एमालेको अवरोधबीच पनि राष्ट्रियसभाबाट लोक सेवा आयोग विधेयक-२०७८ पारित
फाइल फाेटाे

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक-२०७८ पारित गरेको छ । 

राष्ट्रियसभाको दोस्रो बैठक पनि एमालेका सांसदहरूले अवरुद्ध पारेका थिए । तर, अवरोधकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक-२०७८ निर्णयार्थ पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए । 

सो प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएको राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गरे । यसअघि एमालेकी सांसद कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा नदिई बैठक सूचारु हुन नदिने अडान राखेकी थिइन्।

उनले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी फुटाउने कामले लोकतन्त्रलाई समाप्त गर्ने भएकाले आफ्नो पार्टीले सभामुख सापकोटाको आफ्नो दल फुटाउने षडयन्त्रविरुद्ध उभिनु परेको पनि पटकपटक दोहोर्‍याइन् ।

बैठकले राष्ट्रियसभाका पूर्वसांसद रुक्म शमशेर राणाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । राणा २०४८ सालमा राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । 

राष्ट्रियसभाको अर्को बैठक आगामी भदौ ३० गते बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १४:१४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया