आइतबार राजधानीको कलंकीबाट अवैध लागुऔषध ‘पोल्याण्ड’ बरामद भयो । नेपाल प्रहरीले राजधानीबाटै पोल्याण्डसहित एक जनालाई आइतबार नियन्त्रणमा लियो ।
विशेष सूचनाको आधारमा राजधानी प्रहरीले कलंकीबाट तीन किलोग्राम पोल्याण्डसहित एक जनालाई पक्राउ गरेको हो । मकवानपुर थाहा नगरपालिका घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने २२ वर्षीय राजेन्द्र अर्याल प्रहरी टोलीको फन्दामा परेका हुन् ।
पोल्याण्ड, अर्थात् अवैध लागुऔषध । यो नाम अवैध लागूऔषधमा सूचीकृत छ । यसको सीधा अर्थ खरिद–बिक्री गर्न बन्देज हुनु हो । तर, पछिल्लो समय राजधानी काठमाडौंमा यसको अधिक प्रयोग हुन थालेको पाइएको छ ।
चेकजाँच गर्ने क्रममा प्रहरीले अर्यालको साथबाट पोल्याण्ड बरामद गरेको थियो । पक्राउ परेका अर्याललाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको कालीमाटी प्रहरीले बताएको छ ।
कुन वर्षमा कति ?
नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने, मुलुकमा अवैध लागुऔषध पोल्याण्ड बरामद हुने क्रम घटेको छैन । विगत दुई आर्थिक वर्ष र चालू आवको तथ्यांकमा प्रहरीले देशभरबाट १२ किलोग्राम पोल्याण्ड बरामद गरिसकेको छ ।
प्रहरी अभिलेखमा आव ०७६÷०७७ मा तीन किलो पोल्याण्ड बरामद भएको छ । यसैगरी आव ०७७÷०७८ मा पाँच किलो बरामद भएको प्रहरी अभिलेख छ । चालू आवको भदौ महिनासम्ममा चार किलो पोल्याण्ड बरामद भएको प्रहरी अभिलेख छ ।
उपत्यकामा बढी बरामद
प्रहरीले थुप्रै प्रकारका लागुऔषध देशका विभिन्न ठाउँबाट बरामद गर्दै आएको छ । तर, पोल्याण्ड भने उपत्यकाबाटै बरामद भइरहेको देखिन्छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकमा बरामद भएको लागुऔषध पोल्याण्ड सबै नै उपत्यकाबाट फेला परेको छ ।
के हो पोल्याण्ड ?
लागुऔषध पोल्याण्ड खासमा गाँजाको धूलो हो । विशेषगरी चरेस बनाउने उद्देश्यले यसको प्रयोग गरिन्छ । नेपालमा ८० को दशकमा चरेस बनाउन हातमा घोटेर चोप निकाल्दै चरेस बनाइन्थ्यो, जुन झन्झटिलो थियो ।
त्यसपछि पोल्याण्डका नागरिकले नेपालमा पाइने लागूऔषधबारे थाहा पाए । उनीहरु त्यसैको सेवनका लागि ८० को दशकमा नेपाल आए । उनीहरु नेपाल आइसकेपछि मकवानपुर र धादिङ जिल्ला पुगेर सजिलो तरिकाले चरेस बनाउन सिकाए ।
उनीहरुले गाँजाको बोटलाई काटेर सुकाउने अनि त्यसको पात र झुप्पालाई माड्ने, त्यसपछि तयार हुने धूलोबाट चरेस बनाउन सिकाए । कतिपय नेपाली नागरिकले पनि यही तरिकाले चरेस बनाउन थाले । यही तरिकालाई नै त्यो बेलादेखि ‘पोलिस’ वा पोल्याण्डको नामसँग जोडियो । लागुऔषध कारोबारीहरु त्यहीबेलादेखि गाँजाको धूलोलाई पोल्याण्ड भन्न थाले । प्रहरीले पनि त्यो लागूऔषधलाई पोल्याण्ड नै भन्न थाल्यो ।
किन राजधानीमै बढी ?
प्रहरी तथ्यांकले यो लागुऔषध उपत्यकामा बढी फेला परेको देखिन्छ । राजधानीमा बढी फेला पर्नुको पछाडि मुख्यतः दुईवटा कारण रहेको प्रहरीको विश्लेषण छ ।
प्रहरी विश्लेषणमा पोल्याण्ड राजधानीमा मात्रै पाउनुको पछाडि पहिलोमा, उपत्यकामा धेरै जनसंख्या हुनु र दोस्रोमा हवाईमार्ग भएर बाहिर जान सहज हुनु हो ।
प्रहरी भन्छ– ‘किनकि यहाँ धेरै जनसंख्या छ, त्यही भएर यसको प्रयोग पनि यहीँ नै बढी हुन्छ । अर्को कुरा, राजधानीको बाटो भएर अन्तर्राष्ट्रिय बजारमा जान सहज भएकोले पनि यो बढी उपत्यकामै भित्रिने गरेको छ ।’
कालीमाटी प्रहरी वृत्तका डिएसपी अपिल बोहोराका अनुसार यो एक लागुऔषध गाँजाको धूलो हो, जुन कच्चा पदार्थ हो । उनले भने, ‘यही कच्चा पदार्थमा केही केमिकल मिसाएर चरेस बनाउने गरिन्छ, जुन महँगो पनि हुन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।