प्रतिस्थापन विधेयक जनताप्रति समर्पित : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताएकी छन् । किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले हिजो ल्याएको प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताएकी हुन् ।

‘आन्दोलनमा त्याग गरेका व्यक्तिका परिवारलाई सम्मान र राहतको व्यवस्था गरिएको छ । कोरोनाबाट संकटमा परेका नागरिकलाई राहत, बेरोजगारलाई रोजगार दिने योजना, आर्थिक तथा भौतिक विकासलाई जोड दिएर बजेट आएको छ,’ उनले भनिन् ।

मन्त्री भुसालले आगामी आवको बजेट पनि राष्ट्रको हित र जनताको भावना सम्बोधन गर्ने गरी नै आउने विश्वास दिलाइन् । उनले गरिब, विपन्न जनतालाई राहत दिने उद्देश्यले आफूले मासिक २० युनिट बिजुली खपत गर्ने परिवारलाई निःशुल्क उज्यालो दिने निर्णय गरेको बताइन् ।

मन्त्री भुसालले स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउन तथा खाना पकाउने एलपी ग्यासको आयातबाट हुने व्यापार घाटा न्यूनीकरण गर्न आफूले विद्युत् महसुल घटाएको बताइन् ।

‘अहिले जसले बढी बिजुली बाल्यो, उसले बढी महसुल तिर्नु परेको अवस्था छ, विद्युत् नियमन आयोगले निर्णय गरेपछि लागू हुन्छ,’ उनले भने ।

जातीय सामाजिक संस्था ‘किरात याक्थुङ चुम्लुङ’ को ३३ वर्षअघि स्थापना भएको हो । यस संस्थाको देशका नौ जिल्लामा र किरात जाति रहेका विश्वका १९ देशमा यस संस्था क्रियाशील छ ।



सो अवसरमा संस्थाका केन्द्रीय अध्यक्ष योगराज बानेमले नेपाल जातीय रंगीनता रहेको उल्लेख गर्दै यसको संरक्षणका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

संस्थाका ललितपुर जिल्ला अध्यक्ष रामबहादुर खख्खिम लिम्बूले संस्थाका गतिविधिबारे जानकारी गराए । कार्यक्रममा बिजुली बत्ती भूमिगत गर्न तथा खानेपानीको समस्या रहेको भन्दै समाधान गरिदिन आग्रह गरिएको थियो ।



सो अवसरमा मन्त्री भुसालले ललितपुर महानगरपालिका–१४ स्थित लिम्बू संग्रहालय परिसरमा निर्मित अतिथिगृहको उद्घाटन समेत गरेकी थिइन् ।

  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १८:४२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया