हामीलाई यहाँसम्म आइपुग्न बुबाले खम्बाको काम गर्नुभएको छ : सन्तोषी श्रेष्ठ

एट्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ नेपाली खेलकुदका लागि परिचित नाम हो । उनले सन् २०१९ मा घरेलु भूमिमै भएको १३ दक्षिण एसियाली खेलकुद (साग) मा देशका लागि १० हजार मिटर दौडमा स्वर्ण दिलाएकी थिइन् ।

सन्तोषी नेपाललाई सागमा स्वर्ण दिलाउने पहिलो धाविका हुन् । हामीले भाद्र कृष्ण औँसी ( बाबुको मुख) हेर्ने दिनको अवसर पारेर उनीसँग कुराकानी गरेका छौँ । संन्तोषीको बुबासँगको सम्झना उनकै शब्दमा :

मसँग बाल्यकालमा बुबासँग बिताएको सुनाउन कुनै सम्झना छैन । जागिरका कारण हामी सानै छँदा बुबा त्यति घरमा बस्नु हुँदैन थियो । हामीले राम्रोसँग समय बिताउने मौका नै पाएनौँ । उहाँ नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । 

बुबासँग खासै रमाइला सम्झना नभए पनि म बोल्न भने डराउँदिन थिए त्यसैले घरका अरु सदस्यको उहाँसँग केही काम परे मैले नै भनिदिनु पथ्र्यो । 

हामी काठमाडौँ आएपछि उहाँ बिदामा बेला बेलामा भेट्न आउनु हुन्थ्यो । उहाँ आएको बेलामा खाना पनि पकाउनु हुन्थ्यो । 

एक दिन भने बुबाले झुक्किएर चिनी हालेर खान बनाउनु भएछ त्यो क्षण भने म अझै पनि सम्झिरहन्छु ।



बुबा धादिङमा हुँदा आमा हजुरआमाको अगाडि कहिल्यै पनि भान्सामा छिर्नु भएको थिएन तर काठमाडौँमा हामी मात्र हुँदा खाना बनाउनु हुन्थ्यो ।

मलाई बुबाले पनि खाना बनाउनु हुन्छ भन्ने लागेको थिएन । तर पहिलोपटक काठमाडौं आउँदा उहाँले खाना बनाएको देख्दा अचम्म लागेको थियो । उहाँले हामीलाई आमाको माया दिनुभयो । 



हामीले आमासँग भन्दा त बुबासँगै बढी समय बिताउने अवसर पायौँ । आमा त बिरामी भएको बेलमा मात्र काठमाडौँ आउनु हुन्थ्यो तर बुबा बेलाबेलामा आइरहनु हुन्थ्यो ।  
काठमाडौँ आएको पहिलो वर्ष उहाँ हामीसँगै बस्नु भएको थियो । बुबा हामीसँगै भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । आएको बेलामा साथै रहँदा त त्यति बास्ता हुँदैन थियो तर फर्कने समयमा भने नगए पनि हुन्थ्यो भन्ने सोच्थे । 

हामी सानैदेखि आमा र हजुरआमासँग हुर्किएकाले उहाँहरुको साथ धेरै प्यारो लाग्थ्यो । उहाँ नहुदाँ पनि केही खल्लो लाग्थ्यो । बुबा आउदा पाहुना आउने भएकाले बढी काम गर्नुपथ्र्यो । उहाँ आउँदा अब त काम पनि बढ्छ भन्ने सोच्थे । 

उहाँ जाने बेलामा नरमाइलो लागेता पनि हामीले बुझेका थियौँ कि सबै जनासँगै बस्न सम्भव छैन । हाम्रो घरमा मात्र यस्तो होइन । त्यसैले हामीलाई त्यति धेरै पीडा त भएन तर बुबासँगै हुने भएको भए अझै सजिलो हुन्थ्यो होला भन्ने लाग्थ्यो । 

खेल क्षेत्रमा लाग्न बुबाकै प्रेरणा

सान्तोषी बुबाकै कारण आफू खेल क्षेत्रमा लागेको बताउँछिन् । मलाई खेल क्षेत्रमा लगाउन बुबाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँले हामीसँग समय बिताउन नपाए पनि हाम्रो हर चाहानालाई पूरा गर्ने प्रयास गर्नुभएको छ । 

उहाँ सेनाको जागिरमा कर्मचारीतर्फ भएकाले त्यति परेड खेल्नु पर्दैन भन्नु हुन्थ्यो । मलाई कुनै शारीरिक व्यायाम गर्नुपर्दा दौडिन सजिलो लाग्छ भनेर सुनाउनु हुन्थ्यो । सायद त्यसैको प्रभाव हुन सक्छ म यही क्षेत्रमा छु । 

म पहिलोपटक दौडिँदा बुबा खेल सकिएपछि पुग्नु भएको थियो । मैले स्कुल बाहिर पहिलोपटक सहभागिता जनाएको खेल हेर्न उहाँ पनि पुग्नुभयो । 

अरुले छोरी मान्छे भए पनि के दौडिएको होल भनेर कुरा लगाउथे । तर बुबाले त्यस्तो कहिल्यै सोच्नु भएन । जुत्ता नभएको बेलमा पसल पसल चहारेर भए पनि किनिदिनु हुन्थ्यो । जसरी पनि सहभागी हुनुपर्छ भनेर हौसला बढाउनु हुन्थ्यो । 

बुबा मैले खेल्दा, जित्दा एकदम खुसी भएर अरुलाई सुनाउनुहुन्थ्यो । यो कारणले पनि मलाई यो क्षेत्रमा टिकाउन मद्दत गरेको छ । 

खेलमा मात्र नभएर मेरो पढाइमा पनि बुबाको निकै महत्वपूर्ण भूमिका छ । उहाँले काठमाडौँ ल्याएर नपढाउनु भएको भए सायद म गाउँ तिरै अल्मलिएर बसिरहेको हुन्थे  होला ।

बुबाले कम तलब भएको बेलामा पनि जोखिम मोलेर हामीलाई काठमाडौँमा  पढाउने निर्णय गर्नुभयो । 

भाइ र दाइसँगै काठमाडौँ पढ्न पठाउने बेलामा गाउँलेले छोरीलाई किन शहर पठाउनु पर्‍यो भनेका थिए । तर उहाँले छोरीलाई पनि पढाउनुपर्छ भन्ने सोचेर यहाँ ल्याउनुभयो ।

काठमाडौँ जस्तो ठाउँमा बच्चाहरुलाई मात्र छोड्नु त्यति सहज छैन । तर उहाँ हाम्रो भविष्य उज्वल होस् भनेर हामीलाई यहाँ ल्याएर छाड्नुभयो । 

खेल र पढाइसँगै अहिले मैले जुन जीवन बाँचिरहेको छु त्यो बुबाकै देन हो । उहाँ कै निर्णयका कारण म अहिले यो ठाउँमा छु । 

त्यो बेला यदी बुबाले हुँदैन भन्नु भएको भए म काठमाडौँ आउन पाउने नै थिइनँ र यहाँ नआएको भए खेल क्षेत्रमा लाग्ने सम्भावना नै थिएन । घरका मान्छेहरु पनि उहाँ मै निर्भर थिए त्यसैले उहाँले जे भन्यो त्यही लागू हुन्थ्यो । मेरो जीवन बनाउन बुबाले खेलेका भूमिकालाई शब्दमा बयान गर्नै सकिँदैन । 

बुबाले हामीलाई यहाँसम्म ल्याउन खम्बाको काम गर्नु भएको छ । उहाँकै कारणले आज हामी यहाँ छौँ ।   

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १४:६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया