संखुवासभा मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्या आरोपमा प्रहरीले आफन्त लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ ।
लोकबहादुरको घरबाट रगत लागेको कपडा बरामद भएपछि प्रहरीले उनी विरुद्ध दुई दिनदेखि अनुसन्धान गरिरहेको थियो ।
अनुसन्धानको क्रममा लोकबहादुरले शनिवार बिहान २ बजे मात्र हत्या आफूले गरेको स्वीकार गरेका थिए । त्यसपछि उनलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय संखुवासभा लगिएको छ ।
लोकबहादुरले घटना भएको दिन लगाएको सर्टमा रगतको टाटा देखिएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । तर उनी मानसिक बिरामी भएको बताइएको छ ।
उनको सर्टमा लागेको रगत परीक्षण गर्न सर्टलाई केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुसी पठाइएको छ ।
सर्टमा भएको रगतको परीक्षणको रिपाेर्ट र घटनामा प्रयोग भएको हतियार बरामद भएपछि मात्र उनलाई सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
१ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको पुष्टि गरे ।
‘थप अनुसन्धान भइरहेको छ, सम्पूर्ण प्रक्रिया पुरा गरेर र घटनामा प्रयोग भएको हतियारका साथै थप प्रमाण सङ्कलन गरेर अभियुक्त चाडै सार्वजनिक गर्ने तयारी गरेका छौ’ उनले भने ।
गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो ।
मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ । प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरेको छ
पारिवारीक दुश्मनीका कारण घटना भएको प्रहरीले जनाएको छ । मृतकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ ।
घटना एकाबिहानै भएको पनि अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार घटना साढे ५ देखि ६ बजेको बीचमा भएको देखिएको छ । कार्कीले सुरुमा तेजबहादुरलाई प्रहार गरेको र त्यसपछि क्रमशः पालैपालो अरूलाई प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।