स्वास्थ्यको ख्याल गरी तीज मनाउन उपराष्ट्रपतिको अनुरोध

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका (तीज)–२०७८ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले परम्परागत मूल्य मान्यतासहित आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तीज मान्न दिदीबहिनीलाई आग्रह गरेका छन्। 

विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकाले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन पनि उनले आग्रह गरेका छन्।

'नेपालको राजनीतिक परिवर्तन र नेपाललाई विश्वसामू परिचित गराउन नेपाली महिलाको योगदान उच्च छ। म यो महान् पर्वको अवसरमा नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा महिलाहरूले पुर्‍याउनु भएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु', सन्देशमा उपराष्ट्रपतिले भनेका छन्, 'राज्यको हरेक निकायमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व, पैतृक सम्पत्तिमा महिलाको हकलगायत राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा प्राप्त महिला अधिकारका लागि गौरव गर्न आग्रहसमेत गर्दछु।’

उपराष्ट्रपतिले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षाका लागि सचेत हुन र खबरदारी जारी राख्न आग्रह गरेका छन्। 
 





  • प्रकाशित मिति : भदौ २४, २०७८ बिहीबार ८:१८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया