[अन्तर्वार्ता] याे सरकारले हाम्रा सर्त सम्बाेधन गरेन भने हामी आन्दाेलनमा उत्रिन्छाैँ: महन्थ ठाकुर

नेपाली कांग्रेस पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका महन्थ ठाकुर जुट्दै, टुट्दै, फुट्दै अहिले नयाँ पार्टीका अध्यक्ष भएका छन्— लोकतान्त्रिक समाजवादी पार्टी । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर फुटाउन खोज्दा उनको दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर बनेको थियो, जनता समाजवादी पार्टी । तर, यसपटक राजनीतिक दल विभाजनका लागि सहज होस् भनेर ल्याइएको अध्यादेशकै आडमा त्यति बेला जुटेर बनेको जनता समाजवादी पार्टी फुट्यो । त्यसैको बाइप्रोडक्टका रुपमा अहिले लोकतान्त्रिक समाजवादी पार्टीलाई लिन थालिएको छ । अनि यसलाई नेतृत्व गरेका छन्, महन्थ ठाकुरले ।

नेपाली राजनीतिमा महन्थ ठाकुरलाई त्यसैले पनि केहीले अस्थिर भनेर विश्लेषण गर्छन्, केहीले आफ्नो स्वार्थकेन्द्रित नेता पनि भन्छन् । कांग्रेसको राजनीति हुँदै पार्टी गठन र विघटनमा सक्रिय भूमिकामा रहेका ठाकुरले समाजवादी पार्टीबाट अब टुक्रिएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि उनको राजनीतिक यात्रामाथि कस्तो विश्लेषण छ ? अहिलेको राजनीतिक परिदृश्य तथा यसका विविध आयामबारे उनले कसरी विश्लेषण गरेका छन् ?

फरकधारका प्रदेश २ संवाददाता दीपक कर्णले ठाकुरसँग यही विषयमा केही प्रश्नहरु गरेका छन् । त्यसको सम्पादित अंशः 

 

तपाईंले नेपाली कांग्रेस पार्टीबाट राजनीतिक यात्रा सुरु गर्नुभयो । अहिले चाहिँ विभिन्न पार्टी फेरेर, नयाँ खडा गरेर, विभाजित भएर र एकता गरेर लोकतान्त्रिक समाजवादी पार्टीको प्रमुख हुनु भएको छ । तपाईंको राजनीतिक यात्रा अस्थिर भएको आरोप लाग्ने गरेको छ, तपाईं आफैं चाहिँ आफ्नो यात्रालाई कसरी हेर्नुहुन्छ ?

यसमा अस्थिर हुने भन्ने कुनै कुरा भएन नि । म त मधेशको राजनीतिका लागि आएको थिएँ, आएको हुँ र अहिले पनि मधेशको राजनीतिमा नै म लागिरहेको छु । म हिजो कांग्रेसमा हुँदा मलाई त्यस्तो केही थिएन, म टप लेभलमा नै पुगिसकेको नेता भएको थिएँ ।



तर, म कुनै पद र प्रतिष्ठाको लागि आएको होइन, मधेशको राजनीतिमा । मलाई थाहा थियो, मधेशको राजनीतिमा लाग्दा मेरो पतन पनि हुनसक्छ, मैले भनेको पनि थिएँ– मेरो पतन हुन गइरहेको छ । तर, कहाँसम्म र कस्तो पतन भन्ने भविष्यले बताउँछ । 

त्यसैले मधेशको राजनीतिका लागि आएको म अस्थिर भन्ने कुनै कुरा आउँदैन, म जहाँ छु, अहिले पनि त्यहाँ नै छु । त्यसैले म स्थिर छु ।



 

लोकतान्त्रिक समाजवादी पार्टी बन्नुमा मधेश र मधेशी जनता, नेपाल र नेपाली होइन, तपाईं र राजेन्द्र महतोको व्यक्तिगत स्वार्थ हो भन्ने आरोप पनि लागिरहेको छ । यसबारे केही भन्नुहुन्छ ?

हेर्नुस्, यसमा विषयमा बुझिएको नै छैन । कसैले पनि बुझेको छैन । कस्तो स्वार्थ हुनु ममा ? म त सारा चिज छाडेर आएको छु, मेरो के स्वार्थ हुनु, कुन स्वार्थ हुनु ? 

अब नयाँ दल बन्नुमा वा मधेशको राजनीतिमा लाग्नुमा त्यस्तो के स्वार्थ हुन्छ र ? फेरि म सधैं जीवनभर मधेशको राजनीतिका लागि होमिएको छु, त्यसमा मेरो के स्वार्थ हुनु ?

अर्को कुरा, मेरो र राजेन्द्र महतोको विषयमा के फरक छ ? उहाँलाई जनताले कुन रुपमा हेरेको छ, त्यो मेरो होइन, जनताको सरोकारको विषय हो । अनि मलाई जनताले कुन रुपमा हेरेका छन्, त्यो मात्रै मेरो सरोकारको विषय हो । जनताको विचार ममाथि यस्तो छ भन्ने मलाई लाग्दैन ।

 

देशमा व्यवस्था परिवर्तन भयो, हामीले स्थायी सरकार र सत्ताको वकालत गरिरह्यौं । तर, बारम्बार प्रतिनिधिसभा विघटन गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तपाईंले साथ दिनुभयो । के यसमा पनि तपाईंको स्वार्थ मिसिएको थिएन ?

मेरो त्यसमा के स्वार्थ थियो र ? के स्वार्थ मिसिएको थियो त्यसमा भन्ने मलाई भन्नुहोस्, म त जनताको स्वार्थ लिएर केपी ओलीजीलाई समर्थन गर्न गएको थिएँ । अहिलेसम्म हाम्रो मधेश आन्दोलनका साथीहरु जेलमा छन् । तारिख बोकिरहेका छन् ।

हाम्रा मन्त्री र सांसदहरु अहिले पनि जेलमा छन् । तिनका लागि जति पनि प्रधानमन्त्री भएका छन्, उनीहरुसँग हाम्रो ३ बुँदे सम्झौता भएको छ । हामीले कि मुद्दा फिर्ता लिने कि जो जेलमा छन्, उनीहरुलाई रिहा गर्नु पर्ने सर्त राखेका छौँ । तर, अहिलेसम्म यो भएको छैन ।

मैले त वर्तमान प्रधानमन्त्रीलाई पनि भनिसकेको छु, यदी यी मागहरु सम्बोधन भएनन् भने हामी फेरि आन्दोलन गर्छौँ, फेरि आन्दोलन हुनसक्छ । 

अब यसमा मेरो के स्वार्थ हुन सक्छ, यो केको स्वार्थ हो ? यसमा कसरी मेरो व्यक्तिगत स्वार्थ भयो ? जसले मधेशको मागको लागि, मधेशको अधिकारको लागि संघर्ष गरे, उनीहरुको विषयमा आवाज उठाउनु, उनीहरुको विषयमा बोल्नु कसरी मेरो स्वार्थ हुन्छ, कसरी समग्र मधेशको स्वार्थ हुँदैन ? 

हेर्नुस् न, माओवादीहरूले हतियार उठाए, हजारौँको हत्या भयो, सशस्त्र द्वन्द्व भयो देशमा । तर, उनीहरुबाट प्रधानमन्त्री पनि भए । तर, हामी मधेशको लागि आन्दोलन गर्नेहरु किन जेलमा ? थारुहटको लागि आन्दोलन गर्ने नेताहरु अहिले पनि किन जेलमा ? 

अनि मैले उहाँहरुको विषयमा कुरा राख्नु, उहाँहरुको लागि बोल्नु मेरो स्वार्थ हो ? उहाँहरुको कुरा लिएर सत्तामा रहेका व्यक्तिसँग सम्झौता गर्नु कसको स्वार्थ हो ?

 

अघिल्लो दिनसम्म ओली सरकारलाई साथ दिइरहनु भएको तपाईं र तपाईंको समूहले ३ साउनमा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय अचानक गर्यो ? यो युटर्न किन ?

मैले अहिलेसम्म ओलीजीसँग कुनै पनि किसिमको लिखित सम्झौता गरेको थिइनँ, कसैसँग पनि लिखित सम्झौता गरेको छैन । मैले प्रचण्डजीको समयमा नै जे भनेको थिएँ, अहिले पनि ती वाक्य र शब्दहरु प्रचलनमा छन् । मैले भनेको थिएँ— उधारो होइन, नगद ।

मैले भनेको थिएँ— काम गरेर देखाइदिनुस्, किन लेखपढ गर्नुपर्यो ?

शक्तिमा भएको मानिस, जसको अधिकार छ, जसले गर्न सक्छ, उसको साथमा सम्झौता कस्तो ? अब धेरै सम्झौता भयो, सम्झौता गरिरहनु आवश्यकता नै छैन । मधेशसँग भएको सम्झौताको त एउटा किताब नै तयार हुन सक्छ । तर, कार्यान्वयन गर्ने समयमा, लागू गर्ने समयमा ढिलासुस्ती मात्र भइरहेको छ । त्यो त शेरबहादुर जी प्रधानमन्त्री हुनासाथ मैले बधाई पनि दिएँ र आफ्ना माग पनि राखेँ । मधेशको मागका लागि शेरबहादुरजीलाई बधाई दिएको हुँ, म मधेसकै मागका लागि लागेको छु, त्यसैले यसमा कुनै युटर्न छैन ।

 

काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई महिना पुग्न लागिसकेको छ । तर, यसले पूर्णता पाएको छैन् । तपाईंहरुको पनि समर्थन रहेको यो सरकारले करिब दुई महिनामा के गरेको छ जस्तो लाग्छ ?

सरकारले के गरेको छ त्यो त जनताले मूल्याङ्कन गरिरहेको छ नि । दुई महिना भइसक्यो अहिलेसम्म मन्त्रिपरिषद् पूर्णरुपमा बनिसकेको छैन, अहिलेसम्म स्थिरता आएको छैन । 

यो कति दिनसम्म रहन्छ त्यसमाथि पनि प्रश्नचिन्ह छ । हाम्रो प्रधानमन्त्री शेरबहादुर जीले आफ्नै गठबन्धनभित्र दुई किसिमको समस्या अहिले झेलिरहनुभएको छ । एउटा उनको पार्टी महाधिवेशनको समस्या छ भने अर्को सरकारको । सरकार नै पूरा हुन सकेको छैन । मन्त्रिपरिषद् बनिसकेको छैन

अहिले पनि अनेक किसिमका समस्याहरु रहेका छन्, आपसमा तानातान बाँकी नै छ । यी अनेक किसिमका समस्याका कारण नेपालमा स्थिरता आउन सकेको छैन ।

तपाईंहरु पछिल्लो समय प्रधानमन्त्री देउवासँग निरन्तर सम्पर्कमा हुनुहुन्छ, छलफलमा हुनुहुन्छ । के तपाईंहरु पनि सरकारमा सहभागी हुँदै हुनुहुन्छ ?

सरकारमा जाने नजाने विषयमा कुनै कुरा भएको छैन । मधेशको जुन हाम्रा माग छन्, प्रधानमन्त्री देउवाजीसँग हाम्रो त्यसमा मात्रै कुराकानी भएको छ, त्यही विषयमा मात्र हामीले आफ्नो कुरा राखिरहेका छौँ ।

 

अब लागौँ जसपासँगको यात्रा र लोसपा गठनको विषयमा । तपाईंहरु एक हुँदा नै दल र तपाईंहरुका मुद्दा बलियो हुने थिए । तर, के कारणले तपाईंहरु केही महिनाअघि मात्र बनेको जसपालाई बचाएर अगाडि बढ्न सक्नु भएन ?

केही सैद्धान्तिक तरिका, केही काम गर्ने तरिका अलग अलग थियो । हाम्रो जुन संस्कृति छ त्यो डेमोक्रेसीको लागि संघर्ष गरेको हो । हाम्रो पार्टीको कामकाज हामी लोकतान्त्रिक बाटोबाट गरिरहेका छौं । उपेन्द्र जीको केही फरक तरिका थियो हामीभन्दा । जसपा त हामीले न बनाएको हो ।

हामी गएर नै त्यो जसपा भएको हो । कि होइन ? पहिला त त्यो समाजवादी पार्टी थियो नि । तर, एकीकरण भइसके पछि पनि उनको (उपेन्द्र यादव)को एक्लै काम गर्ने आदत, जहाँ पनि एक्लै जाने, एक्लै निर्णय गर्ने । बिस्तारै बिस्तारै यसले गर्दा दूरी बढ्दै गयो र अन्त्यमा विवादको रुप लियो । त्यसकारण हामी अलग भयौं । 

 

प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले ल्याएको अध्यादेशका कारण तपाईंहरुले जसपा गठन गर्नुभयो, त्यति बेला त्यसको धुवाँदार विरोध गर्नुभयो । तर, अहिले पार्टी बनाउन फेरि त्यस्तै अध्यादेशको खाँचो पर्यो, यो अध्यादेशलाई तपाईंहरुले समर्थन गर्दै हुनुहुन्छ ? आफ्नो स्वार्थमा हुँदा एउटै विषयमाथि फरक फरक मत र विचार किन ?

सुरुमा अध्यादेशबारे कुरा गरौँ । हामीले नागरिकताको विषयमा पनि माग गरेका थियौँ । नागरिकताको पनि अध्यादेश आएको हो । सर्वोच्चले त्यसलाई खारेज गरिदियो । के नागरिकता आवश्यकता होइन मधेशको, यो देशको, कि यो पनि गलत हो ? अध्यादेश पनि एउटा कानून हुन्छ । र उसको एउटा सिमित अवधि हुन्छ ।

जबसम्म संसद छैन, त्यति बेलामा आवश्यकता पर्दा अध्यादेश आउँछ, संसदको सेसन सुरु भएपछि पहिलो दिनमा नै संसदमा त्यो प्रस्तुत पनि हुन्छ, गर्नु पर्छ । त्यसपछि यदि विधेयकको रुपमा त्यो आयो भने ठिकै छ नआए ६० दिनसम्म त्यो कानून नै रहन्छ । कानूनको रुपमा काम गरिरहन्छ । ६० दिनमा विधेयक बनेन भने उसले गरेको काम समाप्त हुन्छ । उसको समयअवधि समाप्त हुन्छ ।

कानुनको कुरामा हामीले कहिल्यै विरोध गरेका छैनौँ, अध्यादेशको विरोध गरेका छैनौँ ।

 
मधेसवादी दल पनि टुट्ने फुट्ने क्रम जारी छ, यसले मधेशका माग झनै कमजोर पार्दैन ?

यसै समयमा त मधेशका १ सय ३९ जना मुद्दाबाट मुक्त भएका छन् । टुटफुटको के कुरा भयो यो त रोग हो पार्टी सिस्टमको । कुन पार्टीमा छैन विभेद ? मलाई यो भनिदिनुहोस् त, सबभन्दा ठूलो त जो सरकारमा थियो, जसको दुई तिहाई बहुमत थियो, त्यो पनि एक रहन सकेन ।

त्यो पार्टीको समस्याले अहिले पूरै देश पीडित भएको छ ।

 

नागरिकता विधेयक आयो, फेरि त्यसलाई सर्वोच्चले रोकिदियो । नागरिकताबारे तपाईंको पार्टीको बटमलाइन के छ ?

हामी त्यसकै लागि त अहिलेसम्म यति ठूलो संघर्ष गरिरहेका छौँ । यही नागरिकताको विषयमा नै त हामी ३ वर्षदेखि संघर्षमा थियौँ, आज पनि हामी यसका लागि नै संघर्षमा छौँ ।

त्यति बेला संसदले नमानेपछि हामीले अध्यादेश ल्याउन आग्रह गर्यौँ । तर, सर्वोच्चले फेरि रोकिदियो त्यसलाई । यसमा अब मैले के गर्ने ? मेरो हातमा कसैलाई नागरिकता दिइहाल्ने कहाँ शक्ति छ ? 

त्यो त एउटा प्रक्रिया हो, सरकारले दिने हो, राज्यले दिने हो । जोसँग नागरिकता छैन, उसको कानूनी अस्तित्व हुँदैन । ऊ त अस्तित्व विहिन हुन्छ, राज्यविहीन हुन्छ । हाम्रो यहाँ देवीदेवताको पनि अस्तित्व छ । भगवानको नाममा पनि जग्गाजमिन हुन्छ । तर, जो व्यक्ति यहाँ जन्मेको छ, जो सामाजिक जीवनमा भाग लिइरहेको हुन्छ, त्यसको कुनै अस्तित्व नै हुँदैन नागरिकताबिना । राजनीतिक जीवनमा उसले केही गर्न नै पाउँदैन । त्यसैले यसका लागि म संघर्ष गरिरहेको छु, गरिरहनेछु । 

अहिले त केही राजनीतिक स्वार्थहरु नमिल्दा तपाईहरु जसपाबाट अलग हुनुभयो । अब भविष्यमा जसपासँगको एकताको सम्भावना कत्तिको छ ?

त्यो अध्याय नै खत्तम भइसक्यो अब । निर्वाचन आयोगमा म गएको होइन नि पहिले । आयोगमा उपेन्द्र जी जानु भएको थियो । मैले त्यहाँ पनि कुरा गरेको थिएँ कि मिलनबिन्दु छ भने खोजौँ । निर्वाचन आयोगले पनि दुबै पार्टीबीचको विवाद मिलाउन भूमिका निर्वाह गर्यो ।

तर, उपेन्द्रजीले विधि र नियम अनुसार आयोग अगाडि बढोस् भन्दै अडान राखेपछि हामीले के गर्ने ? उहाँले मिलनको विन्दू स्वीकार नै गर्नु भएन । यस्तो भएपछि हामी कहाँ मिल्ने ? कोसँग मिल्ने ? हामीले अलग हुनका लागि होइन, जुट्नका लागि पार्टी एकीकरण गरेका थियौँ । तर, उपेन्द्रजीको हठका कारण त्यो सम्भवन हुन सकेन ।

 

त्यसो भए अब एकता कुनैपनि हालतमा सम्भव छैन ? 

छैन्, छैन् । अब त्यो कदापी सम्भव छैन ।
 

  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार ८:५८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया