ब्रत बस्छिन् पत्नी, हत्या गर्छन् पति !

अहिले नेपाली हिन्दु समुदायमा तीजको रौनक छ । खासगरी हिन्दु अविवाहितले नारी असल पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको लागि तीजको ब्रत बस्ने गर्छन् । 

यसरी पतिको दीर्घायुको कामना गरेर ब्रत बस्ने महिलाप्रति केही पति भन्ने ‘हत्यारा’ र ‘बलात्कारी’ बनेको पाइएको छ । प्रहरीको एक आँकडाअनुसार पछिल्लो समय श्रीमान्ले श्रीमतीको हत्या गर्ने प्रवृत्ति बढ्दो छ ।

२०७७ साल, ११ असारमा काठमाडौंको टोखामा श्रीमान्बाट आफ्नै श्रीमतीको हत्या भयो । टोखा नगरपालिका–३ बानियाँटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरे । आपसी विवाद हुँदा उनले चक्कु प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । 

यसैगरी यही जेठमा इलाममा पनि एक श्रीमान्ले श्रीमतीको हत्या गरे । इलामको देउमाई नगरपालिका वडा नम्बर ४ चित्रेमा डेरा गरी बस्ने ४६ वर्षीया सुर्जामाया तामाङको हत्या भयो । धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको आरोप उनका श्रीमान् ताकबहादुर तामाङलाई लाग्यो । 

यी केही प्रतिनिधि घटनाबाट पछिल्लो समय श्रीमान्बाट श्रीमतीको हत्या हुने क्रम बढ्दो रहेको पुष्टि हुन्छ । प्रहरी आँकडामा अघिल्लो वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४२ प्रतिशतले यस्तो घटना बढेको छ ।

पछिल्लो समय मुलुकमा सबैखाले अपराधको ग्राफ उकालो चढेको छ । यसमा श्रीमान्बाट श्रीमतीको हत्या भएका घटना पनि पर्छन् ।  



आब ०७५/०७६ देखि ०७७/०७८ सम्ममा देशभरिमा २४४ जना श्रीमतीको आफ्नै श्रीमान्बाट हत्या भएको छ । प्रहरी अभिलेखमा आव ०७५/०७६ मा ८९, त्यसपछिको वर्षमा ७० र ०७७/०७८ मा ८५ जना श्रीमतीको श्रीमान्बाट हत्या भएको देखिन्छ ।

प्रदेश १ र लुम्बिनीमा बढी 



प्रहरीको आँकडा हेर्ने हो भने, यस्ता घटना सबैभन्दा बढी दुईवटा प्रदेशमा भएको देखिन्छ । प्रहरी आँकडा अनुसार, अन्य प्रदेशको तुलनामा प्रदेश १ र लुम्बिनी प्रदेशमा श्रीमान्बाट श्रीमतीको हत्या अधिक भएको पाइएको छ ।

यो तीन वर्षमा प्रदेश १ मा ५० र लुम्बिनी प्रदेशमा ४८ जना महिलाको श्रीमान्बाट हत्या भएको प्रहरी अभिलेखमा उल्लेख छ । यस्ताखाले हत्याको करिब आधा यही प्रदेशमा भइरहेको देखिन्छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार श्रीमान्बाटै श्रीमतीको हत्या हुनु अकल्पनीय घटना हो । प्रहरी मुख्यालयका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार यस्ता घटनाहरु पछिल्लो समय खासगरी घरेलु हिंसाका रुपमा भइरहेको छ । घरेलु हिंसा बढ्दै गएपछि यस्ता घटनाहरुमा पनि वृद्धि भएको उनी बताउँछन् ।

कुँवर भन्छन्, ‘पहिला आपसी विवाद हुन्छ, त्यसपछि झडप । अनि आवेग बढ्छ, जुन कारणले हत्या हुने गर्छ ।’ यस्ता घटना हुनुको पछाडि प्रेम सम्बन्ध र कतिपयको अनैतिक सम्बन्धसमेत रहेको प्रहरीको भनाइ छ । यस्ता घटना रोकथामका लागि सबै एकजुट भएर सामाजिक जागरण गर्नुपर्ने कुँवरको धारणा छ ।
 

  • प्रकाशित मिति : भदौ २४, २०७८ बिहीबार ९:३४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया