बिपी प्रतिष्ठान सुधार आन्दोलन : अस्पतालको प्रांगणमै ओपिडी सेवा

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अस्पतालको प्रांगणमै ओपिडी सेवा सुरु भएको छ । प्रतिष्ठानमा सुधारको माग राख्दै संघर्षरत पक्षले यसअघि आइतबारबाट सेवा बहिष्कार सुरु गरेको थियो । सरकारले सहमति कार्यान्वयन नगरेपछि संयुक्त संघर्ष समितिले पुनः आन्दोलन चर्काएको हो ।  

साउन १९ गते माग पूरा गर्न तयार भएको सरकारले सहमतिपछि कुनै चासो नदेखाएको भन्दै संघर्ष समितिले पुन सेवा बहिष्कारको आन्दोलन सुरु गरेको हो । 

सेवा बहिष्कार गर्दा बिरामी मर्कामा पर्ने भन्दै चौतर्फी आलोचना भएपछि आन्दोलनरत चिकित्सकले मंगलबारबाट अस्पतालबाहिरै ओपिडी सेवा सुरु गरेका छन् । ​अस्पतालअगाडिको प्रांगणमा ओपिडी सञ्चालन गरिएको छ ।

सोमबार आन्दोलनको विरोध भएपछि मंगलबार अस्पताल बाहिरपट्टि ओपिडी सेवा सञ्चालन गरेको संघर्ष समितिका संयोजक डा. एसपी रिमालले जानकारी दिए । सोमबार सेवा छाडेर आन्दोलनमा गएको भन्दै सेवाग्राहीले विरोध गरेका थिए । 

सेवा बहिष्कार हुँदा अप्रेसन गरिहाल्नुपर्ने बिरामीको समेत अप्रेसन हुन सकेको छैन । नियमित फलोअपमा रहेका बिरामी पनि समस्यामा परेका छन् । 

चिकित्सकहरूले आकस्मिक र कोभिड उपचारबाहेकका सेवा बहिष्कार गरेपछि प्रतिष्ठानमा दैनिक तीन हजारको हाराहारीमा दिइँदै आएको बहिरंग सेवा प्रभावित भएको थियो । 



प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले तयार पारेको स्थलगत प्रतिवदेनअनुसार काम–कारबाही नभएको भन्दै आकस्मिक सेवा, कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेक अन्य सेवा आइतबार र सोमबार बन्द गरिएको थियो । 

कार्यदलले प्रतिवेदन बुझाएको एक महिना बितिसकेको छ भने आन्दोलनकर्मीसँग स्वास्थ्य मन्त्रालयले सम्झौता गरेको पनि एक महिना पूरा भएको छ । 



तर, कार्यदलको प्रतिवेदनले दोषी औँल्याएका पदाधिकारीलाई कारबाही भएको छैन । छानबिन गर्ने, तर प्रतिवेदन कार्यान्वयन नगर्ने प्रवृत्ति दोहोर्याएका कारण फेरि संघर्षमा उत्रिनु परेको समितिको भनाइ छ ।  

संयोजक रिमालले सरकारले गरेको ६ बुँदे सहमति समेत कार्यान्वयनमा नगएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए । निरन्तर ८५ दिनको आन्दोलनपछि साउन १९ गते मध्यरातमा सरकारले ६ बुँदे सहमति गरेको थियो । 

विवादमा परेका सबै पदाधिकारी हटाउने प्रक्रिया सुरु गर्ने, प्रतिष्ठानको आर्थिक अनियमितता छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने, अख्तियारमा रहेका मुद्दा  छिटो किनारा लगाउने, पदाधिकारी नियुक्तिका लागि यसअघि बनेका समिति र आयोगले निर्धारण गरेका मापदण्ड लागू गरेर नयाँ मापदण्ड तय गर्नेलगायत विषयमा सहमति भएको थियो ।  

आन्दोलनविरुद्ध राजनीतिक दल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग राख्दै भएको आन्दोलनले बिरामी समस्यमा परेको भन्दै केही राजनीतिक दलले आन्दोलनको प्रतिकार सुरु गरेका छन् । 

अधिकार मात्रै खोजेको तर कर्तव्य पूरा नगरेको भन्दै एमाले, राप्रपालगायत राजनीतिक दलले पदाधिकारीका कार्यकक्षमा लगाइएको ताला फुटाएका छन् । 

विज्ञप्ति निकाल्दै नेकपा एमाले धरान नगर, संघीय लिम्बुवान मञ्च, राप्रपा नेपाल, राप्रपालगायत दलले आन्दोलनले प्रतिष्ठान अस्तव्यस्त भएको बताएका छन् । 

तत्काल स्वास्थ्य सेवा सुचारु नगरे प्रतिकारमा उत्रने उनीहरुको चेतावनी छ । सम्पूर्ण सेवा तत्काल सुचारु गरी समस्या समाधानको वातावरण बनाउन प्रतिष्ठानलाई उनीहरुले अनुरोध गरेका छन् । 

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १८:१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया