कांग्रेस वडा सभापतिमा ठाकुरको उम्मेदवारी
राजनीतिक र संस्थागत रूपमा जनताको सेवा गर्न आफ्नो उम्मेदवारी

आम नागरिकका लागि विगतदेखि नै अहोरात्र खट्दै आएका सामाजिक युवा अभियन्ता दिपक ठाकुरले विकास निर्माणमा फड्को मार्न राजनीतिक रूपले पाइला अगाडि बढाएका छन् ।

ठाकुरले नेपाली कांग्रेसको आगामी हुने १४ औं महाधिवेशनमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ को सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अभियन्ता ठाकुरले समाजको सेवाप्रति युवाहरू भूमिकाविहीन रहेको अवस्थामा आफूले उत्तरदायी भएर काम गर्दै आएको बताए । उनले आफूले नेतृत्व पाएको खण्डमा सामाजिक विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने दावी गर्दै अबको नेतृत्व युवाको काँधमा दिनुपर्ने धारणा राखे ।

उनले भने,‘अहिलेसम्म पदविहीन रहेर मैले वडाको विकासका लागि सरसफाइदेखि बाटोघाटोमा करीब ७/८ वर्षदेखि अभियानकै रूपमा कार्य गर्दै आएको छु ।’

वडामा सरसफाइका लागि संस्थागत रूपमा टोल सुधार समिति गठन गरी काम अघि बढाएर चर्चामा आएका अभियन्ता ठाकुरले आफ्नो ज्यानको कुनै परवाह नगरी व्यक्तिगत र संस्थागत रूपमा कोरोना महामारीका बेला पनि वडावासी मात्र नभई समग्र रूपमा जिल्लाभरिकै जनताका लागि २४ औं घण्टा खटेर सामाजिक दायित्व निर्वाह गरिसकेका छन् ।

कोभिड-१९ महामारीका बेला जनकपुरधाम लगायतका क्षेत्रमा सक्रिय भएर सहयोग गर्दै पीडितहरूलाई राहत वितरण तथा सहयोगका कार्यहरू गरेकोमा उनी कोभिड हिरोको अवार्डबाट समेत सम्मानित भइसकेका छन् । उनले कोभिड हिरो अवार्डजस्ता कयौं सम्मान पाइसकेका छन् ।



पार्टीका वातावरण, जलवायु परिवर्तन तथा विपत व्यवस्थापन विषयगत समितिका विज्ञ समेत रहेका अभियन्ता ठाकुरले देशले वर्षौंदेखि युवा नेतृत्व नपाएकाले उल्लेख्य रूपमा देशको विकास र समृद्धिमा योगदान पुग्न नसकेको दावी गर्दै अबको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने जिकिर गरे ।

तपाईंको उम्मेदवारी किन र के का लागि भन्ने जिज्ञासामा अभियन्ता ठाकुरले भने,‘वर्षौंदेखि सीमित व्यक्तिले पद खोसेर समाजका लागि न त आफू केही गर्न सकेका छन्, न त अन्य कसैलाई अवसर नै दिएका छन् । म आफ्नो वडावासीसहित समाजका लागि वर्षौंदेखि काम गर्दै आएको छु । पदमा गएपछि त्यसलाई राजनीतिक र संस्थागत रूपमा विकासका थप कामहरू प्रभावकारी रूपले अघि बढाउन उम्मेदवारी दिने घोषणा गरेको छु ।’



उनले आफू निर्वाचित भएपछि आफ्नो अनुभवका साथसाथै समाजका अन्य अनुभवी व्यक्तिबाट अनुभव लिँदै युवाहरूको साथ र सहयोगका साथै अघि बढने धारणा राखे । उनले आफूले सबैको साथ र सहयोग पाउने अपेक्षा राखेको भन्दै समाजप्रति निर्वाह गरेको भूमिकाले पनि सबैले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।  

ठाकुरले युवाको उम्मेदवारी कसैलाई पराजित गर्नका लागि नभई समाजमा आमुल परिवर्तन गर्न र राष्ट्रलाइ समृद्ध बनाउनका लागि रहेकोले युवाले आफ्नो नेतृत्व खोजेको बताए ।

  • प्रकाशित मिति : भदौ २४, २०७८ बिहीबार १६:१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया