अल्पमत सरकारका नवनियुक्त मन्त्रीहरु केक पार्टीमा मस्त (भिडियाे)

बागमती प्रदेश सरकार अल्पमतमा परिसकेको छ । यस्तो अवस्थामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शाक्यले बुधबार दिउँसो ६ जना मन्त्री र ४ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।  

बुधबार नवनियुक्त मन्त्रीहरु शपथ र पदभार ग्रहण गरिसक्दासम्म रिर्पोटिङ गर्न गएका पत्रकारहरुलाई अवरोध भइरह्यो । शपथग्रहण कार्यक्रममा हेटौंडा स्थानीय होटल तथा रेष्टुरेन्ट व्यवसायी, जग्गा व्यवसायी, राजनीतिक दलका कार्यकर्ता देखि आसेपासे गए तर पत्रकारहरुलाई छिर्न दिइएन । पत्रकारहरुले सोही कारण प्रदेश प्रमुखको कार्यालयमा आन्दोलन गरेका थिए ।

बागमती प्रदेश सरकारले केशवराज पाण्डे भौतिक पूर्वाधार, रचना खड्का आर्थिक मामिला तथा योजना, विजय सुवेदी समाजिक विकास, शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण, प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य, डा‍. अजयक्रान्ति शाक्य आन्तरिक मामिला तथा योजना, चन्द्र लामा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीको रुपमा नियुक्त भएका थिए ।

यसअघि आन्तरिक मामिला मन्त्री रहेका पाण्डेलाई विस्तारित मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको हो । शाक्यले जीवन खड्कालाई भौतिक पूर्वाधार विकास, जुनेली श्रेष्ठलाई सामाजिक विकास, बद्री मैनालीलाई भूमि व्यवस्था कृषि तथा सहकारी र राज्यमन्त्री नियुक्त गरेकी हुन् । 

उनले सामाजिक विकास मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रालय थप गरेकी हुन् । उनीहरुलाई प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदा पत्रकारहरुलाई अवरोध गरेका हुन् । 

होटलको रिसेप्सनमा खादा र माला 



बागमती प्रदेश सरकारका मन्त्रीहरु पत्रकारहरुसँग बोल्नै चाहेनन् । अत्यन्तै व्यस्त भन्दै पत्रकारलाई राजनीतिक दलका कार्यकर्ताहरुले पन्छाए । तर, नवनियुक्त केही मन्त्री भने नेकपा एमालेनिकट हेटौंडाका स्थानीय व्यवसायी दीपक शिवाकोटीको आशीर्वाद होटलमा भेटिए । 

रचना खड्का, प्रदीपकुमार कटुवाल क्षेत्री केसी, जीवन खड्कालगायत मन्त्रीहरु खादा र मालामा मख्ख थिए । उनीहरु मन्त्री बनेको खुसियालीमा केक काटेर रमाइलो गर्दै थिए ।
   
नेकपा एमाले औपचारिक रुपमा विभाजनपश्चात् गठन भएको नेकपा (एकीकृत समाजवादी)मा १३ सांसद आबद्ध भएसँगै शाक्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।



शाक्यले मुख्यमन्त्रीको शपथ लिएसँगै दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । तर, उनले नियुक्त गरेका सामाजिक विकासमन्त्री कृष्ण खनालले नेकपा एकीकृत समाजवादी रोज्दै पदबाट राजीनामा दिएका थिए ।

  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार २०:२१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया