भारतबाट पहिलोपटक निजी कार्गो रेल नेपाल प्रवेश

भारतबाट पहिलोपटक निजी कार्गो रेल नेपाल प्रवेश गरेको छ । वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सारमा पहिलोपटक भारतको निजी क्षेत्रको मालवाहक रेल आइपुगेको हो । 

भारतको हल्दिया पोटबाट सो रेल बुधबार बिहान सवा १० बजे बन्दरगाहमा आइपुगेको छ । यसअघि भारतीय सरकारको स्वामित्व भएको रेल मात्र नेपाल आउने गरेकोमा निजी क्षेत्रको रेल पहिलोपटक आएको हो । भारतीय हिन्द टर्मिनल प्रालिको रेल्वे र्याक बन्दरगाहमा आएको हो । 

बन्दरगाहमा प्रवेश गरेको रेललाई इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हरियो झण्डा देखाएर स्वागत गरेका थिए । 

भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातानजिकको हल्दिया बन्दरगाहबाट हिँडेको ४० घण्टा पछि २० फिट अग्ला ८८ कन्टेनर बोकेर उक्त रेल बन्दरगाहमा प्रवेश गरेको सिर्सिया सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकारी चूडामणि शर्मा कट्टेलले बताए  । 

रेलका सबै कन्टेनरमा गेडागुडी तथा खाद्यान्न वस्तुहरु आएको छ । कन्टेनरमा नेपाली आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेको मालवस्तु रहको कट्टेलले बताए । 

भारतसँग निजी कार्गो रेल नेपालको सीमासम्म ल्याउने विषयमा गत असार २५ गते सम्झौता भएको र सोअनुसार नेपालमा निजी रेल आउन सम्भव भएको हो । 



अहिले वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालन गरिहेको प्रिस्टाइन भ्यालीको मुख्य साझेदार भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा सुरु गर्ने भएको छ । 

त्यस्तै, भारतमा बन्दरगाह र रेल सेवा चलाइरहेको जेएन बक्सी समूहले पनि वीरगञ्जसम्म कन्टेनर ढुवानीको तयारी थालेको अधिकारीहरूले बताएका छन् । 



सिर्सिया सुक्खा बन्दरगाह भन्सार सञ्चालनमा आएपछि २०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वका रेलले मात्रै नेपालमा सेवा दिँदै आएका थिए । 

  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १९:११:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया