तालिबानको आदेश– युवतीहरु हिजाब लगाएर पढ, पुरुष शिक्षक पर्दा पछिबाट पढाउ

तालिबानको शासन सुरु भएपछि अफगानिस्तानमा युवतीको शिक्षालाई लिएर अन्योलताबीच तालिबानले विश्वविद्यालयलाई लिंगका आधारमा छुट्याउने बताएको छ ।

साथै अब नयाँ इस्लामिक ड्रेस कोडको पनि सुरुवात गरिनेछ । नयाँ शिक्षामन्त्री अब्दुल बकी हक्कानीले पत्रकारसँगको कुराकानीमा सहशिक्षा अर्थात युवा र युवतीलाई सँगसँगै पढ्ने अनुमति नदिइने बताए । उनले विश्वविद्ययालयमा पढाउने विषयको पनि समीक्षा गरिने घोषणा गरेका छन् ।

तालिबानले पहिलो शासनकाल सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानका स्कुल र विश्वविद्यालयमा महिला र बालिकालाई पढ्न रोक लगाएको थियो । तालिबानले नयाँ उच्च शिक्षा नीतिको घोषणा देशको राष्ट्रपति भवनमा झण्डा फहराएको एक दिनपछि घोषणा गरेको थियो । जो उनीहरुको शासनको सुरुवातको संकेत हो । 

‘मुस्लिमहरुले स्वीकार गर्छन्’

नयाँ नीति अफगानिस्तानमा तालिबानको कब्जाभन्दा पहिले लागू रहेको शिक्षा नीति भन्दा धेरै फरक छ । यसअघि विश्वविद्यालयमा सहशिक्षालाई स्वीकार गरिएको थियो ।

जहाँ पुरुष र महिलालाई एक साथ पढ्ने अनुमति थियो र छात्राहरुले ड्रेस कोडको पालना गर्नु पर्दैन थियो । तर शिक्षामन्त्री हक्कानीमा को–एजुकेशन अन्त्य गर्ने निर्णयलाई लिएर कुनै अफसोसको भाव देखिएन । उनले भने, ‘हामी सहशिक्षा व्यवस्था अन्त्य गर्नुमा कुनै समस्या छैन । मानिसहरु मुस्लिम छन् र उनीहरुले यसलाई स्वीकार गर्नेछन् ।’ 



‘पर्दापछिबाट पुरुष शिक्षकले पढाउन सक्ने’

तालिबानले घोषणा गरेको नयाँ शिक्षा नीतिबाट महिलाहरु शिक्षाबाट टाढा हुने कतिपयको बुझाई छ । किनकि अहिले अलग कक्षा सञ्चालन गर्नका लागि पर्याप्त भौतिक संसाधन छैन ।  



तालिबानले भने महिला शिक्षकको संख्या पर्याप्त रहेको र नभएको स्थानमा अर्को विकल्प खोज्ने बताएको छ । हक्कानीले भने, ‘यो सबै विश्वविद्यालयको क्षमतामा निर्भर गर्छ । हामी पर्दा पछिबाट पढाउनका लागि पुरुष शिक्षक या प्रविधिको सहयोग लिन सक्छौं ।’ 

देशका प्राथमिक र माध्यमिक विद्यालयमा छात्राहरुलाई अलग अलग शिक्षा दिइनेछ । यो रुढीवादी अफगानिस्तानमा पहिलेदेखि नै चलिआएको थियो । अब छात्राहरुले हिजाब लगाउनुपर्नेछ । तर हक्कानीले हेडस्कार्फ लगाउँदा हुने हो या पूरै अनुहार ढाक्ने भन्ने बारेमा केही बताएनन् । 

इस्लामिक पाठ्याक्रम बनाउने चाहाना

उनले देशका विश्वविद्यालयमा पढाई हुने विषयमा पनि समीक्षा गरिने बताए । हक्कानीले पत्रकार सम्मेलनमा भने, ‘तालिबान वाजिब र इस्लामी पाठ्याक्रम बनाउन चाहन्छ । जो हाम्रो इस्लामी, राष्ट्रिय र ऐतिहासिक मूल्य अनुरुप होस् । अर्कोतर्फ उनीहरु अन्य देशसँग प्रतिस्पर्धा गर्न पनि सक्षम हुन सकुन् ।’

उच्च शिक्षाको नयाँ नीतिको घोषणा काबुलको शहीद रब्बानी शिक्षा विश्वविद्यालयमा महिलाले तालिबानको लैंगिक नीतिको समर्थनमा गरिएको प्रदर्शनपछि घोषणा गरिएको हो ।

शनिबारको प्रदर्शनमा सामेल भएका सयौं महिलामध्ये अधिकांशले कालो नकाब लगाएर हातमा तालिबानको झण्डा बोकेका थिए । प्रदर्शनका क्रममा तालिबानको नयाँ शासनको तारिफ गर्नुका साथै महिला अधिकारको माग गर्नेको आलोचना गरिएको थियो । बिबिसीबाट अनुवादित तथा सम्पादित  
 

  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार ८:४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया