देउवाको जिल्लामा सहमितबिना अधिवेशन गर्नु शुभ संकेत होइन, आपत्तिजनक छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको जिल्लामा सहमतिबिना वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भएको टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमा एक स्टाटस राख्दै पौडेलले भनेका छन्, ‘नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो ।’

क्रियाशील सदस्यता विवादकै बीच डडेलधुरामा वडा अधिवेशन आजबाट सुरु भएको छ । जसलाई पौडेलले असन्तुष्टि पाेख्दै भनेका छन्, ‘पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र - तर व्यवहार अलोकतान्त्रिक !’

उनले अघि भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ  ।’ साथै महाधिवेशनका लागि यो शुभसंकेत नभएको पनि उनले बताएका छन् । उनले अन्तिममा भनेका छन्, ‘महाधिवेशनको लागि यो शुभ संकेत होइन ।’

केही दिनअघि उपसभापति विमलेन्द्र निधि, नेता शेखर कोइरालाले डडेलधुराबाट सर्वसम्मत आएका सदस्यको नामावली जिल्ला नेतृत्वसँग समन्वय नै नगरी हटाएर माथिबाट थपेर पठाएको भन्दै पहिला क्रियाशील विवाद टुंग्याएर अधिवेशन गर्न देउवाको ध्यानाकर्षण गराएका थिए । वडा अधिवेशनलाई जिल्ला नेतृत्वसहित देउवाइतरका नेताहरूले बहिष्कार गरेका छन् ।





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १३:१८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया