तालिबानले बालेको आगो, भारतमा निस्किएको ताप
राजीव डोगरा
फरकधार / २३ भदौ, २०७८

इतिहासका यस्ता थुप्रै प्रश्न हुन्छन्, जुन पटकपटक सोधिन्छन् । तर, त्यसको जवाफ पाइँदैन । यस्तै एक प्रश्न अलेक्जेन्डर (सिकन्दर)सँग उनकी आमाले सोधेकी थिइन् । आमाले सोधेकी थिइन्– एक वर्षमा तिमीले सिरिया, पर्सिया, टर्कीसमेत तीन देश विजय गर्यौ, तर तिमी तीन वर्षदेखि अफगानिस्तानमै बसिरहेका छौ । किन यस्तो ?



अलेक्जेन्डरले जवाफसहित अफगानिस्तानको माटो भरिएको एउटा बोरा आमालाई पठाए र लेखे– यो माटो तपाईं राजमहलको वरपर ओछ्याइदिनुस् । र, आफ्ना सल्लाहकारलाई त्यसमाथि हिँड्न अवश्य भन्नुस् । त्यो बेलासम्म मेसेडोनियामा अलेक्जेन्डरको राजपाट निकै शान्त ढंगमा चलिरहेको थियो । निकै सहज र सुगम थियो राजपाट । तर, जब माटो ओछ्याइयो र सल्लाहकारहरु त्यसमा हिँड्न थाले तब त्यहाँ आपसमा मतभेद देखिन थाल्यो । यसको अर्थ यो हो कि, सायद अफगानिस्तानको माटो नै त्यस्तो छ त्यहाँ केही न केही झगडा र विवाद सधैं भइरहन्छ !

अफगानिस्तानको इतिहासको अर्को शिक्षा यो पनि हो कि, त्यहाँ जति पनि युद्ध होस्, तर उसको दृष्टि सधैं भारतमाथि तेर्सिन्छ । अलेक्जेन्डर पनि जब अफगानिस्तानबाट हटे तब भारत आए । मंगोल र मुगल शासकहरुले पनि अफगानिस्तानलाई नै आफ्नो ‘ट्रान्जिट स्टेसन’ बनाए र निशानामा भारतलाई राखे । अर्थात्, अफगानिस्तानमा जे जति हुन्छ, त्यसको असर भारतमा पर्छ । हामी त्यसबाट पीडित हुन्छौं ।

मानौं, भारत सुनको चरा हो– सोही कारण हामीमाथि धावा बोलिन्छ अथवा हाम्रो कमजोरीका कारण ! यसकारण इतिहास हामीलाई पटकपटक प्रश्न सोधिरहन्छ– आखिर हामीले त्यस्तो के गरेनौं जसबाट आतंककारी हाम्रोमा आउन डराओस् ? कारण यही हो कि, काबुलमाथि तालिबानी कब्जापछि पुनः यही चिन्ता गर्न थालिएको छ– काश्मिरमा यसको के असर हुन्छ ? विशेषगरी तालिबानको पहिलो शासनकालदेखि नै यो चिन्ता निकै गहिरिएको थियो । चिन्तासँगै हामीले प्रश्न पनि गर्नुपर्छ– किन तालिबानी काश्मिरमा आउलान् ? के हामी यति धनी भइसकेका छौं र पुनः सुनको चरा बनेको छौं या हामी यति कमजोर भइसकेका छौं कि हामीलाई जोसुकैले धम्की देओस् ? यस्तै चिन्ता किन इरान, पाकिस्तान, चीन या रुसलाई किन छैन ?



गम्भीर ढंगमा हेर्ने हो भने, काश्मिरलाई लिएर गरिएको चिन्ता जायज छ । अफगानिस्तानमा ३.७५ लाख सैनिक (तीन लाख अफगान सुरक्षा बल, ७५ हजार तालिबान लडाकु) छन् । यति संख्यामा सैनिक पाल्ने क्षमता अहिले तालिबानसँग छैन । आफ्नो आवश्यकता र राज्यकोषलाई ध्यानमा राख्दै उसले ७०–८० हजारजति सैनिक नियुक्त गर्न सक्ला । बाँकी तीन लाख जवान उसले के गर्नु ? यसको जवाफ २०१५ मा आएको किताब ‘ह्वेर बोेर्डर्स ब्लिड’ मा मैले दिएको छु । 

शुजा नवाजको किताब ‘क्रस्ड सोड्रस’ लाई उद्धृत गर्दै मैले १९९४ मा ‘पाकिस्तानी जासुस एजेन्सी आइएसआईले अफगानिस्तानको सदर रब्बानीसँग काश्मिरका लागि केही लडाकु मागेको’ लेखेको थिएँ । आइएसआईलाई विश्वास थियो– १० हजार लडाकु त पाइने छ भन्ने । तर, अफगानी राष्ट्रपतिले पाँच लाखसम्म नयाँ जवान (केही नजानेका) दिन सक्ने बताए । 

अब सोचौं त, गत शताब्दीको अन्तिम दशकमै १० हजार लडाकुसहित आइएसआईले काश्मिर अशान्त बनाउन सक्थे भने अहिले त तिनीहरुसँग पौने चार लाख जवान छन् । ती प्रशिक्षित हुनुका साथै कट्टर पनि छन् ।

प्रश्न के छ भने, हामी सधैं चिन्तित भइरहने कि यसको स्थायी समाधान पनि खोज्ने ? हामीले दीर्घकालीन समाधानतिर नलागी सुखै छैन । सावधान रहनु अनिवार्य छ, तर समझदारीसहित चिन्ता समाधान गर्नु ज्यादा जरुरी छ । र, स्थायी समाधान यो हो कि, हामीले पाकिस्तानसँग यस्तो नीति अपनाउनु जरुरी छ, जसबाट भविष्यमा हामीलाई दुःख दिने हिम्मत नगरोस् । यसका लागि हामीले थुप्रै उपाय अपनाउन सक्छौं ।

पाकिस्तानलाई हामी आर्थिक क्षेत्रमा सीधा चोट पुर्याउन सक्दैनौं, किनकि ऊसँग हाम्रो ठूलो आर्थिक कारोबार नै छैन । तर, अमेरिकालाई हामी भन्न सक्छौं– यदि ऊ हाम्रो र स्वयम् उसकै पनि हित चाहन्छ भने उसले पाकिस्तानमाथिको सहयोगमा लगाम लगाउनु पर्छ । इस्लामावादलाई उसले बर्सेनि दिँदै आएको अर्बौं डलर अब बन्द गर्नुपर्छ । यतिमात्र होइन, जुनजुन विश्व संस्थाहरुले उसलाई मद्दत गर्दै आएका छन्, तिनमाथि पनि दबाब दिनुपर्छ । अमेरिकालाई के सम्झाउनु पर्छ भने, अफगानिस्तानमा अहिले उसको बेइज्जतको मुख्य कारण पाकिस्तान हो ।

अर्को तरिका कूटनीति हुन सक्छ । तर, यसको एक सीमा छ । यसले तबमात्रै काम गर्छ, जब कुनै देश सैन्य र आर्थिक रुपमा मजबुत छ । अहिलेको समयमा पाकिस्तानको कूटनीति निकै व्यापक भएको छ । चीनसँगको उसको सम्बन्ध होस् या हाम्रो पुरानो मित्र रुससँग । अहिले रुस पनि पाकिस्तानकै राग अलाप्न थालेको छ । रुसी प्रतिनिधिहरुले केही वर्षको अन्तरमा थुप्रै पटक यस्तो अभिव्यक्ति दिएका छन् कि, तिनले अफगानिस्तानमा भारतको भूमिकालाई कठघरामा उभ्याइदिएका छन् । 

हामीले सोच्नुपर्छ, रुस यदि हामीसँग रिसाएको छ भने त्यसको कारण के हो ? सबै दोष मस्कोको हो या दिल्लीको व्यवहार पनि केही हदसम्म जिम्मेवार छ ? अफगानिस्तानबारे रुसी रवैया हाम्रा लागि चिन्ताको विषय बन्न सक्छ । यस्तो अवस्थामा काश्मिरको अवस्थाबारे अहिले नै यथोचित अनुमान गर्न सकिँदैन । बढी मात्रामा त पाकिस्तानको नियतले नै तय गर्ने छ कि, आतंकवादलाई पुनः हावा हालिदिनेबारे इस्लामावाद के सोच्छ ? उसका निम्ति आदर्श स्थिति छ कि ऊ तनाव बोक्न इच्छुक छ ? यी तमाम प्रश्नहरुको जवाफ हामीलाई छिट्टै मिल्ने छ ।

(लेखक डोगरा भारतका कूटनीतिज्ञ हुन् । हिन्दुस्तान टाइम्सबाट अनूदित तथा सम्पादित ।)

  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १८:११:५४,   अन्तिम अपडेट : भदौ २३, २०७८ बुधबार १८:१२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया