प्रमुख प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । स्थगित भएको बैठक सुरु भएको भने छैन ।
बैठक सहज तरिकाबाट चलाउनका लागि सभामुख अग्निप्रसाद सापकोटाले एमाले नेताहरूसँग परामर्श गरिरहेका छन् । सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेका छन् ।
सभामुखको च्याम्बरमा भइरहेको छलफलमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी भएको सभामुखको सचिवालयले जनाएको छ ।
एमाले सांसदले ‘संसदीय मर्यादा कायम गर’भन्दै एमाले सांसदहरूले राेस्टम घेराउ गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १५ मिनेटका लागि बैठक अवरुद्ध गरेका थिए ।
प्रतिनिधिसभाको नवौं अधिवेशन सुरु भएसँगै एमालेले निरन्तर विरोध गरिरहेको छ । एमालेले प्रमुखतः सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति प्रश्न उठाउँदै आएको छ ।
संसद बैठकअघि सुरु भएको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले अवस्था अनुसार संसद बैठक विरोध गर्न सांसदहरूलाई सुझाएका थिए । ‘पदीय मर्यादा कायम गर’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’ लगायतका नारा सांसदहरूले लगाइरहेका छन् ।
सभामुख सापकोटाले भने संसद चल्न दिनका लागि अनुरोध गर्दै नारा रोक्नका लागि सांसदहरूलाई अनुरोध गरेका थिए । ‘नेपालको संविधानको धारा १०५ ले न्याय निरुपणका लागि सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा संसदभित्र कुनै बहस गर्न बन्देज लगाइएको व्यहोरा जानकारी गराउन चाहन्छु’,सभामुख सापकोटाले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।