धनुषाको हंसपुर नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई अदालतमा उपस्थित हुन आदेश दिइएको छ ।
अदालतको आदेश पालना नगरी ठाडो चुनौती दिएको भन्दै नगरप्रमुख रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डललाई उच्च अदालत जनकपुरले उपस्थित हुन आदेश दिएको हो ।
हंसपुर नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीलाई हाजिर गर्नबाट रोक लगाएको भन्दै उनीहरूमाथि अदालतको आदेशको पालना नगरेकाले अवहेलना मुद्दा परेको छ ।
अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साउन २८ गते हंसपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो ।
अदालतले भदौ ९ गते अधिकारीलाई हाजिर गर्नबाट रोक लगाउने कार्य नगर्नू–नगराउनू भन्दै नगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
तर, नगर प्रमुख रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डलले उनलाई हाजिर हुन नदिएपछि दुवैजनाविरुद्ध अदालतको आदेश अवेहलना गरेको ठहर गर्दै भदौ २३ गते न्यायाधीश हरिप्रसाद बगाले र रमेश ढकालको संयुक्त इजलासले उपस्थित हुन आदेश दिएको हो ।
अदालतले अवहेलना मुद्दाबारे बेहोरा र प्रमाणसहित सात दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।