डडेल्धुराका ५२ वडामै अधिवेशन सुरु, जिल्ला सभापतिद्वारा बहिष्कार

नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा विवादका बावजुद पनि वडा अधिवेशन सुरु भएको छ ।

निर्वाचन अधिकृत लोकेन्द्र बमले ५२ वटै वडामा अधिवेशनको प्रक्रिया अगाडि बढिसकेको बताएका छन् । ‘सबै वडामा अधिवेशन अगाडि बढेको छ, ५२ मध्ये आधा वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको जानकारी आएको छ,’ उनले भने ।

आज बिहान ८ बजेबाट अधिवेशन सुरु भएको हो । जिल्लाका ५२ वडा मध्ये २५ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको जनाइएकाे छ ।

२७ वडामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ । डडेल्धुरा कांग्रेस पार्टी सभापति कर्ण मल्ल पक्षको बहिष्कारकाे बीच पनि अधिवेशन जारी छ । सभापति मल्ल, उपसभापति करुणकर भट्ट लगायत भने अधिवेशन प्रक्रियामा सामेल भएका छैनन् ।

क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै सभापति मल्ल पक्षले अधिवेशन स्थगितको घोषणा गरेको थियो । तर जिल्ला सभापतिलाई काउन्टर दिएर निर्वाचन अधिकृतले अधिवेशन अगाडि बढाएको अवस्था छ । मल्ल पक्षले यथास्थितिमा निर्वाचन प्रक्रियामा माग लिने अडान दिएपछि विवादकै बीच अधिवेशन सुरु भएको देखिन्छ ।

मल्लले क्रियाशील सदस्यता विवाद टुंग्याउनु पर्ने र केन्द्रले खटाएको निर्वाचन अधिकृत स्वीकार्य नहुने बताएका छन् । ‘सुदूरपश्चिमका ९ जिल्लाबाट सुरक्षाकर्मी ल्याएर एक पक्षीय रूपमा अधिवेशन भइरहेको छ,’ मल्लले भने, ‘केन्द्रबाटै वडा सभापतिका उम्मेदवार तय भएका छन् । त्यस्तो अधिवेशनमा हामी सहभागी छैनौँ ।’ 



जिल्ला सभापतिका दाबेदार भीम बहादुर साउँदले शान्त वातावरणमा अधिवेशन भइरहेको बताएका छन् । ‘सबै भातृ तथा शुभेच्छुक संस्था र जनप्रतिनिधिको सहभागिता रहेको छ,’ उनले भने, ‘विभिन्न वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।’ साउद देउवा निकट नेता हुन् ।

जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८०४ जनाको नामावली पठाएकोमा छानबिन समितिले ४ सय ४४ जनाको नाम हटाइदिएको छ । तर, आफू अनुकूलका ३१२ जना थपिएको हुँदा विवादको अवस्था बनेको जिल्ला सभापति मल्लले बताएका छन् । तर जिल्लामा देउवा निकट पक्षले भने कर्ण मल्लले केन्द्रमा नाम पठाउँदा नै अन्याय गरेको दावी गरिरहेका छन् ।



  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १३:१३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया