सीमामा एसएसबीको ज्यादती : हर्कबहादुर, जग्गु, राममिलन, गोविन्द, जयसिंह,...अब पालो कसको प्रधानमन्त्रीज्यू ?

‘हाम्रो परराष्ट्र नीतिमा अप्ठेरोपन देखिएको छ । आन्तरिक राजनीतिमा शिथिलता आएको छ । जसले गर्दा राष्ट्रिय स्वार्थका कुरा अघि बढाउन र प्रवर्द्धन गर्न हामीले सकिरहेका छैनौं,’ नेपाल-भारत सीमामा हुने गरेका ज्यादतीका विषयमा भारत गम्भीर नभएकोबारे पूर्वपरराष्ट्रमन्त्री तथा राजदूत भेषबहादुर थापाले फरकधारसँग भने, ‘सीमामा हुने ज्यादतीप्रति भारत जवाफदेही हुनुपर्छ र बनाउनु पर्छ ।’ 

नेपालले भारतलाई सीमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)बाट हुने गरेका ज्यादतीका सम्बन्धमा जवाफदेही बनाउन सकेको छैन । गत साउन १५ गते जयसिंह धामी ब्यास गाउँपालिका-२ मालघाटबाट तुइनको प्रयोग गरी भारतको बाटो हुँदै खलंगा आउँदा एसएसबीले उनी चढेको तुइन काटिदिएको थियो । प्रत्यक्षदर्शी यसै भन्छन् । धामी महाकाली नदीमा खसेर बेपत्ता भए । घटना भएको महिना दिनभन्दा बढी भयो, उनको अवस्थाबारे कसैलाई कुनै जानकारी छैन । 

नेपाल-भारत सीमामा एसएसबीले नेपाली नागरिक माथि गर्ने गरेको ज्यादती रोकिने कुनै लक्षण छैन । यसको पछिल्लो उदाहरण बनेका छन्- दार्चुलाको ब्यास गाउँपालिका-२ खाङदाङका जयसिंह धामी । सदुरमुकाम खलंगा हिँडेका धामी महाकाली नदीमा बेपत्ता भएको एक महिनाभन्दा बढी भयो । तर, उनको परिवारले अहिलेसम्म न उनको स्वास पाएको छ न लाश । पीडित परिवारले यसबीच थप पीडा भोगेको छ, राज्यबाट । 

चौतर्फी आलोचना र दबाब बढेपछि लाज छोप्नैको लागि पनि सरकारले भारतलाई परराष्ट्र मन्त्रालयमार्फत् कूटनीतिक नोट (विरोध पत्र) पठाएको छ । त्यसको जवाफ नआउने लगभग निश्चित छ, किनकि विगतको अनुभवले यस्तै देखाउँछ । गृह मन्त्रालयले धामी बेपत्ता घटनाको छानबिन गर्न गत साउन १७ गते मन्त्रालयका सहसचिव जनार्दन गौतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समित गठन गर्‍याे । समितिले भदौ १५ गते अनुसन्धान प्रतिवेदन मन्त्रालयलाई बुझायो । 

उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारलाई तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न समितिले सिफारिस गरेको छ । 

एक महिना लगाएर अनुसन्धान गरेको गृहको समितिले घटनामा एसएसबी दोषी छन् वा छैनन् भन्ने पनि पत्ता लगाउन सकेन वा पत्ता लगाउन चाहेन । उसले पुनः अनुसन्धान गर्न सुझाव दियो । ‘भारतले यस्ता घटनामा नेपालसँग सेलेक्टिभ अप्रोच अपनाउँदै आएको छ । पीडित भारतीय पक्ष छन् भने बारम्बार ताकेता गर्ने, उच्च तहबाट दबाब दिने गर्छ । पीडित नेपाली छन् भने उसले वास्तै गर्दैन । चासो देखाइहाल्यो भने पनि नतिजा आउने गरी काम गर्दैन । यो भारतको हेपाहा प्रवृति हो,’ परराष्ट्र मन्त्रालय उच्च स्रोतले फरकधारसँग भन्यो । 



२०७२ सालमा नेपालले नयाँ संविधान जारी गरेपछि भएको मधेस आन्दोलनका बेला नेपाली प्रहरीले चलाएको गोली लागि एक जना भारतीय नागरिक मारिएका थिए । घटनाको केही घण्टा नबित्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी घटनाको सत्यतथ्य बुझेका थिए । 

नेपाली प्रधानमन्त्रीले भने यस्तो आँट गर्न सकेका छैनन् वा आँट नै छैन । सरकारले नेपालका लागि भारतीय राजदूतलाई समेत बोलाएर घटनाका विषयमा बुझ्ने आँट गरेको छैन । ‘यस्तो बेलामा भारतीय राजदूतलाई बोलाएर के भएको हो बुझेर यथार्थ कुरा बताउनोस् भन्न सक्नुपर्छ । हामीले हाम्रो चासोको कुरा राख्दा कोही रिसाउला कि भनेर डराउन किन पर्‍याे ?,’ एकजना पूर्वपरराष्ट्र सचिवले भने । 



एसएसबीको ज्यादतीको सिकार हुने धामी पहिलो व्यक्ति होइनन्  

वर्षौं भयो एसएसबीको ज्यादती नेपाली जनताले सहँदै आएको । मुख्य ज्यादती सहनु पर्ने बेला अब आउँदै छ । दसैं-तिहारमा घर फर्कंदै गरेका नेपालीलाई एसएसबीले बढी नै दुःख दिने गरेको छ । उनीहरूको कमाइ लुट्नेदेखि कुटपिट गर्नेसम्मका घटना प्रत्येक वर्ष सार्वजनिक हुने गर्छन् ।

यस्ता घटना प्रत्येक वर्षजस्तो हुने गरेका छन् । यस्ता केही घटना राजधानी काठमाडौंसम्म आइपुग्छन् केही त सीमामै विलिन हुन्छन् । काठमाडौंसम्म आइपुग्ने घटना पनि केही दिनमा सामसुम हुने गरेका छन् । सरकारले भारतलाई ‘कूटनीतिक नोट’ पठाउँछ, त्यसपछि न भारतबाट जवाफ आउँछ न कसैलाई कारबाही नै हुन्छ । नेपालले पनि के भयो भनेर ताकेता गर्दैन । फेरि अर्को नयाँ घटना हुन्छ, यही प्रक्रिया दोहोरिइरहन्छ । 

कञ्चनपुर घटना 

२०७२ फागुन २६ गते एसएसबीले चलाएको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको थियो । विनाअनुमति नेपालको सीमाभित्र प्रवेश गरी एसएसबीका जवानले कञ्चनपुरको आनन्दबजार नजिक गौतमको हत्या गरेका थिए । अघिल्लो दिन अर्थात् फागुन २५ गते नेपाली भूभागमा भारतले कल्भर्ट निर्माण गर्न लागेपछि गौतमसहितका स्थानीयले विरोध गरेका थिए । सोही दिन पनि एसएसबीले नेपालीलाई कुटपिट गरेको थियो । भोलिपल्ट पनि गौतमलगायतका स्थानीय आफ्नो भूमि रक्षा गर्न सीमामा पुगेका थिए । त्यहीँ एसएसबीले उनलाई गोली हानी हत्या गरेको थियो । 

त्यतिबेला पनि नेपाल सरकारले घटनाप्रति आपत्ति जनाउँदै भारतलाई कूटनीतिक नोट पठायो । भारतीय विदेश मन्त्रालयले सत्यतथ्य छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने बताएको थियो । घटना भएको साढे ५ वर्ष बित्न लाग्यो, न भारतले छानबिन नै गर्यो न दोषीमाथि कारवाही नै ! यसबीचमा नेपालले ‘छानबिन कहाँ पुग्यो ?’ भनेर सोध्ने काम पनि गरेन । घटना त्यसै सामसुम भयो । 

सुनसरीको हरिहरपुर घटना 

२०७२ मंसिर ९ गते सुनसरीको सीमावर्ती हरिहरपुर गाविसमा एसएसबीका जवानहरू विनाअनुमति नेपाल प्रवेश गरेका थिए । विहानको समयमा प्रवेश गरेका उनीहरूले नेपाली नागरिकमाथि गोली बर्साए । एसएसबीले चलाएको गोली लागेर नेपाली नागरिक सरोज यादव, नरेश यादव, मनोज यादव र अशोक यादव घाइते भएका थिए । नेपालले जारी गरेको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै नेपालमाथि नाकाबन्दी गरेको समयमा भारतीय एसएसबी नेपाल प्रवेश गरी उक्त घटना गराएका थिए । यो घटनामा पनि न गोली चलाउने एसएसबीमाथि कारबाही भयो न घाइतेले कुनै क्षतिपूर्ति तथा न्याए नै पाए ! उल्टो भारतले नेपाली नागरिकलाई तस्करको ट्याग लगाइदियो । घटना त्यसै सामसुम भयो ।

झापाको केचना घटना

सुनसरीमा घटना भएको एक साता नबित्दै २०७२ मंसिर १३ गते झापाको केचनामा अर्को घटना भयो । विहान ७ बजे एसएसबीका १३ जवान विनाअनुमति नेपाली भूभाग प्रवेश गरे, त्यो पनि हतियारसहित । नेपाली सुरक्षा निकायले तुरुन्तै उनीहरूलाई नियन्त्रणमा लियो । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतसँग गम्भीर चिन्ता र चासो व्यक्त गर्‍याे । यस्ता घटना दोहोरिन नदिन सचेत गरायो । र, तुरुन्तै पक्राउ परेका एसएसबी जवानलाई भारत फिर्ता पठायो । विनाअनुमति हतियारसहित नेपाल प्रवेश गर्ने एसएसबी जवानमाथि कुनै कारबाही भएन । ‘किन आएका हौ ?’ भनेर सोध्ने हिम्मत पनि गरिएन । 

बर्दियाको जमुनीका घटना

बर्दियाको जमुनीका हर्कबहादुर शाही २०६७ चैत ५ गते नजिकैको जंगलमा गएका थिए । जंगलमा रहेका बेला भारतबाट नेपाली भूमिमा प्रवेश गरेका एसएसबी जवानले उनीमाथि गोली हाने । गोली लागी उनी घाइते भए । एसएसबीका जवानले घाइते शाहीलाई सँगै लगे । शाहीका परिवारले घटनाबारे प्रशासनलाई बताए । राष्ट्रिय मानवअधिकार आयोगले समेत घटनाका सम्बन्धमा अनुसन्धान गर्‍याे । आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जले घटनाको स्थलगत अनुगमन गरी निष्कर्ष निकाल्यो- शाहीलाई एसएसबीले नै लगेको हो । शाही अहिलेसम्म फर्केका आएका छैनन् । उनी जिउँदै छन् वा हत्या भैसक्यो परिवार बेखबर छ ।
 
बर्दियाको सानोश्री घटना 

करिब ८ वर्षअघि पनि बर्दियामा यस्तै घटना भएको थियो । विनाअनुमति हतियारसहित नेपाल प्रवेश गरेका एसएसबीका जवानले बर्दिया मनिकापुरका जग्गु चौधरीलाई सानोश्रीबाट पक्राउ गरी लगे । पक्राउ गरी कता लगे एसएसबीले न चौधरीको परिवारलाई भन्यो न नेपालको प्रशासनलाई जानकारी दियो । घटना भएलगत्तै चौधरीका परिवार स्थानीय प्रशासनमा गुहार माग्दै पुगे । चौधरी आजसम्म एसएसबीको पञ्जाबाट फुत्किन सकेका छैनन् । उनको अवस्था अज्ञात छ ।

बर्दियाको आशापुर घटना 

२०७० फागुन १२ गते पनि बर्दियामा एसएसबीका जवान प्रवेश गरेर दुःखद घटना गराएर फर्केका थिए । सीमा क्षेत्रमा दाउरा लिन गएका बर्दियाको आशापुरका ४६ वर्षीय राममिलन लोधलगायत अन्यमाथि एसएसबीले गोली चलायो । पाँच जनाको घटनास्थलमै मृत्यु भयो भने लोधलाई एसएसबीले पक्राउ गर्‍याे । गोली लागेर गम्भीर घाइते भएका लोधलाई एसएसबीले आफूसँगै लगे । उनको अवस्था अहिलेसम्म खुलेको छैन । 

किन भारत गम्भीर बन्दैन ? 

माथि उल्लेख गरिएका केही प्रतिनिधि घटनामात्रै हुन् । प्रत्येक घटनाको विरोध जनाउँदै नेपालले कूटनीतिक नोट पठाउने गरेको छ । तर, भारत जिम्मेवार बनेको छैन वा बन्न चाहेको छैन । किन भारतले नेपालमाथि हेपाहा प्रवृति देखाउँछ ?

‘हामी हल्लाखल्ला र राजनीति बढी गर्छौं । नेपालबाट भारतमा हुने र भारतबाट नेपालमा हुने उच्चस्तरीय भ्रमणमा यी कुरालाई गम्भीरताका साथ उठाइँदैन,’ ती पूर्वपरराष्ट्र सचिवले भने, ‘हामीलाई भारतीय नेतासँग फोटो खिचाउन पाए पुग्छ ! हाम्रो चासोका विषय के हुन् मतलब छैन ।’ 

राजनीतिक दलका नेतालाई त भएनभएन, परराष्ट्र सचिवलाई समेत देशका विषयमा चिन्ता नभएको उनी आरोप लगाउँछन् । परराष्ट्र सचिव भएको केही महिना हुन पाएको छैन कुन देशमा राजदूत भएर जाने भन्ने चलखेलमा लाग्ने गरेको अनुभव उनले सुनाए । ‘के राजदूत भन्दा सचिव पद सानो हो ? किन सचिव भएको केही समय हुन पाएको छैन राजदूत हुन हतारिन्छन् परराष्ट्र सचिवहरु ? यसका पछाडि कारण एउटै छ- पदमा बसेर केही गर्न सकिँदैन अनि किन बसिरहनु ? बरु राजदूत भएर गयो भने तनाव कम हुन्छ,’ पूर्वसचिवले परराष्ट्रमा स्वतन्त्र भएर काम गर्न नपाउँदाको गुनासो गरे । 

नेपालको आन्तरिक राजनीति कमजोर हुँदा भारतमा हेपाहा प्रवृति बढेको बुझाइ पूर्व परराष्ट्रमन्त्री तथा राजदूत थापाको छ । उनले थप स्पष्ट पारे, ‘जबसम्म आन्तरिक शासन पद्धतिमा सुधार हुँदैन, तबसम्म यस्ता घटना दोहोरिइहन सक्छन् ।’ परराष्ट्र मामिलामा राजनीतिक पार्टीहरुले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को नीति अपनाउँदा पनि नेपाल कमजोर बनेको ठम्याइ थापाको छ । पार्टीहरुले परराष्ट्र मामिलाका सम्बन्धमा साझा धारणा बनाउन सकेमात्र छिमेकी तथा मित्रराष्ट्रहरूसामु दह्रोसँग उभिन सकिने उनको भनाइ छ । 

चीनले चाहिँ सद्भावमात्रै राख्छ ? 

सन् १९६२ को जुनमा मुस्ताङस्थित नेपाल-चीन सीमामा चिनियाँ सेनाको गोली लागेर एकजना नेपाली नागरिक सुबेदार बमप्रसाद मारिएका थिए । त्यतिबेला करिव दुई हजार चिनियाँ सेना नेपाल सीमानजिक आएका थिए । तिब्बती विद्रोहीको खोजीको क्रममा उनीहरू नेपालको सीमाभित्र प्रवेश गरेका थिए । चिनियाँ सेनाले नेपालको एक समूहमाथि आक्रमण गर्दा बमप्रसाद मारिएका थिए । चिनियाँ आक्रमणबाट अर्का एकजना नेपाली नागरिक घाइते भएका थिए । त्यतिमात्र होइन १० जना नेपालीलाई चिनियाँ सेनाले पक्राउ गरी तिब्बत लगेर राखेका थिए । पछि उनीहरू रिहा भए र नेपाल फर्किए । 

चिनियाँ आक्रमणको चारैतिरबाट विरोध भयो । यो घटना सम्बन्धी समाचार ‘दि न्युयोर्क टाइम्स’ र ‘दि गार्जियन’ले समेत प्रकाशन गरेका थिए । त्यतिबेला नेपालका प्रधानमन्त्री थिए कांग्रेस नेता बिपी कोइराला । उनले चिनियाँ समकक्षी चाउ यन लाईसमक्ष तुरुन्तै पत्र पठाए । पत्र भारतका लागि तत्कालीन नेपाली राजदूत दमन शमशेर राणाले भारतको लागि चिनियाँ राजदूतलाई बुझाएका थिए। 

बिपीले लेखेको पत्रमा पक्राउ परेका नेपालीलाई तत्कालै रिहा गर्नुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने र घटना गलत भएको भन्दै चीनले माफी माग्नु पर्ने उल्लेख थियो । यी मागमा बिपी अडिग रहे । बिपीको पत्र पाउने बित्तिकै चाउ यन लाईले जवाफ पठाए, ‘यदि तपाईंले पत्रमा उल्लेख गरेअनुसार नहुनपर्ने घटना भएर नेपाली नागरिक मारिएको हो भने चीन सरकारले त्यसप्रति माफी माग्नेछ । यदि नेपालीलाई पक्राउ गरी चिनियाँ भूमिमा राखिएको छ भने पनि हामी उनीहरूलाई तत्कालै रिहा गर्ने छौं ।’

त्यसपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो । यसबीचमा बिपी र चाउ यन लाईबीच चार पटक पत्र आदानप्रदान भएको थियो । अन्तिम पत्रमा चाउ यन लाईले तिब्बती विद्रोही भनी झुक्किएर नेपाली नागरिकमाथि गोली चलाइएको स्वीकार गरे । अन्ततः चीनले माफी माग्यो र घटनाका पीडित नेपालीलाई चीनले क्षतिपूर्ति पनि दियो । 

सरकार र सरकारको नेतृत्व गर्ने व्यक्ति दुवै मजबुत हुँदा ५९ वर्षअघि चीनले नेपालसँग माफी मागेको थियो । त्यसपछि चीनसँगको सीमामा यस्ता घटना दोहोरिएका छैनन् । तर, अहिले सरकार, सरकारको नेतृत्व गर्ने व्यक्ति र राजनीतिक पार्टीहरु सबै कमजोर छन् । 

‘हाम्रो सरकार, परराष्ट्र नीति र राजनीतिक पार्टी कमजोर हुँदा हामीले आफ्नै नागरिकलाई अहिले न्याय दिन सकेका छैनौं । छिमेकीबाट हेपिनु परेको छ । सीमानजिक विदेशी सेना तथा प्रहरीद्वारा बेपत्ता वा मारिनको लागि पालो कुरेर बस्नु पर्ने अवस्था आएको छ,’पूर्वपरराष्ट्र सचिवले भने ।  

आफ्नै नागरिकलाई न्याय कसरी दिने ? 

देशले परराष्ट्रमन्त्री नपाएको दुई महिना बित्न लाग्यो । परराष्ट्रको जिम्मेवारी पनि प्रधानमन्त्री शेरबहादुर देउवाकै काँधमा छ । सबै कुरा प्रधानमन्त्रीको तहबाट गर्न मिल्दैन, प्रोटोकलले दिँदैन ।  त्यसैले परराष्ट्रमन्त्रीको आवश्यकता पर्ने हो । भारतसँग यस्तो समस्या परिरहेको बेला देशमा परराष्ट्रमन्त्री नहुनु गम्भीर अवस्था हो । 

पहिलो आवश्यकता- परराष्ट्रमन्त्री कसैलाई तोक्नु पर्‍याे ।

मन्त्रीको हैसियतसहितका राजदूत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा छन्- निलाम्बर आचार्य । तर, उनलाई भारतको विदेश मन्त्रालयले टेर्दैन । 
हदै भए उनले भारतीय विदेश मन्त्रालयको नेपाल हेर्ने महाशाखाका सहसचिवसम्म कुरा राख्न पाउँछन् । सीमामा हुने ज्यादती सहसचिवले सुल्झाउने खालका छैनन् । यस्ता घटना दोहोरिन र हुनै नदिन उच्चस्तरबाट प्रतिबद्धता आउन जरुरी छ । 

बिरालो कालो होस् या सेतो, जे जस्तो भए पनि मुसा मार्नुपर्छ । मुसा नमार्ने बिरालो काम छैन । जनताको समस्या सम्बन्धित ठाउँसम्म पुर्याएर सम्बोधन गर्न नसक्ने व्यक्तिलाई राजदूत पदमा राखिरहन आवश्यक नभएको कतिपय परराष्ट्रविद्को भनाइ छ । राजदूत नियुक्ति गर्दा यस्ता कुरालाई ध्यान दिन जरुरी छ । राजदूतलाई मन्त्रीको हैसियत प्रदान गर्दैमा केही हुँदैन, जो अहिले देखिइरहेको छ । 

बेलाबखत हुने उच्चस्तरीय भेटवार्तामा नेपालका प्रतिनिधिलाई भारतीय पक्षसँग फोटो खिचाउन पाए पुग्छ । त्यहाँ जनताको समस्या समाधान गर्ने गरी कुनै कुरा उठ्दैन । गम्भीरताका साथ उठाउने गरेको भए त्यसको फलोअप पनि हुन्थ्यो, जुन देखिँदैन । जनताका समस्या जयसिंह जसरी कहिले महाकाली, कहिलो कोशी त कहिले नारायणीबाट बाहिरिई रहन्छन् । 

‘भारतसँग हुने उच्चस्तरीय वार्तामा सीमामा हुने ज्यादतीलाई गम्भीरताका साथ उठाउनु पर्छ । हामी यस कुरामा कहिल्यै गम्भीर भएका छैनौं । हामी सीमामा हुने ज्यादतीलाई हल्लाखल्ला गरेर राजनीति गर्न मात्र माहिर भयौं । वार्ताको टेबलमा पुग्दा सबै बिर्सन्छौं,’ पूर्वपरराष्ट्र सचिवले भने । 

भारतले किन हेपाहा प्रवृत्ति देखाइरहेको छ, त्यसको पनि अध्ययन गर्नुपर्ने पूर्व परराष्ट्रमन्त्री तथा राजदूत थापाको भनाइ छ । यससँगै हाम्रो कूटनीति किन शिथिल भयो भन्ने अध्ययन पनि गर्न जरुरी छ । 

हामी घटना भएको केही दिन उफ्रन्छौं, त्यसपछि थच्चिन्छौं । जहाँ कुरा राख्नुपर्ने हुन्छ, त्यहाँ राख्न सक्दैनौं । घटनाहरूको अध्ययन-अनुसन्धान गरेर प्रमाण संकलन गरी वार्ताको टेबलमा हामी कमै मात्र बस्छौं । जसका कारण उठाउन खोजेको मुद्दा गम्भीर भए पनि नतिजा कहिल्यै आउँदैन । हामी मौखिक आरोप धेरै लगाउँछौं, तर त्यसलाई सपोर्ट गर्ने प्रमाण साथमा लाँदैनौं । यथेष्ट प्रमाणसहित टेबलमा बस्ने हो भने भारत ‘हेपाहा प्रवृति’बाट पछि हटी ‘जवाफदेही’ बन्न बाध्य हुने विश्वास थापाको छ । 

  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १६:४६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया