कुशल, आशिफ र विक्रमले गरे एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु

नेपालले आज(मंगलबार) पपुवा न्युगीनीसँग एक दिवसीय अनतर्राष्ट्रिय खेल खेल्दैछ । यहि खेलमार्फत नेपालका कुशल भुर्तेल, आशिफ शेख र विक्रम सोबले एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् । 

कुशल भुर्तेल र आशिफ शेखले भने टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि खेलिसकेका छन् । यी दुवै आज पनि ओपनिङ ब्याट्म्यानकै भूमिकामा मैदान उत्रिने छन् । नेपालका तर्फबाट विक्रम सोबको भने पहिलो अन्तर्राष्ट्रिय खेल हो । 

नेपालले पपुवा न्युगीनीसँग टस हारेर फिल्डिङ गरिरहेको छ । अल अमरेत क्रिकेट मैदान ओमानमा पिएनजीका कप्तान असाद भालाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दीपेन्द्रसिंह ऐरी पहिलो खेलमा टोलीमा छैनन् । नेपालले करण केसी, विनोद भण्डारी लगायतका खेलाडीलाई आराम दिएको छ ।

नेपालले आईसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि तयारी स्वरुप पिएनजीसँग दुई ओडिआई खेल खेल्न लागेको हो । पिएनजीसँग दुई ओडिआई खेलपछि नेपालको सम्पूर्ण तयारी पूरा हुनेछ । नतिजाले वरीयताबाहेक अन्यमा खासै फरक नपर्ने हुँदा टोलीमा कुनै दबाब छैन । यो खेल कमजोरी पहिचान र सुधार गर्ने राम्रो अवसर हुने छ ।

तीव्र गतिका बलर विक्रम सोब यसअघि नेपाली टोलीमा परेर पनि डेब्यू गर्न पाएका थिएनन् । विक्रम घरेलु प्रतियोगितामा राम्रो प्रदर्शनको साथ चार वर्षपछि पुनरागमन गरेका थिए । आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिप २०१५–१७ अन्तर्गत २०१६ मा उनी नेदरल्यान्ड्स भ्रमण गरेका थिए । २०१७ मा विक्रम यूएई भ्रमणमा गएका थिए । तर खेल्ने मौका पाएनन् ।

नेपालका लागि सुरुवाती ११



ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, शरद भेषवाकर, आशिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, सन्दीप लामिछाने, विक्रम सोब, रोहितकुमार पौडेल, पवन सर्राफ

 
 



  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार ११:३९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया