तालिबानमा आयो फुट, स्रोत भन्छ–मुल्ला गनी बरादरले छाडे काबुल

तालिबानले अन्तरिम सरकार घोषणा गरेसँगै संगठनमा विभाजन आएको छ । तालिबानका एक वरिष्ठ अधिकारीले संगठनमा फुट देखिएको उल्लेख गरेका छन् । 

उनले राष्ट्रपति भवनमा भएको छलफलका क्रममा तालिबानका सहसंस्थापक मुल्ला गनी बरादर समूह र एक क्याबिनेट मन्त्रीबीच भनाभन भएको थियो । पछिल्ला दिनमा मुल्ला गनी बरादर सार्वजनिक रुपमा नदेखिएपछि तालिबानभित्र विवाद रहेको अनुमान गरिएको हो ।

तालिबानले भने विवाद रहेको भन्ने भनाईको खण्डन गरेको छ। तालिबानले ठीक एक महिनाअघि अफगानिस्तानमाथि नियन्त्रण कायम गरेर इस्लामिक इमिरेट्स घोषणा गरेका थिए ।

तालिबानले गत सातामात्रै नयाँ क्याबिनेट घोषणा गरेको थियो । जसमा सबै पुरुष र दुई दशकदेखि चलिरहेको युद्धका क्रममा आतंकवादी घोषित व्यक्तिहरु थिए । तालिबानको एक सुत्रले बरादर र खलील उर–रहमानबीच आपसी मनाभन भएको जनाएको छ ।

यसपछि दुवै नेताका समर्थकबीच आपसमा संघर्ष भएको थियो । खलील उर–रहमान आतंकवादी संगठनका नेता तथा हक्कानी नेटवर्कका नेता तथा तालिबान सरकारमा शरणार्थीमन्त्री छन् । 

तालिबान सरकारका उपप्रधानमन्त्री बनाइएका बरादर सरकारको संरचनालाई लिएर असन्तुष्ट रहेको बताइएको छ । बरादर आफ्नो कूटनीतिका कारण तालिबानले अफगानिस्तानमा फेरि सफलता पाएको ठान्छन् भने हक्कानी नेताहरु लडाईको माध्यमबाट अफगानिस्तानमा जित हासिल भएको मान्छन् ।



हक्कानी नेटवर्कको कमाण्ड तालिबानका एक शीर्ष नेतासँग छ । बरादर सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिधा कुराकानी गर्ने पहिलो तालिबानी नेता हुन्। यसअघि उनले दोहामा अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता हुने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

अर्कोतिर अफगानिस्तानमा पश्चिमा शक्तिका विरुद्ध वर्षौदेखि हिंसात्मक संघर्षमा सामेल हुँदै आएको थियो । अमेरिकाले आतंकवादी घोषणा गरेको हक्कानी नेटवर्कका नेता सिराजुद्दिन हक्कानी तालिबान सरकारमा गृहमन्त्री छन् ।



सार्वजनिक रुपमा नदेखिएपछि गत साता मुल्ला गनी बरादरको मृत्यु भएको खबर बाहिर आएको थियो । तालिबान स्रोतले भने विवादपछि उनी काबुल छाडेर कान्दाहर गएको बताएको छ ।

सोमबार एक अडियो टेप बाहिर आएको थियो। जसमा उनले आफू यात्राका क्रममा बाहिर रहेको बताएका छन् । अडियोमा उनले आफू जहाँ रहे पनि ठीक रहेको जानकारी दिएका छन् । यो अडियो टेपलाई तालिबानका केही आधिकारिक वेबसाइटमा समेत राखिएको छ ।

तालिबानले सरकारभित्र कुनै विवाद नरहेको र बरादर सुरक्षित रहेको बताएको छ । तर अहिले उनी कहाँ र के गर्दै छन् भन्नेबारेमा फरकफरक भनाई बाहिर आएका छन् ।

तालिबानका एक प्रवक्ताले उनी कान्दहारमा सर्वोच्च नेतासँग भेट्न गएको र उनले आराम गरिरहेको बताएका छन् । तर तालिबानको भनाईमाथि शंका गरिएको छ ।

सन् २०१५ मा आफ्ना संस्थापक नेता मुल्ला उमरको मृत्युको खबर २ वर्षसम्म लुकाएर राखेको खुलासा गरेको थियो । त्यस समयसम्म पनि तालिबानले मुल्ला उमरकै नामबाट वक्तव्य जारी गर्दथ्यो ।

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादालाई लिएर पनि आशंका छन् । उनी अहिलेसम्म सार्वजनिक रुपमा देखिएका छैनन् । उनीसँग तालिबानको राजनीतिक, सेनय र धार्मिक मामिलाको अन्तिम निर्णय गर्ने अधिकार छ ।   
 

  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार ९:४७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया