अफगानिस्तानमा ‘कलमभन्दा बन्दुक ठूलो’, डेढ सयभन्दा बढी मिडिया बन्द
फरकधार / ३० भदौ, २०७८

अफगानिस्तानमा तालिबानले बन्दुकको बलमा कलमको शक्तिलाई दबाउन थालेका छन् । अहिले त्यहाँ निरन्तर मिडिया हाउसहरू बन्द हुन थालेका छन् । अफगानिस्तानलाई तालिबानले कब्जा गरेपछि २० प्रान्तमा हालसम्म १५३ वटा मिडिया संस्थानले आफ्ना गतिविधि बन्द गरेका हुन् ।
 
यसरी आफ्ना गतिविधि बन्द गर्ने मिडिया संस्थानहरूले मुक्त मिडिया संगठनलाई समर्थन गरेका छन् । टोलो न्युजका अनुसार, बन्द हुने मिडिया संस्थानमा रेडियो, प्रिन्ट र टेलिभिजन च्यानलसमेत रहेका छन् । 



मिडिया संस्थान सञ्चालनका लागि अफगानिस्तानमा दुईखाले समस्या देखिएका छन् । पहिलो वित्तीय संकट र दाेस्राे राज्यसत्ताको प्रतिबन्ध । दुवै कारणले अफगानिस्तानमा मिडिया सञ्चालन कठिन बनेको मुक्त मिडिया संगठनले बताएको छ ।

तत्काल मिडियाको आर्थिक संकट नहट्ने र सरकारी प्रतिबन्ध कायमै राख्ने हो भने अफगानिस्तानमा थप मिडिया बन्द हुने अवस्था छ । अफगानिस्तान फेडरेसन अफ जर्नलिस्ट्सका उप्रप्रमुख हुजतुल्लाह मुजादादीलाई उद्दृत गर्दै टोलो न्युजले भनेको छ- ‘यस्तो प्रवृत्तिको निरन्तरताले अफगानिस्तानी मिडियालाई चिन्तामा पारिदिएको छ । हामी अन्तर्राष्ट्रिय संगठनहरूसँग यो समस्या समाधानका लागि तत्काल कारवाही गर्न आग्रह गर्छौं ।’



टोलो न्युजका प्रतिनिध मसरुर लुत्फी भन्छन्, ‘मिडिया हकबारे काम गर्ने सबै अन्तर्राष्ट्रिय संगठनहरूसँग अफगान मिडियामाथि आइपरेको संकट समाधानका लागि तत्कालै कारवाही अघि बढाउन आग्रह गर्छौं । अन्यथा, चाँडै नै प्रेस स्वतन्त्रता र अन्य मानव तथा नागरिक स्वतन्त्रताको अन्त्य हुने छ ।’



उता, तालिबानले कयौं प्रान्तमा नयाँ आदेश जारी गर्दै थुप्रै गैरदुर्रानी पस्तुन समुदायलाई घर छाड्न निर्देशन दिएको छ । तालिबानले हजारा जातिका नौ जनाको हत्या गरेपछि त्यसको विरोध भइरहेको समयमै नयाँ आदेश जारी गरेको हो । तालिबानले घर छाडेर जान आदेश दिएका जातिलाई अन्यत्र कतै गएर बस्न निर्देशन दिएको छ ।

पत्रकार तथा लेखक नतिक मिलकजादाले ट्विटरमा लेखेका छन्- ‘तालिबानले दाईकुन्डीमा ३०० हजारा परिवारलाई घर छाडेन आदेश दिएको छ ।’ 

  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार ११:५७:५,   अन्तिम अपडेट : भदौ ३०, २०७८ बुधबार १२:७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया