कांग्रेस महाधिवेशन : प्रदेश १ का ठूला सहरमा को–को छन् सभापतिका आकांक्षी ?

प्रदेश १ का ठूला सहरमा नेपाली कांग्रेसको नगर अधिवेशनको सरगर्मी बढेको छ । नगरको नेतृत्व लिन ठूला सहरमा गुटगत प्रतिस्पर्धा सुरु भएको छ । देउवा र कोइराला–पौडेलका समूहका बीचमा मात्रै होइन, प्रदेशका ठूला सहरमा सिटौला समूहसमेत छुट्टै प्यानलसहित चुनावी मैदानमा होमिने तयारीमा देखिएको छ । 

केही सहरमा गुटहरुबीच कार्यगत एकता हुने भएको छ । कांग्रेसको नगर तथा गाउँ अधिवेशनको चटारो देख्दा स्थानीय तहको निर्वाचनको झल्को दिएको छ । भोट माग्न धरदैलो कार्यक्रम सञ्चालन भइरहेका छन्  । 

प्रदेश १ का विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोडलगायत ठूला सहरमा प्यानलै उम्मेदवारी घोषणा हुन थालेको छ । प्यानलै घोषणा नभएका सहरमा पनि समूहगत रुपमा प्यानल भोट माग्न सुरु भइसकेको छ ।  

प्रदेशको एक मात्रै महानगर विराटगर महानगरमा क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन नै हुन सकेको छैन । विराटनगर महानगरमा अहिले पनि अधिवेशन कहिले हुने भन्ने टुंगो छैन । यद्यपि, कोइराला परिवारको गृहनगरमा भएका कारण कांग्रेसको नगर अधिवेशनको रौनकले यस सहरलाई पनि अछुतो राख्ने कुरै भएन ।  

धरान उपमहानगर, इटहरी, बिर्तामोडलगायत ठूला सहरमा भने वडा अधिवेशन सम्पन्न भइसकेका छन् । यी सहरमा क्षेत्रीय प्रतिनिधि चुनिएर आइसक्दा गुटगत रुपमा आफूतिर उनीहरुलाई तान्न सभापतिका आकांक्षीहरु लागिपरेका छन् ।  इटहरी र धरान उपमहानगर, दमक र बिर्तामोड नगरपालिकामा भने असोज ९ गतेका लागि अधिवेशनको मिति तोकिएको छ । 

कोको छन् आकांक्षी ? 



विराटनगर महानगर 

विराटनगरमा अहिले सभापति पदका लागि ५ जना दौडमा छन् । कार्यबाहक सभापति अरुण न्यौपाने, विद्यार्थी राजनीतिबाट आएका कृष्ण कार्की, पुराना कांग्रेसी सन्तोष न्यौपाने र दीपक चापागाईं अहिले महानगरको सभापतिको आकांक्षी छन् । सभापतिको दौडमा प्रकाश दाहालसमेत देखिन्छन्  । 



महानगरमा अहिले मेयर भीम पराजुलीविरुद्ध अरु सबै एकजुट हुने देखिएको छ । महानगरको सभापति भएका मेयर भीम पराजुली मेयर भएपछि अरुण न्यौपानेलाई कार्यबाहक सभापति बनाएका थिए । सभापतिको आकांक्षी रहेका अरुण न्यौपानेलाई मेयर भीम पराजुलीको उम्मेदवारको रुपमा समेत हेरिएको छ । 
कृष्णप्रसाद सिटौलानिकट मानिएका भीम पराजुलीले समूह परिवर्तन गरेर कोइराला समूहबाट मेयरको उम्मेदवारी पाएका थिए । तर, अहिले पुन उनी सिटौला समूहमै ढल्किएको बताइन्छ ।  

सभापतिका आकांक्षी रहेका सन्तोष न्यौपाने कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । कांग्रेस मोरङका पूर्वसभापति अमृत अर्यालसँग नजिकको सम्बन्ध रहेका न्यौपाने विद्यार्थी राजनीतिबाट आएका हुन् । पछि तरुण दलको राजनीतिमा समेत उनी सक्रिय भएका थिए । 

अर्का उम्मेदवार कृष्ण कार्की पनि महानगरका सम्भावित सभापति हुन् । कांग्रेस नेता गगन थापानजिकका कार्की पौडेल–कोइराला समूहबाट मैदानमा उत्रने तयारीमा छन् । यसअघि सिटौला समूहमा रहेका गगन थापाले समूह  परिवर्तन गर्दै पौडेल खेमामा गएपछि पौडेल–कोइराला समूहबाट कार्की सभापतिको उम्मेदवार लड्न सक्ने देखिन्छ । उनी नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका हुन् । 

दीपक चापागाईं भने देउवा समूहकै उम्मेदवार हुन् । उनी सामाजिक संघसस्थाको नेतृत्वसँगै कांग्रेसको राजनीतिमा सक्रिय छन् । 

विराटनगर महानगरपालिका भित्र ७ सय ५० जनाको हाराहारीमा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । 

इटहरी उपमहानगर 

इटहरी उपमहानगरमा कांग्रेसको सभापति बन्न तीन जनाको प्रतिस्पर्धा छ । अहिले चुनावी मैदानमा वर्तमान सभापति हेमकर्ण पौडेल, नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष विकास केसी र प्रकाश बस्नेत छन् । 

संस्थापन पक्षका केसीलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासपात्रका रुपमा हेरिन्छ । 

हालका नगरसभापति हेमकर्ण पौडेल भने पौडेलनिकट मानिन्छन् । उनी तेस्रो कार्यकालका लागि सभापतिमा दाबी गरिरहेका छन् । पौडेल नेतृत्वकै समितिका सचिव प्रकाश बस्नेतले समेत सभापतिमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । उनलाई अहिले सिटौला समूहको समर्थन् रहेको बुझिएको छ । 

कांग्रेसको इटहरी नगरसभापति पौडेल दुई कार्यकाल सभापति भइसकेका छन् । वाकपटुताका कारण उनी क्षणभरमै कार्यकर्तालाई आफ्नो पक्षमा पार्ने क्षमता राख्छन् । तर, यसपटक क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने भएपछि पौडेलको लागि चुनौती थपिएको छ ।

यसअघि महाधिवेशनको तयारीका क्रममा आफू नगरमा नउठ्ने बताउँदै पौडेलले अब नयाँ पुस्तालाई मार्गप्रशस्त गर्ने बताएका थिए । उनका लागि सभापतिको उम्मेदवारी यसपटक त्यति सहज भने छैन । युवापंक्ति उनीसँग असन्तुष्ट छ । 

युवाहरुको साथ पाउने आसमावर्तमान सचिव प्रकाश बस्नेतले छुट्टै उम्मेदवारी दाबी गरेका छन् । उनको नजिक मानिएका सूर्य राईसहितको समूहले आफूहरूलाई प्रयोग मात्र गरेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन् । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपसभापति केसी तेह्रौँ अधिवेशनमा नगरसभापतिमा पराजित भएका हुन् । पौडेलसँग पराजित भएका उनी पुनः सभापतिको उम्मेदवार भएका छन् । १३ औँ महाधिवेशनमा हाल वडा नम्बर ३ का वडाध्यक्ष बालकृष्ण विष्टलाई पराजित गरेका उनले सभापतिमा उम्मेदवारी दाबी गरेका हुन् ।

इटहरीमा कांग्रेसका सभापति पदका उम्मेदवार रोहित प्रसाईं र नेविसंघका केन्द्रीय सभापति राजीव ढुंगानासहित उनी कार्यकर्तामाझ पुगिरहेका छन् । 

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले पनि विकास केसीलाई साथ दिएका छन् । तर, केसीले विजय गच्छदारका विश्वासिला पात्र केविदजंग कार्कीलाई भने गुमाएका छन् । 

कोविदजंग कार्कीले हेमकर्ण पौडेललाई साथ दिँदा इटहरी कांग्रेसको सभापतिको भिडन्त रोचक बनेको छ । 

धरान उपमहानगर 

पर्यटकीय सहर धरान कांग्रेसको नेतृत्वका लागि दुई समूह प्रतिस्पर्धा देखिएको छ । सभापतिका किशोर राई र हालका सचिव श्याम पोख्रेल चुनावी मैदानमा छन् । 

दुवैले नगरसभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेकाछन् । किशोर राई देउवा समूहबाट धरान कांग्रेसको सभापति हुने दाउमा छन् भने उनीसँगको प्रतिस्पर्धामा श्याम पोखरेल छन् । श्याम पोखरले भने पौडेल पक्षका उम्मेदवार बनेका हुन् । 

एक कार्यकाल धरानको सभापति भइसकेका किशोर राई अघिल्लोपटक भने अहिलेका मेयर तिलक राईसँग पराजित भएका थिए । त्यसअघि भने उनले राईलाई नै हराएका थिए । 

पौडेल समूहका उम्मेदवार श्याम पोखरेललाई मेयर तिलक राई र जिल्ला सचिव सुजेन्द्र गोलेको साथ छ । तिलक राई सभापति हुँदा सचिव भइर नगरको नेतृत्व गरेका श्यालमलाई धरानमा बौद्धिक नेताका रुपमा चिनिन्छ । 

किशोर राई भने एन्फाका केन्द्रीय उपाध्यक्षसमेत हुन् । फुटबल खेलाडीका रुपमा धरान आएका राई युवाबीचमा सक्रिय छन् ।

बिर्तामोड नगरपालिका 

कांग्रेसको चौधौँ महाधिवेशनमा बिर्तामोड नगर सभापतिका लागि भोजराज सिटौला र कुलप्रसाद संग्रौला चुनावी मैदानमा छन् । दुवैजना बिर्तामोडको वडाअध्यक्षका रुपमा छन् । 

भोजराज सिटौला कांगेस नेता कृष्ण सिटौलानजिकका मानिन्छन् भने कुलप्रसाद संग्रौला भने देउवा समूहबाट सभापतिको दौडमा छन् । २०४८ सालमा क्रियाशील सदस्यता हासिल गरेका संग्रौला, २०४८ सालमै सर्वसम्मत क्षेत्रीय प्रतिनिधि हुँदै पार्टीको आठौँ महाधिवेशन प्रतिनिधि पाँचथर जिल्ला क्षेत्र नं. १ वाट चयन भएका थिए । 

  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार २०:५५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया