\
भदौ २१ गते संखुवासभाको मादी नगरपालिका-१ उम्लिङमा एक परिवारका ६ जनाको हत्या भयो । हत्याबारे प्रहरीलाई खबर आएपछि तत्कालै प्रहरी घटनास्थलमा पुग्यो ।
सुरुमा प्रहरी घटनास्थलमा पुगेर देखेको सबै प्रमाणलाई सुरक्षित बनायो । त्यसपछि घटना स्थितिबारे माथिल्लो निकायलाई खबर गर्याे । घटनाको वस्तुस्थिति जानकारी लिएर माथिल्लो निकायले दिएको निर्देशन अनुसार घटनास्थलमा रहेको प्रहरीले काम गर्दै गयो ।
त्यसपछि केही घण्टामा संखुवासभाका डिएसपी लालध्वज सुवेदीको नेतृत्वमा एक टोली घटनास्थलमा पुग्यो । अनि सुरु भयाे गहन अनुसन्धान । तर हत्यारा समक्ष पुग्न सकेन ।
यो टोलीले अनुसन्धान गरिरहेकै बेला थप सहयोग गर्न काठमाडौंबाट प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी रुगम कुँवरको नेतृत्वमा विशेष टोली घटनास्थलतर्फ पठायो ।
नेपाल प्रहरीको विशेष टोलीले घटनाका अनुसन्धान थाल्यो । हत्यारा समक्ष पुग्ने कुनै प्रमाण भेटिरहेको थिएन । घटनास्थलमा रहेका दुईवटै टोलीले मिलेर संयुक्तरुपमा अनुसन्धान गर्न थाले ।
यहीक्रममा घटनाको अनुसन्धान सुरु भयो एउटा ‘क्लु’ बाट । त्यो ‘क्लु’ थियो- सुरुमा प्रहरीलाई सबै शव देखाउने व्यक्ति । अर्थात् लोकबहादुर कार्की बने प्रहरीको अनुसन्धानको ‘क्लु’ ।
तेजबहादुर कार्कीसहितका परिवारको शव फरक–फरक चार स्थानमा फेला परेको थियो । ती सबै ठाउँमा पुगेर लोकबहादुर कार्कीले शव देखाएका थिए । यसरी यत्रतत्र छरिएका सबै शव देखाएपछि प्रहरीलाई यिनीमाथि शंका उब्जेको थियो ।
त्यसपछि प्रहरी अनुसन्धानको ‘सुइ’ मोडियो लोकबहादुरतर्फ । प्रहरीले यिनको गतिविधि, रवैयामाथि निगरानी बढाउन थाल्यो ।
घटनाको अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार अनुसन्धानको नजिक पुग्न प्रहरी लोकबहादुरमाथि निगरानी बढाउनुको साथै अन्य पाटोमा पनि अनुसन्धान गरिरहेको थियो । शंकास्पद आरोपीको धेरै नजिक पुगेपछि प्रहरीले सोधपुछ थाल्यो । अनि प्रहरीलाई सफलता मात्रै मिलेन, आरोपीलाई पक्राउ गर्न सफल भयो जसले अपराध स्वीकार गरिसकेको भनाई प्रहरीको छ ।
प्रहरी नियन्त्रणमा रहेका २६ वर्षीय लोकबहादुर कार्की हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्कीका भतिजा हुन् ।
बयानमा लोकबहादुरले के भने त ?
घटना भएको पाँच दिनपछि प्रहरीले शंकास्पद आरोपी लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका लोकबहादुरसँग अहिले बयान लिने काम भइरहेको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार लोकबहादुरले घटना घटाएको स्वीकारी सकेका छन् । अनुसन्धानका क्रममा लोकबहादुरले दिएको बयान उद्धृत गर्दै ती प्रहरीले भने, ‘रिसिबीका कारण हत्या गरेको हुँ । मृतक तेजबहादुर कार्कीको परिवारले सधैं आफूलाई गिज्याउने काम गर्थ्याे । भदौ २१ गते पनि त्यही काम गर्याे । आवेगमा आएर मैले हत्या गरें ।’
अनुसन्धानमा संलग्न ती प्रहरी अधिकृतका अनुसार हत्या भएको दिन विहान तेजबहादुर र लोकबहादुरबीच सामान्य विवाद भएको थियो ।
यही विवादका कारणले आवेगमा आएर लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको हत्या गरेको अनुसन्धानले देखाएको छ ।
प्रहरी पनि रिसिबीका कारण परिवारको हत्या भएको भन्ने निष्कर्षमा पुगेको छ । घटनाको अन्य पाटोमा पनि अनुसन्धान सुरु भइरहेको प्रदेश-१ प्रहरी कार्यालयले जनाएको छ ।
गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमागरी एकै परिवारका ६ जनाको हत्या भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।