प्रशिक्षकले यस्तो गम्भिर आरोप लगाएका थिए । 

दशरथ रंगशालामा यसअघि भारतभन्दा राम्रो तथा उत्कृष्ट टिमले नेपालसँग खेल खेलिसकेका छन् । तर फुटबल मैदान माथि यस्तो आरोप कसैले लगाएका थिएनन् । 

‘नेपालले खराब मैदान, रक्षात्मक रणनीति र काउन्टर अट्याकका कारण खेल बराबरी गर्न सक्यो । हामीले गम्भिर गल्ती पनि ग¥यौं जुन प्रकारको गल्ती हामी खासै गर्दैनौँ । नेपाली टिम काउन्टर अट्याक गर्न माहिर छ । यसकारण यसप्रकारको गल्ती हामीले फेरि गर्नु हुँदैन,’ पोष्ट म्याच कन्फ्रेन्समा स्टिमचले भनेका थिए । 

सन् १९९८ मा विश्वकप फुटबलमा क्रोएसिया तेस्रो हुँदा स्टिमच त्यस टिमका एक सदस्य थिए । यस्ता अनुभवी खेलाडी टर्न प्रशिक्षकले नेपालको फुटबल मैदानको बारेमा हल्का टिप्पणी गरिदिंदा यसले विश्व समुदायमा कस्तो सन्देश प्रवाह गर्ला ? भविष्यमा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालमा खेल्न आउने विदेशी टिममा कस्तो प्रभाव पर्ला ? यसबारे स्टिमच मात्र होइन अखिल नेपाल फुटबल संघ (एन्फा) पनि गम्भिर नभएको देखिन्छ । 

यदि एन्फा गम्भिर हुन्थ्यो भने उसले तुरुन्तै विज्ञप्ति जारी गरी भारतीय प्रशिक्षक स्टिमचले मैदानका विषयमा दिएको अभिव्यत्तिको खण्डन गरेको हुन्थ्यो । 
‘यसबारे एन्फामा आधिकारिक जानकारी आएको छैन,’ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले फरकधारसँग भने । 



शेर्पाको बुझाईमा भारतीय प्रशिक्षकले आफ्ना खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेपछि त्यसको बचाउमा उक्त अभिव्यक्ति दिएका हुन् । 

‘भारतले नेपालमा आएर खेल्न नसक्नु उनीहरुको केही प्राविधिक कारण हुन सक्छ । नेपालको मैदान अन्तराष्ट्रिय मापदण्ड अनुसारको छ । यसलाई दोष दिनु जरुरी छैन,’ शेर्पाले बताएका छन् । 



नेपालको मैदानमा केही समस्या नभएको तथा खाल्डाखुल्डी पनि नरहेको उनले दाबी गरे । ‘खेल अगाडी ४ घण्टासम्म रोलर लगाएर मैदान तयार गरिएको थियो । मैदानमा खाल्डाखुल्डी केही पनि थिएनन्,’ उनले बताए । 

भारतीय टोलीले मैदानमा खेल्न नसकेको अवस्थामा एन्फामा निवेदन दिनु पर्ने अथवा सम्बन्धित पक्षसामु  आफ्नो गुनासो राख्नुपर्ने थियो । यस बारे हालसम्म एन्फामा कुनै पनि गुनासो कसैबाट पनि नआएको अध्यक्ष शेर्पाले बताए ।  

  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १५:५५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया