पछिल्लो ८० दिनमा देशका बिभिन्न ठाउँमा बाढी-पहिरोबाट दैनिक एक जना भन्दा बढीको मृत्यु भएको पाइएको छ ।
मुलुकका बिभिन्न जिल्लामा जेठ ३० गतेपछि आएको बाढीपहिरो र डुबानमा परी सय जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
मनसुनजन्य विपद्बाट गत जेठ ३० गतेदेखि भदौ १८ गतेसम्मको ८० दिनको समयमा ११६ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
साढे दुई महिना भन्दा बढीको यो अवधिमा मृत्यु भएकाहरुमध्ये सबै भन्दा बढी पुरुष छन् । मृत्यु भएकामध्ये ५३ जना पुरुष छन् । यसैगरी मृत्यु हुनेमा ३४ जना महिला, १३ जना बालक र १६ जना बालिका रहेको प्रहरीले जनाएको छ ।
बाढी-पहिरोबाट सिन्धुपाल्चोक, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की, काभ्रेसहितका जिल्लामा धेरै जनाको मृत्यु भएको छ ।
बाढीपहिरो र डुबानमा परी योबीचमा १ सय ३६ जना घाइते भएका छन् । तीमध्ये ६८ जना पुरुष, ३७ जना महिला, २० जना बालक र ११ जना बालिका रहेका छन् ।
प्रहरीका अनुसार यो वर्ष बाढीपहिरोमा परी ३१ जना बेपत्ता भएका छन् । वेपत्ता हुनेमा १९ जना पुरुष, ६ जना महिला, ५ जना बालक र १ जना बालिका रहेका छन् ।
यसैगरी बाढीको कारण ३ हजार १ सय ८२ वटा घर डुबानमा परेका छन् । ९ सय ७८ वटा घर, १ सय ६४ वटा गोठ, ६६ वटा पुल, ८ वटा विद्यालय र १५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने १ हजार ३ सय ३ वटा पशु चौपायाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ ।
८० दिनको अवधिमा भएका जम्मा एक हजार ३४५ वटा विपद्का घटनाबाट एक हजार २६९ वटा घर परिवारका ६ हजार १ सय ११ जना मानिस विस्थापित भएको प्रहरीले जनाएको छ ।
दश वर्षमा कति क्षति ?
नेपालमा बाढी-पहिरोबाट पछिल्लो १० वर्षमा करिब दुई हजार जनाको मृत्यु भएको आँकडा छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार ०६८ देखि ०७७ सम्म बाढी-पहिरोबाट १८९६ जनाले ज्यान गुमाएका छन् ।
किन सधै बाढीपहिरो ?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले जलवायु परिवर्तनका कारणले बाढीपहिरो जस्ता विपद्का घटना बढेको जनाए । उनका अनुसार मुख्यतः पछिल्लो समय हुँदै गएको जलवायु परिवर्तनले गर्दा यस्ता घटना बढ्दै गएको छ ।
यसको साथै कमजोर बनावट र धैरै पानी पर्ने गरेकोले मुलुकभित्र बढी बाढीपहिरो आउने गरेको उनको भनाइ छ ।
‘देशमा वर्षभरिमा पर्नुपर्ने पानी १ हजार २ सय मिलीमिटर हो, यसको तीन भागमा हेर्ने हो भने चार महिनामा ४ सय मिलीमिटर पर्न आउँछ । तर यो चार महिनामा पर्नुपर्ने ४ सय मिलीमिटर पानी एक रातमा (४ सय ३१ मिलीमिटर) परेको छ । धेरै पानी पर्दा जमिन भिजिसकेको हुन्छ, अनि पानी जमिनले सोस्न सक्दैन् । जसले गर्दा त्यो पानी बगेर जान्छ, अनि बाढीपहिरो निम्त्याउँछ,’ पोखरेलले भने ।
मूलतः यही कारणले मुलुकमा वर्षेनि बाढीपहिरो आउने गरेको उनको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।