जसपालाई बाइपास गरेर कुनै शक्ति अगाडि बढ्न सक्दैन: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अबको देशको राजनीतिक दिशानिर्देश जसपाले गर्ने दाबी गरेका छन् । 

जसपा नेपालको जनकपुरधाममा बसेको प्रदेश २ संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष यादवले नेपाली राजनीतिमा जसपा नेपाललाई बाइपास गरेर अब कुनै पनि शक्ति अगाडि बढ्न नसक्ने ठोकुवा गरे । 

'हामी अब त्यो अवस्थामा पुगिसकेका छौं कि हरेक ठाउँमा जसपासँग साझेदारी गरेर मात्र कुनैपनि राजनीतिक शक्ति अगाडि बढ्न सक्छ,' उनले भने । 

उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राजनीतिक शक्ति कदापी बन्न नसक्ने समेत जिकिर गरे । लोसपाले मधेशमा लोभ, लालच र भ्रमको खेती गरिरहेको उनको आरोप थियो । 

उनले भने, 'जुन दिन महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका केही नेताहरु केपी ओलीको पछाडि लागे त्यस दिन नै उनीहरूको पतन भइसक्यो ।' 

पूर्वराजपाका ८० प्रतिशत भन्दा बढि नेता कार्यकर्ताहरु जसपामै रहेको अध्यक्ष यादवले दावी गरे । 
 
लोकतान्त्रिक समाजवादी पार्टीतर्फ आफ्ना केही प्रदेशसभा सदस्यहरूले सनाखत गर्न थालेपछि सांसदहरूको परीक्षण गर्न जसपाले संसदीय दलको बैठक बोलाएको थियो ।



बैठकमा संगठन सुदृढिकरण एवं जनजागरण अभियानलगायत प्रदेश सरकारको गतिविधिबारे समेत छलफल गरिएको थियो । 

जसपाको प्रदेश २ संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा अधिकांश प्रदेश सांसदहरूले प्रदेश सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारलाई आफ्नो गतिविधि सुधार्न र कमिकमजोरीहरुलाई आत्मसात् गर्न आग्रह गरेका थिए । 



बैठकमा जसपाका नेताहरु महेन्द्र राय यादव, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, रेणु यादवलगायत पार्टीका कार्यकारिणी सदस्य तथा प्रदेश सांसदहरूको उपस्थिति रहेको थियो ।
 

  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार ९:०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया