ओलीले इन्चार्ज घोषणा गरेको भोलिपल्टै लेखराज सुटुक्क सुदूरपश्चिममा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई नै दिएको भोलिपल्ट उनी गृहप्रदेश सुदूरपश्चिम पुगेका छन् । कार्यकर्तालाई समेत थाहा नै नदिई उनी सुटुक्क सुदूरपश्चिम पुगेका हुन् । उनी सोमबार यहाँ आइपुग्ने भन्नेबारे उनीनिकट कार्यकर्तालाई समेत थाहा थिएन।

सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयलाई लिएर एमाले उपाध्यक्ष भीमबहादुर रावल र भट्टबीच विवाद चलिरहेकै आइतबार अध्यक्ष ओलीले भट्ट र्नै सुदूरपश्चिम प्रदेश इन्चार्ज भएको बताएका थिए । कैलाली पुगेका भट्टले गृहक्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधिलगायत कार्यकर्तासँग भेटघाट गरेका छन् ।

इन्चार्ज लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले मंगलबार कञ्चनपुरको सुख्खा बन्दरगाह र गेटा मेडिकल कलेज सञ्चालनका विषयमा छलफलमा भाग लिन कैलाली पुगको बताए । गेटा मेडिकल सञ्चालको विषयमा बुधबार छलफल हुने छ ।

 ‘त्यस्तो नयाँ केही होइन, विकासका सवालमा छलफल गर्न इन्चार्जज्यू कैलाली पुग्नुभएको हो,’ स्वकीय सचिव ओझाले भने, ‘दुई दिनसम्म यहाँका विकास निर्माणका काममा छलफल हुनेछ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज भट्टलाई नै दिएपछि पार्टीलाई गतिशील बनाउने भन्दै भट्ट सुदूरपश्चिम आएको बताइएको छ । 

एमाले उपाध्यक्ष रावल माधवकुमार नेपाल समूह त्यागेर ओलीसँग मिसिएका थिए । उनले सुदूरपश्चिमको इन्चार्ज आफू हुनुपर्छ भन्ने माग अघि सारे पनि पार्टी एकताको मर्मअनुरुप भट्ट नै त्यहाँको इन्चार्ज भएको घोषणा आइतबार ओलीले गरेका थिए । 



त्यसपछि केही नबोली रावल बालकोटबाट बाहिरिएका थिए । पछि एमाले संसदीय दलको बैठकमा सामेल नभएका रावल साँझपख सिंहदरबारमा आफूनिकट केही सांसदहरुसँग बसेका थिए । बैठकमा पछिल्लोपटक ओलीसँग भएको १० बुँदे सहमति कार्यान्वयका लागि अन्तिम प्रयास गनुपर्ने निष्कर्ष निकालिएको थियो ।

रावलले आफूले सुदूरपश्चिमको इन्चार्ज नपाए पार्टी त्याग्नुपर्ने अवस्था आउन सक्ने भन्ने अभिव्यक्ति आफूनिकट बैठकमा दिएको त्यहाँ सहभागी एक नेताले बताए । तर, हतारमा कुनै पनि निर्णय लिने मुडमा रावल नभएको उनको भनाइ छ । 



नेकपा माओवादी केन्द्रसँग एकता हुनुपूर्व रावल सुदूरपश्चिमको संयोजक थिए । तर, एमाले ब्युँतिएपछि रावलसँगको विवाद कायमै रहेका बेला ओलीले सुदूरपश्चिमको इन्चार्ज भट्टलाई बनाएका थिए । त्यही निर्णय नै मान्नुपर्ने अडानमा ओली छन् । 

अन्य प्रदेशमा १० बुँदे सहमतिअनुसार पार्टीमा काम भइरहेका बेला सुदूरपश्चिममा भट्ट र रावलबीच इन्चार्ज बन्ने विषयमा विवाद हुँदा अरु काम ठप्प भएको थियो ।

आफू सुदूरपश्चिम इन्चार्ज भएको भन्दै पार्टीको काममा भट्ट लागिसकेको अवस्थामा रावलले अब के गर्छन् भन्ने स्पष्ट आइसकेको छैन । नेता भीम रावल समेत केही दिनमा सुदूरपश्चिम आउने बताइएको छ ।

  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १८:११:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया