संखुवासभा हत्या : यी तीन ‘क्लु’, जसले आरोपितलाई ल्यायो कठघरामा

संखुवासभाको मादी नगरपालिका-१ स्थित उम्लिङमा भएको एकै परिवारका ६ जनाको विभत्स हत्या घटनामा सात दिनपछि प्रहरीले दोषी सार्वजनिक गरेको छ । संखुवासभा प्रहरीले इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलनमा लोकबहादुर कार्की नातामा मृतक तेजबहादुरको भतिजा पर्ने रहेको प्रहरीले जनाएको छ । 

प्रहरी नियन्त्रणमा रहेका लोकबहादुर एक्लैले चिर्पटले हानेर सातै जनाको हत्या गरेको बयान दिएको पत्रकार सम्मेलन प्रहरीले जानकारी दिएको छ । गत सोमबार मादीको उम्लिङ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी रञ्जना, पनाति ८ वर्षका विपिन र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । 

घरका जेठा सदस्य ९० वर्षीय बौद्धमान कार्की मात्रै बाँच्न सकेका हुन् । सबैको शव घर नजिकैको फरक-फरक स्थानमा फेला परेको थियो । 

किन भयो हत्या ?

गाउँमा तेजबहादुरको परिवार सम्पन्न हुँदै गइरहेको थियो । त्यहीकारण अभियुक्तका हजुरबुवा मर्ने बेलामा तेजबहादुरलाई भेटेर आफ्नो छोरा लोकबहादुरको रेखदेख गरिदिन आग्रह गरेका थिए । यही वचनको आधारमा बेलाबेलामा तेजबहादुरले लोकबहादुरसँग भेटघाट गरिरहन्थे, काम पनि लगाउँथे । पैसा पनि दिन्थे । कुनै बेला लोकबहादुरलाई अह्राएको काम नगर्दा ‘पागल, अल्छी’ भनेर गाली पनि गर्थे । यही गालीलाई आरोपित लोकबहादुरले मनमा गम्भीर रुपमा लिएको प्रहरीसमक्ष बताए ।



मृतक तेजबहादुरमा रहेको यो एउटा अवगुणले नै लोकबहादुरले सबैको ज्यान लिए । आरोपित लोकबहादुरले प्रहरीमा भनेका छन्, ‘तेजबहादुरमा अरूलाई होच्याउने प्रवृत्ति थियो, म बेरोजगार रहेकाले सधैं ताना मार्थेँ, जुन कारणले ईख लाग्यो । साथै, आफ्नो सिकिस्त आमाको उपचारको लागि काका तेजबहादुरसँग ऋण पनि लिएको थिएँ, जग्गा बेचेर त्यो पैसा तिरेपछि हीनताबोध भइरहेको थियो । यसरी मनमा आवेग बढ्दै गयो, अनि हत्या गरेँ ।’

यसरी भयो हत्या



प्रहरीमा दिएको बयानमा उनले भनेका छन्- ‘मेरो तेजबहादुरलाई मात्रै मार्ने योजना थियो, तर पोल खुल्ने डरले सबैलाई मारेँ ।’ 

घटना विवरण सुनाउँदै लोकबहादुर भन्छन्, ‘सोमबारको कुरा हो । एकाविहानै तेजबहादुरलाई बाहिर निस्केको देखेँ, अनि म पनि पछ्याउँदै गएँ । घरनजिकै रहेको दाउराको चाङबाट एउटा चिर्पट निकालेँ । अनि सुनसान ठाउँ आएपछि त्यही चिर्पटले पछाडिबाट टाउकोमा तेजबहादुरमाथि आक्रमण गरे । आक्रमण गर्दा गुहार भन्दै तेजबहादुरले कराएको आवाज सुनेर श्रीमती कमला र बुहारी रञ्जना दौडेर नजिक आइपुगे । ती दुवैजनाले हत्या गरेको देखिसकेपछि आफ्नो पोल खुल्ने डरले फेरि त्यही चिर्पटले कमला र बुहारी रञ्जनाको पनि हत्या गरेँ ।’ 

यी तीनै जनाको हत्या गरेको घटना अर्का दुई नाबालकले पनि देखे । त्यसपछि फेरि पोल खुल्ने डरले ती दुई नाबालकलाई पनि लखेटीलखेटी मारेको लोकबहादुरले प्रहरीमा बयान दिएका छन् ।

यसरी पाँच जनालाई बाहिरै मारिसकेपछि ती घटनाको आवाज सुनेकी घरमा हजुरआमा (पार्वती कार्की)ले देखेको हुन सक्ने ठान्दै लोबहादुरले उनीमाथि आक्रमण गरेर मारेको प्रहरीसमक्ष बताएका छन् ।

कसरी दोषी नजिक पुग्यो प्रहरी ?

हत्या गरिसकेपछि लोकबहादुरले आफू हत्यारा होइन भन्ने पार्न सबैखाले प्रयत्न गरे । उनले हत्याबारे थुप्रै मिडियामा अन्तर्वार्ता पनि दिए । तर, प्रहरीले गरेको अनुसन्धानबाट उनी जोगिन सकेनन् ।

प्रहरीले सुरुमा हत्या आर्थिक कारणले भएको ठानेर आफ्नो अनुसन्धान त्यतातर्फ मोडेको थियो । तर, जब आर्थिक कारणले हत्या नभएको निक्र्योल प्रहरीले निकाल्यो, अनि घटनाको अनुसन्धान नयाँ ढंगमा सुरु भयो । घटना पेचिलो बन्दै गएपछि प्रहरीले आफ्नो अनुसन्धान विभिन्न पाटोबाट अघि बढायो । संखुवासभा प्रहरीका अनुसार यो क्रममा प्रहरीले धेरैजनासँग सोधपुछ पनि गर्‍याे ।

अनुसन्धान गर्दै जाँदा सबैभन्दा पहिलो आधार घटनानजिक भएको ठाउँलाई पनि मानियो । सबैभन्दा नजिक घर थियो-आरोपित लोकबहादुरको । त्यहाँ वरपरबाट हत्या भएको हुन सक्ने पनि प्रहरी अनुमान थियो । यही आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा फेला पार्‍याे - रगत लतपतिएको एउटा सर्ट, यो प्रहरीको दोस्रो आधार भयो । 

यही सर्टले प्रहरीको मनमा थप शंका बढायो, जुन परीक्षणको लागि विधि विज्ञान प्रयोगशालामा पनि ल्याइयो । यी दुईवटा अनुसन्धान गर्दा प्रहरीलाई मिलेको अर्को सूचनाले प्रमाण जुटाउन थप बल पुग्यो । त्यो थियो- आरोपितले नै मृतकहरूको शव यो-यो ठाउँमा रहेको छ भनेर खबर गरेका थिए । 

यो सूचनाले प्रहरीको अनुसन्धानलाई साँघुरो बनायो, अनि प्रहरीले लियो लोकबहादुरलाई नियन्त्रणमा । प्रहरी नियन्त्रणमा आइसकेका लोकबहादुर त्यसपछि भटाभट आफ्नो अपराध स्वीकार्दै गए, जसले गर्दा हत्या भएको एक साता नबित्दै दोषीलाई प्रहरीले कानुनी कठघरामा ल्याउन सफल भयो ।  

पाँच दिन के-के भयो ?

हत्याबारे प्रहरीले खबर पाएपछि तत्कालै घटनास्थलमा पुग्यो । सुरुमा प्रहरीले घटनास्थलमा पुगेर देखेको सबै प्रमाणलाई सुरक्षित बनायो । त्यसपछि घटनास्थितिबारे माथिल्लो निकायलाई खबर गर्‍याे । घटनाको वस्तुस्थिति जानकारी लिएर माथिल्लो निकायले दिएको निर्देशन अनुसार घटनास्थलमा रहेको प्रहरीले काम गर्दै गयो । 

त्यसपछि केही घण्टामा संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टोली घटनास्थलमा पुग्यो । अनि सुरु गर्‍याे गहन अनुसन्धान । यसबीचमा अनुसन्धान गर्न कुकुरको पनि अर्को टोली पठाइएको थियो । तर, त्यो टोलीबाट अनुसन्धानमा सहयोग मिलेको थिएन । 

त्यसपछि प्रहरीको टोलीले अनुसन्धान गरिरहेकै बेला त्यसलाई थप सहयोग गर्न केन्द्रीय अनुसन्धान ब्युरोबाट डिएसपी रुगम कुँवरको नेतृत्वमा अर्को टोली पनि पठाइयो । घटनास्थलमा यो दुईवटै टोली मिलेर संयुक्तरुपमा अनुसन्धान गर्न थाल्यो । यसरी प्रहरी दोषीको धेरै नजिक पुगेपछि सोधपुछ थाल्यो । अनि प्रहरी दोषीलाई समाउन नै सफल भयो ।

  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १५:५४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया