आत्महत्या रोक्न हेल्पलाइन, कसरी गर्छ काम ?

नेपालमा हरेक दिन १६ जनाले आत्महत्या गर्छन् । आत्महत्या गर्नुको विविध कारण छन् । आत्महत्या रोक्नका लागि विभिन्न प्रयास पनि भइरहेका छन् । तर, ती प्रयास प्रभावकारी देखिएका छैनन् । 

आत्महत्या रोकथामका लागि भन्दै राष्ट्रिय हेल्पलाइन सञ्चालनमा ल्याइएको छ । लगनखेलमा रहेको मानसिक अस्पताल र बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपाल (टिपिओ)ले राष्ट्रिय हेल्पलाइन नम्बर सञ्चालनमा ल्याएका हुन् । ११६६ नम्बरमा चौबीसै घण्टा निःशुल्क कल गरेर सेवा लिन सकिनेछ । यो नम्बर आत्महत्या वा आत्महत्याको सोच आइरहेका व्यक्तिलाई लक्षित गरी त्यसलाई न्यूनीकरण गर्न सञ्चालनमा ल्याइएको हो । 

फोन गर्दा कसरी रोकिन्छ आत्महत्या ?   

कोही पनि आत्महत्या गर्न लागेको व्यक्तिले म मर्न लागेँ भनेर त पक्कै पनि फोन गर्दैन होला । गरिहाले पनि तत्काल उद्धार पनि त सम्भव हुँदैन होला । यो हेल्पलाइन नम्बर सञ्चालनमा ल्याउनुका उद्देश्य भनेको आत्महत्या गर्नेसम्म सोच बनाएको कोही व्यक्ति छ भने उसलाई काउन्सिलिङ दिन सकिने गरी ल्याइएको हो । 

यदि कोहीको मनमा गाह्रो महसुस हुन्छ, तनाव हुन्छ, आफैँलाई हानि पुर्याउन वा दुःख दिन मन लाग्छ भने त्यो व्यक्तिले उक्त नम्बरमा फोन गरेर मनोपरामर्श सेवा लिन सक्छ । तालिमप्राप्त मनोपरामर्शदाताले त्यस्तो सोचबाट बाहिर आउन मद्दत गर्नेछन् । 

यो नम्बरमा फोन गर्दा भएका कुराकानी सबै गोप्य रहने टिपिओले जनाएको छ । आफ्नो मनमा भएको तनावबारे कुरा गरेर मन हल्का बनाउन, आफ्नो सहयोगी पत्ता लगाउन, मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्शदाताको सहयोगबारे थाहा पाउन यो नम्बरमा फोन गर्न सकिन्छ ।  



सबैभन्दा महत्वपूर्ण कुरा आत्महत्या तथा आत्महानिको सोच आउनु भनेको आफैँमा ठूलो समस्या भएका कारण यो समस्याबारे कुराकानी गर्न र यस्तो सोचबाट बाहिर आउनको लागि फोनमार्फत सेवा लिन सकिन्छ ।

आत्महत्या रोकथाम गर्न एक व्यक्तिले मात्र सम्भव छैन । त्यसका लागि सबैको उत्तिकै जिम्मेवारी छ । सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्न सकियो भने आत्महत्या रोकथाम गर्न सकिन्छ । 



आफूलाई आफ्ना नजिकका साथीभाइ वा नातेदारमा आत्महत्याको जोखिममा रहेको देखेमा नआत्तिई संवेदनशील भएर तुरुन्तै नजिकको मनोचिकित्सक वा  मनोपरामर्शदातालाई सम्पर्क गर्न मानसिक अस्पतालले आग्रह गरेको छ । 

आत्महत्याको सोच आउनु एक मानसिक स्वास्थ्य समस्या भएको मनोविद् गोपाल ढकालको भनाइ छ । सामाजिक तथा व्यावहारिक कारणले यी सोच अझै बढ्न सक्ने उनको भनाइ छ । मानसिक स्वास्थ्य सेवा र मनोपरामर्श लिएमा यो समस्या पूर्ण रुपमा निको हुने उनले बताए । 

कोरोना महामारीका कारण आत्महत्या गर्नेको संख्या विगतको तुलनामा बढेको प्रहरीको तथ्यांकले पनि देखाएको छ । हरेक वर्ष ५ हजारभन्दा बढीले आत्महत्या गरिरहेका छन् । 

आत्महत्या गर्ने व्यक्तिमध्ये ९५ प्रतिशतलाई कुनै न कुनै किसिमको मानसिक रोग हुने विभिन्न अध्ययनले देखाएको छ । ५ प्रतिशत मानिसले मात्र एक्कासि तनावपूर्ण अवस्थामा आएर आत्महत्या गर्ने गरेको मनोविद् ढकालको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले आत्महत्याका कारण विश्वमा प्रत्येक वर्ष ७ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको जनाएको छ । तीमध्ये ७७ प्रतिशतभन्दा बढी आत्महत्याका घटना नेपालजस्ता कम तथा मध्यम आय भएका देशमा हुने गरेको विश्व स्वास्थ्य संगठनको दाबी छ । 

  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १६:३७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया