‘लुकेर बसेका छन् अफगानिस्तानमा महिला क्रिकेटर’

अफगानिस्तानको राजधानी काबुलमा तालिबानले कब्जा जमाएपछि महिला क्रिकेटरहरु लुकेर बाँच्न थालेका छन् । तालिबानले महिला क्रिकेटरलाई खोजी गर्न थालेपछि उनीहरु लुकेर बसिरहेको अफगानी महिला क्रिकेटर एसेल (नाम परिवर्तन गरिएको)ले बताएकी छन् । 

‘क्रिकेट वा अन्य खेल खेल्ने हरेक महिला अहिले सुरक्षित छैनन्, काबुलमा स्थिति धेरै खराब छ,’ उनी भन्छिन्, ‘ह्वाट्सएपमा हाम्रो एक समूह छ र हरेक रात हामी हाम्रा समस्याहरूबारे कुरा गरिरहेका छौं । के गर्नुपर्छ भनेर योजनाहरु साझा गरिरहेका छौं । हामी सबै निराश छौं ।’

अगस्टमा तालिबानले काबुल प्रवेश गरेपछि एसेल आफ्नो घरबाहिर एकदमै कम जान्छिन् । एसेल र उनका साथीहरुको जिन्दगी त्रासमा बितिरहेको छ । उनी क्रिकेट खेल्नु त परै जाओस्, क्रिकेट किटबाट पनि निकै पर बस्छिन् । उनी र उनका साथीहरुले लामो समयदेखि क्रिकेट खेल्नका लागि गरेको त्यो त्याग अब विस्तारै व्यर्थ हुन थालेको जस्तो लाग्न थालेको छ ।  

उनका केही साथीहरूमाथि तालिवानका मानिसले ध्यान दिइरहेका छन् । उनी भन्छिन्, ‘त्यो गाउँ जहाँ उनीहरु क्रिकेट खेल्छन्, उनीहरुलाई चिनेका केही मानिसहरु तालिवानसँग काम गरिरहेका छन् । जब तालिबान यहाँ आए र काबुल कब्जामा लिए, तब उनीहरुले मेरा साथीहरुलाई धम्की दिए ।’ महिलाले फेरि क्रिकेट खेल्ने कोसिस गरेमा उनीहरुलाई मार्न सक्ने धम्की तालिबानले दिएका थिए । ‘यस्तो अवस्थामा कसरी क्रिकेट खेल्ने ?’ दुःखी हुँदै उनी भन्छिन् । 

पूर्व अफगानी महिला क्रिकेटर ताक्वा (नाम परिवर्तन) पनि अफगानी महिला क्रिकेटको भविष्य अब के  होला भन्ने त्रासमा छिन् । उनी धेरै वर्षसम्म अफगान महिला क्रिकेटमा संलग्न थिइन् । अफगानिस्तानको राजधानी काबुल तालिबानको कब्जामा गएपछि उनले देश छाडिन् । काबुलमा एक सातादेखि घरमा थुनिएर रहेकी उनले केही समय त तालिबानले आफ्नो घर थाहा पाउलान् भन्ने डरमा घर नै परिवर्तन गरिन् । उनका बाबुलाई तालिबानले फोन गरेर उनको बारेमा सोध्ने गर्थे । तर, उनका बाबुले छोरीसँग आफ्नो सम्पर्क नभएको बताउँदै आएका थिए ।   

उनी भन्छिन्, ‘म अब के हुन्छ भनेर सोच्न चाहन्नँ । जब तालिबान काबुल आए, एक सातासम्म मैले केही पनि खाइँन, मलाई निद्रा पनि लागेन।’ 



तक्वा थप्छिन्, ‘म केवल आफ्नोबारे मात्र सोचिरहेकी थिएँ । म अन्य महिलाको बारेमा पनि निकै चिन्तित थिएँ । किनकि उनीहरुको जीवन र पढाइ त्यसै बर्बाद भइरहेको थियो । कतिले त विवाह पनि गरेनन्, अफगानिस्तानको लागि क्रिकेट खेल्न सकूँ भनेर । म त्यही भएर उनीहरुबारो निकै चिन्तित छु ।’

अर्की पूर्व महिला क्रिकेट खेलाडी हरिर (नाम परिवर्तन)ले बिबिसीसँग अफगानिस्तानमा महिला क्रिकेट खेल्नुको कारण विकेट लिनु र रन बनाउनुभन्दा धेरै माथि भएको बताइन् । उनले क्रिकेट रहरमा मात्रै रोजेकी थिइनन् । क्रिकेट रोज्नु भनेको उनको हिम्मतको प्रतिबिम्ब थियो । उनी भन्छिन्, ‘जतिबेला म क्रिकेट खेल्थेँ, त्यतिबेला म केवल एउटा सशक्त महिलाको भाव मनमा राख्थेँ । मेरो भित्री आत्मविश्वास एकदम बलियो थियो । म आफैंलाई गौरवान्वित ठान्थेँ । यस्तो लाग्थ्यो, एउटा महिलाको रुपमा म जे पनि सजिलै गर्न सक्छु । आफ्नो सपनालाई साकार गर्न सक्छु ।’



तर, हरिर तथा अफगानिस्तान महिला टिमका बाँकी खेलाडीको सपना अधुरै रहने चिन्ता छ । एक वर्षअगाडि उनीहरुमा सपना साकार हुने विश्वास थियो । अब उनीहरु आफ्नै सुरक्षालाई लिएर लुक्दै अनि त्रसित जीवन बिताउन बाध्य बनेका छन् । 

(बिबिसी)
 

  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १४:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया